
पोखरा, ७ फागुन-
प्रदेश नम्बर ४ संभावनै संभावनाको प्रदेश भए पनि राजनीतिक र कुटनीतिक जटिलताले जेलिएको क्षेत्र भएको विज्ञहरुले औंल्याएका छन् । उनीहरुले यो क्षेत्रमा जलश्रोत, पर्यटन, कृषि तथा उद्योगमा असिमित सम्भावना रहेको उल्लेख गर्दै अन्तरद्धेशीय व्यापारमा पनि यो प्रदेशको भूमिका महत्वपूर्ण रहने बताएका छन् ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबार पोखरामा आयोजित प्रदेश नम्बर ४ का संभावना पहिचान र चुनौतिहरु विषयक प्रादेशिक गोष्ठीमा बोल्ने वक्ताहहरुले यो क्षेत्रमा प्रस्ताव गरिएइका ११ वटै जिल्ला विभिन्न संभावनाले भरिपूर्ण रहेको बताएका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले क्षेत्र नम्बर ४ लाई श्रोत नै श्रोत र साधन नै साधनले भरिपूर्ण क्षेत्रको रुपमा व्याख्या गर्नुभयो । पदयात्रा पर्यटनको मूख्य गन्तव्य बनेको यो क्षेत्रमा पर्यटकीय गतिविधी बढाउँदै पर्यटकको बसाई लम्ब्याउनु पर्नेमा उहाँको जोड रहेको थियो । राजनीतिक अस्थिरता र लामो संक्रमणकालका कारण विकासले गति लिन नसकेको बताउँदै उहाँले सम्भावनाको सही सदुययोग गर्न सके ४ नम्बर आर्थिक रुपले परिपक्व प्रदेश बन्ने बताउनुभयो ।
त्यसैगरी नेपाल उद्योग वाणिज्य महासंघका अर्का पूर्व अध्यक्ष आनन्दराज मुल्मीले यो प्रदेशमा सम्भावनाहरु बढी रहे पनि दक्ष जनशक्तिको अभाव, शक्ति राष्ट्रहरुको अनावश्यक चासो यहाँको समस्या भएको औंल्याउनुभयो । यो प्रदेशमा रहेको सुस्ता र कोरला नाकाको सही सदुपयोग, हिमनदीहरुबाट ठूला जलाशययुक्त जलविद्युत परियोजना निर्माण लगायतका क्षेत्रमा ध्यान दिन सके आर्थिक रुपले पनि यो क्षेत्र सम्वृद्ध बन्ने उहाँको भनाई थियो ।
देशको १४ प्रतिशत भूमि रहेको प्रदेशमा रहेको ११ वटा जिल्लामा ६ वटा सहर, पृथ्वी तथा सिद्धार्थ अनि भूपी सेरचन राजमार्ग, हिमाली पदयात्रा मार्ग, हिमनदी, विभिन्न खालका खानीहरुको उपयोगको लागि निश्चित योजनासाथ अगाडि बढ्न उहाँले सुझाउनुभयो । प्रदेश नम्बर ४ले कुल ग्राहस्थ उत्पादनमा २५ प्रतिशत योगदान गरेको चर्चा गर्दै उहाँले योगदान अनुसार केन्द्र सरकारले यो क्षेत्रमा लगानी नगरेको गुनासो गर्नुभयो ।
कार्यपत्र प्रस्तोता राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले यस क्षेत्रको ४ वटा जिल्ला प्रतिव्यक्ति आयमा समेत उच्च रहेको चर्चा गर्दै अन्य जिल्लाहरुको प्रतिव्यक्ति आय वृद्धिले मात्र समग्र क्षेत्रको विकास सम्भव हुने बताउनुभयो । यो क्षेत्रको आर्थिक, सामाजिक, भौगोलिक लगायतका विषयहरुबारे विस्तृत चर्चा गर्दै मानव संशाधनमा कमजोर हुनु यो क्षेत्रको समस्या रहेको बताउनुभयो । क्षेत्रीय रुपले संभावना रहे पनि राजनीतिक रुपले प्रादेशिक संरचना लागु गर्न समस्या रहेको उहाँको भनाई थियो ।
कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले प्रादेशिक गोष्ठी यो क्षेत्रको सम्भावना खोज्ने उदेश्यले आयोजना गरिएको बताउनुभयो । प्रदेश नम्बर ४ को केन्द्रको रुपमा रहेको पोखराको सम्वृद्धि यो क्षेत्रको सम्वृद्धिसँग जोडिएको बताउँदै उहाँले यो क्षेत्रका सम्भावनाहरुको पहिचान गरी त्यसको उपयोगमा राज्यसँग सहकार्य गर्न निजी क्षेत्र तयार भएको बताउनुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष शेखर गोल्छाले प्रदेश नम्बर ४ लाई असिमित सम्भावना तर श्रोत र साधनलेले सिमित प्रदेशको रुपमा अथ्र्याउनुभयो । आर्थिक एजेण्डाहरुमा राजनीतिक नेतृत्व सकारात्मक बने मात्र सम्भावनाहरुको उपयोग हुने बताउनुभयो ।
महासंघका अर्का उपाध्यक्ष दीनेश श्रेष्ठले श्रोत र साधनको दोहन रोक्दै दीगो विकासको लागि निजी क्षेत्रले विशेष भूमिका खेल्नु पर्ने बताउनुभयो । कार्यक्रमको विषयबस्तुबारे प्रकास पार्दै पश्चिमाञ्चल उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले यो क्षेत्रका सम्भावनाहरुको पहिचानका साथै त्यसको उपयोगको लागि निजी क्षेत्र लगानी गर्न तयार रहेको बताउनु्भयो । उहाँले विभिन्न जिल्लाबाट आएका सुझावहरुलाई समेटेर सामूहिक विकासको सम्भावना पहिचान गरी अगाडि बढ्न गोष्ठी फलदायी हुने विचार व्यक्त गर्नुभयो ।
पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारी तथा उपमहासचिव अर्जुन पोखरेलले सहजिकरण गर्नुभएको कार्यक्रममा यस क्षेत्रका सबै जिल्लाको तर्फबाट ती जिल्लाका सम्भावनाहरुबारे आ–आफ्ना अवधारणा प्रस्तु्त गर्नुभएको थियो ।
