
पोखरा, ६ फागुन–
पोखराको सहिदचाकदेखि हल्लनचोकसम्म निर्माणाधीन फुट ट्रयाक व्युटिफीकेसन यतिखेर तिव्र गतिमा अघि बढेको छ । विश्व बैकको सहयोगमा ४ करोड ५४ लाख रुपैयाँ लागतको उक्त पाइलट प्रोजेक्ट यही अप्रिलमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।
उक्त योजनाअन्तर्गत निर्मित फुट ट्रयाक व्युटिफिकेसनमा भने त्यत्ति ध्यान दिइएको पाइँदैन । सडकको तुलनामा फुट ट्रयाक ठूलो भएको र सवारी गुड्ने सडक झनै सानो भएकोमा स्थानीयको आपत्ति छ ।
स्थानीय मुलथोक टोल विकास संस्था ले यसअघि सडक डिभीजन कार्यालयलाई निवेदन लेखी फुट ट्रयाक सानो बनाउनुको सट्टा सवारी गुड्ने सडक नै ठूलो बनाउन भनी गरेको अनुरोधमा सडक कार्यालयले त्यसको बेवास्ता गर्दै निर्माण कार्य धमाधम अघि बढाएको छ ।
स्थानीयका अनुसार फिस्टेलगेटदेखि अम्बोटसम्म सडक ठूलो बनाइएको छ, तर बैदाम प्रहरी चौकीदेखि फिस्टेल गेटसम्म सडक साँघुरो पारिएको छ । फुट ट्रयाक बनाउँदा यसरी अनियमित ढंगले बनाइएकोमा स्थानीयको आपत्ति हो ।
संस्थाले ६० जना बढीको सामूहिक हस्ताक्षर गरी यसबारे सडक कार्यालयलाई ध्यानाकर्षण गराएका थिए । गत वर्षको अप्रिलमा सुरु उक्त प्रोजेक्ट अन्तर्गत करिब ३ किमी फुट ट्रयाकको स्वरुप फेरिनेछ ।
