
पोखरा, २५ माघ-
सराङकोट मेथालाङको रसियन होटल भनिने जुरासिक रिसोर्टले गैह्कानुनीरुपमा बोरिङ गरि पानी निकाल्न प्रयोग गर्न लागेको मेसिनहरु उपमहानगर पालिकाले कब्जामा लिएको जनाएको छ ।
रिर्साेटले बोरिङ गर्दा नगरका हजारौं बासिन्दाका लागि निमार्ण गर्न लागिएको खानेपानी योजनाको मुहान सुकी प्रत्यक्ष असर पर्ने भन्दै स्थानीय बासिन्दाहरुले निवेदन दिए पछि उपमहानगर पालिकाले सोमबार मेथलाङबाट सामानहरु जफत गरेको जानकारी दिएको छ ।
आर्दशवस्ती र मेथलाङका खानेपानी समितिहरु र टोल विकास संस्थाहरुले रिर्सोटको बोरिङले हजारांै स्थानीयको खानेपानीको मुहान सुक्ने भन्दै कारवाहीको माग गर्दै निवेदन दिएका थिए ।
‘रिसोर्टमा बोरिङ गर्न भनेर मेसिन झारेको भन्ने जानकारी पाउना साथ हामीले कर्मचारी खटाई कब्जामा लिएका छौं’ पोखरा उपमहानगर पालिकाका निरिक्षण महाशाखा प्रमूख वरिष्ठ निरिक्षक वसन्त प्रसाद चालिसेले भने । वरिष्ठ निरिक्षक चालिसेका अनुसार मेसिनहरु उपमहानगरले जफत गरि संचालकलाई मंगलबार १० बजे बयानका लागि कार्यलयमा उपस्थित हुन भनेकोे छ ।
रिसोर्टले उपमहानगर पालिका कार्यलयबाट बोरिङका लागि स्वीकृति लिएको जानकारी आफूलाई अहिलेसम्म नरहेको उनले बताए । नगरका हजारौं बासिन्दालाई प्रत्यक्ष प्रभावित हुने भएकाले निजि प्रयोजनका लागि बोरिङ गर्न स्विकृति दिन नसकिने पनि उनले बताए । कास्की क्षेत्र नं ४ को सांसद विकास कोष, उपमहानगर पालिका, जिविस तथा स्थानीय उपभोक्ताहरु लगायतको आर्थिक सहयोगमा सो स्थानमा खानेपानी योजना निर्माणाधिन छ । सो योजनाले नगरका आदर्शवस्ती र मेथालाङका उपभोक्ताहरु लाभान्वित हुने बताइएको छ ।
नेपाल खानेपानी संस्थानले समेत प्राविधिक अध्ययनले बोरिङ गर्न नमिल्ने अवस्था रहेको बताउदै आएको थियो । तर रिसोर्ट संचालकले भने सरकारी निकायलाई वेवास्ता गर्दै आएका थिए ।
यस अगाडि पुषको अन्तिम साता सोही रिसोर्टले स्थानीय बासिन्दाले निमार्ण गर्न लागेको योजनाको मुहानबाट पानी लिफ्टिङ गरेर लैजान प्रयास गरेको थियो । स्थानीय बासिन्दाले लैजाने भनेकोे खानेपानी रिसोर्टलाई दिन नसकिने भन्दै नेपाल खानेपानी संस्थान पोखरा शाखाका कार्यलय प्रमूख निरण महर्जनलाई नगरबासी स्थानीयले दुई घण्टाभन्दा बढी कार्यकक्षमा घेरेका थिए ।
बस्तीका बासिन्दाले पस्र्याङ स्थित ढवाङको मुहान भनिने स्थानबाट पानी लिफ्ट गरी लैजानका लागि विभिन्न निकायमा एक दशकदेखि योजना सहित निवेदन पेश गरे पनि त्यसको कार्यान्वयन हुन सकेको थिएन । तर पुषको दोस्रो हप्ता निवेदन दिएको सो रिसोर्टलाई भने संस्थानले पानी लैजाने दिइएको स्थानीयको आरोपको थियो ।
रिसोर्टले पानी लैजान भन्दै मुहान क्षेत्रमा पाइप, ट्यांकी तथा सार्वजनिक वनमा गैह्कानुनीरुपमा थ्रि फेज विद्युतको तार समेत गाडि थियो । हाल सोही मुहानबाट पोखरा नगरका पूर्वि क्षेत्रमा पानी वितरण भइरहेकोका कारण आदर्शबस्तीका बासिन्दाले पानी उपभोग गरेका थिएनन् ।
मर्दी खोलाको पानी नगर क्षेत्रमा विस्तार हुने भएपछि आर्दशबस्तीमा सो पानी लैजाने योजना स्थानीय बासिन्दाको रहेको छ । त्यसका लागि उपभोक्ताले आफ्नै खर्चमा डिपिआर समेत तयार पारी संस्थानलाई बुझाएका थिए । सो योजनालाई सांसद विकास कोष तथा पोखरा उपमहानगर पालिकाबाट रकम विनियोजित भएको आदर्शबस्ती टोल विकास समितिका अध्यक्ष गोपाल खड्काले जानकारी दिए । आयोजनाका लागि उपमहानगर पालिकाले उपलब्ध गराएको र उपभोक्ताबाट उठाइएको रकमबाट पाइप समेत किनिसकेको खड्काको भनाइ छ ।
पानीको मुहानको अन्य विकल्प नहुँदा टयांकरबाट किनेर खान बाध्य भइरहेको स्थानीय बासिन्दाको भनाइ छ । रातारात मेथलाङको सो रिर्सोटमा पानी पुर्याउँदा ठूलै रकम चलखेल भएको आशंका स्थानीयवासीले गरेका छन् । कार्यालय घेराउ गरेपछि संस्थान पोखरा शाखाका प्रमुख महर्जन प्राविधिकसहित सो बस्तीको निरिक्षण गरी खानेपानीको योजना अगाडि बढाउन स्विकृति दिएको बताइएको छ ।
मुहानको पानी लैजान स्थानीय बासिन्दाले नदिए पछि रिसोर्ट संचालकले फेरि गैह्कानुनी रुपमा खानेपानी योजनालाई प्रभावित पार्ने गरी काम थालेको उपभोक्ताहरु बताउँछन् । लामो समयदेखि खानेपानीको अभाव झेल्दै आएका हजारौं बासिन्दाको माग सुनुवाइ नभइ बोरिङ खन्न दिइएमा सशक्त आन्दोलन गर्ने समेत उनीहरुको भनाइ छ ।
