
पोखरा, २ फागुन-
कास्कीको लेखनाथ नगरपालिका वडा नं. २ मा पण्डीतथरमा रहेको एक घरबाट आज आईतवार दिन दहादै चोरी भएको छ । स्थानीय नारायण भण्डारीको घरबाट आईतवार दिउँसो करिब १ बजेतिर दश तोला सुनसहित नब्बे हजार नगद चोरी भएको भण्डारीले जानकारी दिए ।
घरमा कोहि नभएको मौका छोपी घरको मूल ढोकाको चापी फोरेर उक्त नगद तथा गरगहना चोरी भएको नारायण भण्डारीकी श्रीमति इन्द्रा भण्डारीले जानकारी दिईन् । यसरी दिन दहादै चोरी भएपछि आफूहरु असुरक्षित भएको शान्ती सुव्यवस्थाको कायम हुनुपर्ने भण्डारीले बताइन् ।
चोरी भएको खवर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय डाँडाकोनाक प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार पारी चोरीमा संलग्नहरुको खोजी गरि चाँडै नै पक्राउ गरिने प्रहरीले जनाएका छन् ।
