
पोखरा, २६ माघ / शिशुकल्याण आधारभूत विद्यालय लेखनाथ १७ को स्तरोन्नति गर्दै प्राविधिक शिक्षा सञ्चालन गर्ने उद्देश्यले मंगलबारदेखि सुरु भएको महायज्ञको दोस्रो दिनसम्म करीब २६ लाख रुपैंया संकलन भएको छ ।
महायज्ञमा लेखनाथ १७ का स्थानीय भेषराज पौडेल एक्लैले जिन्सी, जग्गा र नगद गरी १२ लाख ११ हजार रुपैयाँ बराबर दान गरेका छन् । उनले ३ लाख बराबरको प्रोजेक्टर, आठ लाख बराबरको आठ आना जग्गा र नगद एक लाख ११ हजार रुपैयाँ महायज्ञमा दान गरेका हुन् ।
महायज्ञमा बुधबार समाज सुधार आमा समूहले १ लाख १० हजार बराबरको जिन्सी र नगद १ लाख दान गरेको छ । यस्तै, स्थानीय समाजसेवी ध्रुव नेपालीले १ लाख रुपैयाँ दान दिएको महायज्ञ मुल आयोजक समिति महासचिव डिल्लीराम बरालले जानकारी दिए।
श्रीमद्भागवत् ज्ञानमहायज्ञ तथा धनधान्याञ्चल महोत्सवमा बुधबारदेखि कथा वाचन सुरु भएको हो । करिब २ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य लिइएको उक्त महायज्ञमा प्रमुख वाचक भागवत भाष्कर पण्डित कमलनयन गौतम रहेका छन् ।
महायज्ञ मंगलबार संसद् विकास सभापति रवीन्द्र अधिकारीले उद्घाटन गरेका हुन् । महायज्ञ फागुन २ गतेसम्म चल्नेछ । महायज्ञ सफल बनाउन एक हजार एक सय ११ सदस्यीय मूलआयोजक समिति, तीन सय पाँच सदस्यीय सल्लाहकार समिति र ५१ वटा उपसमिति गठन गरिएको छ ।
