
पोखरा, ८ फागुन-
पोखराको पृथ्वीचोक नयाबजारस्थित सस्तोबजारका साना स्वरोजगार व्यवसायीहरुले आफ्नो व्यापार व्यवसाय नै ध्वस्त हुने गरी केही दिनयता गुण्डाहरुले आतंक मच्चाएको भन्दै आफ्नो जीउधन र व्यवसायको संरक्षणका लागि पहल गरिदिन पोखरास्थित विभिन्न राजनीतिक पार्टी, मानवअधिकारकर्मी र पत्रकारहरुसँग आग्रह गरेका छन् । सस्तोबजारका साना स्वरोजगार व्यवसायीहरुको साझा संगठन पोखरा सस्तोबजार व्यवसायी समितिका तर्फबाट अध्यक्ष केशवबहादुर भुजेलले आइतबार एक प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो आग्रह गरेका हुन् ।
“पोखरामा केही वर्ष अगाडी सडक पेटीमा व्यापार गरी वस्ने साना स्वरोजगार व्यापारीहरुलाई व्यवस्थित व्यवसाय गर्न दिने गरी पोखरा उद्योग वाणिज्य संघको समन्वयतामा भएको सहमति अनुसार पोखरा सस्तो वजारको नामबाट तत्कालिन अवस्थाका साना व्यवसायी एकिकृत रुपमा व्यापार गरी वसेको जानकारी गराउदै पछिल्ला दिनहरुमा साना व्यवसायीलाई आतंकित पार्ने गरि केही गुण्डाहरुले अनावश्यक हर्कत गरेकोले व्यवसायीका सुरक्षाको प्रत्याभुति गराई जिउधनको समेत सुरक्षा गर्नलाई आवश्यक पहल गरिदिनु हुन अनुरोध गरिएको छ ।” प्रेस विज्ञप्तिमा भनिएको छ ।
साथै सोही विज्ञप्ति मार्फत् सस्तो बजारको विषयलाई लिएर उत्पन्न भएको विवाद समाधानका लागि पहल गरिदिन पनि सम्बन्धित सबैलाई आव्हान गरिएको छ । उक्त विज्ञप्तिमा जनाइए अनुसार, कास्कीका कृयाशिल राजनैतिक दल र जिल्ला प्रशासन कार्यालय पोखरा उप–महानगरपालिका पोखरा उद्योग वाणिज्य संघ र पोखरा उपत्यका नगर विकास समिति र आन्दोलनरत साना व्यापारी विचको छलफल पछि पोखरा ९, नया बजारमा रहेको नेपाल वायु सेवा निगमको जग्गामा राख्ने निर्णय अनुसार साना व्यवसायीले सो जग्गा भाडा सम्बन्धि ठेक्का पाएका भरत गुरुङ मार्फत नेपाल वायुसेवा निगमलाई निरन्तर भाडा बुझाउदै आएका छन् ।
पोखरा सस्तो बजारका व्यापारीहरु कुनै दलाली र ठेकेदारमार्फत नभई सोझै नेपाल वायु सेवा निगमलाई भाडा तिर्न राजी भएको कुरा उल्लेख गर्दै विज्ञप्तिमार्फत “व्यापारीहरुको शान्ति सुरक्षा साथै स्वतन्त्र रुपमा व्यवसाय सञ्चालन गर्न पाउने अधिकारको ग्यारेण्टीका लागि सहयोग गरिदिन कृयाशिल राजनैतिक दल जिल्ला प्रशासन कार्यालय, पोखरा उपमहानगरपालिका, पोखरा उद्योग लगाएतलाई अनुरोध समेत गरेको छ ।
यति हुदा हुदै पनि सुर्यदिल इन्भेष्टमेण्ट प्रा.लि.का सञ्चालक राजेन्द्र बहादुर गोर्खाली (राजु गोर्खाली) को नाममा रहेको फर्मलाई अख्तियारी लिएको भन्दै धादिङ पोखरा सम्पर्क समितिका अध्यक्ष समेत रहेका तथा आफुलाई ने.क.पा माओवादी केन्द्र निकट रहेको भन्दै युवराज खतिवडाले विगत ६ महिनादेखि डरधम्की दिदै आएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । खतिवडाले २०७३ फागुन ४ गते करिब दिउसो १२ः०० बजेको समय पारेर आफ्नै नेतृत्वमा ५० देखि ६० जना युवा समुहको नेतृत्व गर्दै गुण्डागर्दी शैलिमा आई पोखरा सस्तो बजारका व्यापारीहरु माथी ढुङ्गामुढा गरी व्यवसायीहरुलाई आतङ्कित पारेको घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकार्षण भएको कुरा पनि विज्ञप्तिमा जनाइएको छ ।
यसैबीच नेत्रविक्रम चन्द “विप्लव” नेतृत्वको नेकपा (माओवादी) कास्कीका सेक्रेटरी पुर्णजीत पुन “उभार”ले पार्टीको महाधिवेशनस्थल रोल्पाको थवाङबाट एक प्रेस विज्ञप्ति प्रकाशित गरी अन्यायपूर्ण तरिकाले सत्ता र शक्तिको दुरुपयोग गरि गुण्डागदी गर्दै जबरजस्ती सस्तो बजारमाथि दमन गर्ने र हस्तक्षेप गर्ने काम भएमा पार्टीले आवश्यक जवाफ दिन उचित प्रतिरोध गर्ने चेतावनी दिएका छन् ।
