
रेम बिक
पोखरा, ८ फागुन । जारी बिग आइकन अन्तरगत आइतबार उत्कृष्ट १२ जना गायन प्रतिभाहरु अघिल्लो चरणका लागि छनौट भएका छन् । उत्कृष्ट १५ प्रतिस्पर्धीमध्ये आइतबारको राउण्डमा तीन जना बाहिरिएपछि प्रतियोगिताले ‘टप १२’ राउण्डमा प्रवेश पाएको हो ।
आइतबार प्रतियोगिताबाट बाहिरिनेहरुमा राजन आलेमगर, सन्देश बिक र मनोजकुमार पुन रहेका छन् । राजन यो प्रतियोगितामा भाग लिन चितवनको पटिहानीबाट आएका हुन् । त्यस्तै सन्देश उत्कृष्ट १५ मा पर्ने सबैभन्दा कान्छो प्रतिस्पर्धी हुन् । उनी पहिलोपटक बिग आइकनमा सहभागी भएका थिए । बाहिरिने अर्का प्रतिस्पर्धी मनोजकुमार पुन अघिल्लो बिग आइकनमा सहभागी भएर उत्कृष्ट १२ सम्मकै यात्रा तय गरेका थिए ।
प्रतियोगिताबाट बाहिरिँदै गर्दा तीनै जना प्रतिस्पर्धीले बिग आइकनबाट आफुहरुले थुप्रै ज्ञान आर्जन गरेको प्रतिक्रिया दिए । उनीहरुले बिग आइकन गायन प्रतिभाहरुका लागि निकै उत्कृष्ट मञ्च भएको बताउँदै आगामी दिनमा पनि अझै बढि निखारिएर यो मञ्चमा आउने वाचा गरेका थिए ।
यो सिजन अन्तरगत अघिल्लो राउण्ड मंगलबार हुने आयोजक बिग एफएमले जनाएको छ । ‘मंगलबार हुने अडिसनबाट उत्कृष्ट १० गायन प्रतिभाहरु छनौट हुनेछन् ।’ बिग एफएमका कार्यक्रम सँयोजक संजोग बस्यालले भने–‘त्यसपछि प्रतियोगिता अझै बढि पेचिलो बन्दै जानेछ ।’ उत्कृष्ट १० छनौट पछि प्रत्येक राउण्डमा १÷१ जना गायन प्रतिभाहरु बाहिरिदै जानेछन् । र, यहि समयबाट प्रतियोगितामा प्रतिभाहरुलाई अगाडि बढाउन निर्णायकसँगै स्रोताको एसएमएस भोटले अधिकार राख्नेछ । उत्कृष्ट ३ प्रतिभा छनौटका लागि निर्णायकको ६० र स्रोताको एसएमएस भोटको ४० प्रतिशत अधिकार रहने एफएमले जनाएको छ ।
यो सिजनको बिग आइकनमा गायक श्यामसुङ तामाङ, विवेक श्रेष्ठ र संगीतकार सुनील थापा निर्णायक रहेका छन् । यो पटकको बिग आइकनमा ५४ जिल्लाका कुल ११ सय ५२ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए ।
सातौँ सँस्करणको बिग आइकन बन्नेले पुरस्कार स्वरुप १ लाख ८५ हजार रुपैयाँ बराबरको स्कुटरसहित बेलायतको साँगीतिक भ्रमण गर्ने अवसर प्राप्त गर्ने एफएमले जनाएको छ । त्यस्तै फस्ट रनरअपले ७५ हजार र सेकेन्ड रनरअपले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
यो पटक बिग आइकनको टाइटल स्पोन्सर सामसुङ ग्यालेक्सी जे टु सिक्सले गरेको छ । बिग आइकनको ईन एशोसियसन विथ टाइटलमा कान्साइ पेन्ट्स नेपाल, पावर्ड बाईमा स्यालुट गोर्खा ट्रेनिङ सेन्टर, सपोर्टेड बाईमा पोखरा ट्रेड मल, प्रोमोटेड बाइमा द ब्रिटिश कलेज थापाथली, ब्रट टु यु बाइमा रारा चाउचाउ, मेन–स्पोन्सरमा इम्पल्स इन्टरनेशनल इन्स्टिच्यूट, मिराइ इन्टरनेशनल एडुकेशनल कन्सल्टेन्सी रहेका छन् । प्रथम पुरस्कार ‘एमएडब्लू’ इन्टरप्राइजेज प्रालिले गरेको हो । त्यस्तै कार्यक्रमको स्पोन्सरमा यूनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (यूआरएल), को–स्पोन्सरमा पिपलडाली मसला र मिलिजुली डेकोरेशन, बैंकिङ पार्टनरमा ओम डेभलपमेन्ट बैंक, ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स प्रालि रहेका छन् ।
त्यस्तै, आइटी पार्टनरमा कम्यूनिकेट टेक्नोलोजिस, ब्रोडकास्टिङ पार्टनरमा एभिन्यूज टिभी र फेवा टेलिभिजन, हस्पिटालिटि पार्टनरमा होटल बाराही, भेन्यू पार्टनरमा रोयल पोखरा रेस्ट्रो एण्ड लाउन्ज बार, विज्ञापन पार्टनरमा परिचय एड्भरटाइजिङ, म्यागेजिन पार्टनरमा वेभ, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाइनखबर डटकम र समाधान दैनिक तथा अनलाइन पार्टनरमा जक्शन डटकमले सहकार्य गरेका छन् ।
