पोखराको तालबाराही माविमा विवाद चर्कियो, व्यस्थापन समिति सदस्यद्वारा राजीनामा

832
0
Share:

फागुन १३, पोखरा-
पोखरा ६ बैदाम स्थित तालबाराही मा.वि.को विद्यालय ब्यबस्थापन समिति सम्बन्धि विवादले चर्को रुप लिएको छ । अविभावक भेलावाट चुनिएका चार जना मध्ये दुइ जनाले गत सोमबार राजिनामा दिएपछि विवाद झन चुलिदै गएको हो ।

विद्यालय ब्यबस्थापन समिति सदस्य लेखनाथ भुषाल र सुशीला खत्रीले विद्यालयका प्रधानाध्यापक भद्रकाली लामिछाने समक्ष राजिनामा बुझाएका हुन् । प्रअ लामिछानेले समाज र अविभावक भेलाले गरेको निर्णय लागु नगरेको तथा काम गर्ने वातावरण सिर्जना नगरेको कारण आफुहरुले राजिनामा दिन बाध्य भएको उनीहरुको भनाइ छ।

यसअघि तिनै दुई सदस्यले आफुहरुलाई जानकारीनै नगराई प्रअले दुई जना सदस्य मनोनित गरेको तथा अध्यक्ष चुनेकोले त्यसमा आफुहरुको समर्थन नरहेको भन्दै जिल्ला शिक्षा कार्यालयमा निबेदन समेत दिएका थिए। समितिका सदस्य लेखनाथ भुषालले लामो समय बितिसक्दा समेत प्रअ लामिछानेले काम गर्ने वातावरण सिर्जना नगरेका कारण आफुले राजिनामा दिएको बताएका छन्। भुषालले भने, “प्रअले ब्यबस्थापन समिति सदस्य मनोनयनका सन्दर्भमा भएको सर्वसम्मत निर्णय लागु नगरी विवाद सिर्जना गरेकाले काम गर्ने वातावरण भएन, त्यसैले विद्यालयलाइ निकास दिनुपर्दछ भन्ने सोचले राजीनामा दिएको हुँ।

“त्यसैगरी समितिको अर्की सदस्य सुशीला खत्रीले प्रअले समुदाय किन चाहियो भन्ने खालको तर्क गर्दै तनाब सिर्जना गरेको कारण आफुले राजीनामा दिएको बताएकी छन्। उनले भनिन, “प्रअले समाज किन चाहियो भन्दै दवाब दिन थाल्नुभयो तर म समाज बेगर काम गर्न सक्दिन।“ राजीनामा पेस गरिसकेपछि अगाडिको बाटो नचाली प्रअले उल्टो मिटिंग बसौ भन्दै बोलाउने गरेको आरोप उनीहरुले लगाएका छन् । यस विषयमा प्रधानाध्यापक भद्रकाली लामिछाने संग बुझ्न खोज्दा ठाडो भाषामा जानकारी चाहिएको भए विद्यालयमै आउ अहिले दिन्न भन्दै फोन राखिन।

गत मङ्सिर १५ गते विद्यालय प्रधानाध्यापक भद्रकाली लामिछानेले डाकेको अविभावक भेलामा अविभावक, टोल विकास समिति, वडा नागरिक मंच तथा विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुको सर्बसम्मत निर्णयवाट अविभावकका तर्फवाट लेखनाथ भुसाल, राम वहादुर पनेरु , सुशीला खत्री र लक्ष्मी नेपाली व्यवस्थापन समितिमा चयन भएका थिए ।

भेलाले सर्वसम्मत रुपमा गोविन्दराज पहारी र मन्दरा ढकालको नाम मनोनितमा सिफारीस गरेको भएतापनि त्यसलाई आनाकानी गर्दै आएकी प्रअ लामिछानेले दुई महिनापछि आफ्नो अनुकुलका व्यक्तिलाई समिति सदस्य मनोनित गर्दै अध्यक्ष समेत चयन गरेकी थिईन। उनले समितिका २ जना सदस्य लाइ जानकारीनै नदिई बाकी दुई जनालाई वसमा पारेर पशुराम पहारी र मिना भट्टराई लाई सदस्यमा मनोनित गरी पशुराम पहारीलाई अध्यक्ष चयन गरेको रहस्य खुल्न आएको थियो । प्रअ भद्रकालीले शिक्षा ऐन आठौ संसोधनमा रहेको समिति गठन सम्बन्धि प्राबधान समेत कुल्चदै अल्पमतमा सदस्य मनोनित गरी मनोनित मध्यकै व्यक्तिलाई अध्यक्ष बनाएको आरोप लागेको छ ।

यसअघी प्रअले समुदायको निर्णयलाइ वेवास्ता गर्दै नियम समेत पालना नगरी व्यक्तिगत ढंगले अगाढी बढेको भन्दै सम्बन्धित टोल विकास समिति, वडा नागरिक मंच तथा विभिन्न राजनैतिक दलहरुका प्रतिनिधिहरुको तर्फबाट जिल्ला शिक्षा कार्यालय , अख्तियार, क्षेत्रिय शिक्षा निर्देशनालयमा उजुरी दिएको थियो । उजुरी पश्चात जिल्ला शिक्षा कार्यालय कास्कीले बिद्यालय निरीक्षक तथा बिद्यालय प्रशासनलाइ रिपोर्ट पेस गर्न भनेको थियो । बिद्यालय निरीक्षक तथा बिद्यालय प्रशासनलाइ रिपोर्ट पेस गर्न भनिएकोमा बिनिको रिपोर्ट आएको तर बिद्यालयले रिपोर्ट नबुझाएको सहायक जिल्ला शिक्षा अधिकारी नवराज चापागाइले बताए । उनले भने “अहिलेसम्म हामीलाइ बिद्यालयको रिपोर्ट प्राप्त भएको छैन हामीले दुवै रिपोर्ट प्राप्त गर्नासाथ त्यसको अध्ययन गरि आवश्यक कारवाही अगाडी बढाऊछौ।“ यस अघिनै जिल्ला शिक्षा कार्यालय कास्कीले नियम विपरित कार्य भएको भए कारवाही गर्ने बताईसकेको छ ।

राजीनामाले थप जटिलता
बिद्यालयमा पुरानो नियुक्ति विवादको बिषय टुंगोमा पुग्न बाकीनै रहेको बेला दुई सदस्यको राजिनामाले थप जटिलता सिर्जना गरेको छ । शिक्षा ऐन अनुसार ब्यबस्थापन समिति सदस्यको राजीनामा अध्यक्षले स्वीकृत गर्नुपर्ने हुन्छ । तर बिद्यालयमा अध्यक्षकै नियुक्तिको बिषयमा विवाद कायम रहिरहेको र उजुरी समेत परिसकेकाले राजिनामा स्वीकृत गर्न नमिल्ने जानकारहरु बताउछन् । राजीनामा स्वीकृत गर्नको लागी अविभावक भेलानै डाक्नुपर्ने छोरेपाटन बिद्यालय स्रोत व्यक्ति टोलप्रसाद अर्याल बताउछन् ।

उनले भने, “बिद्यालयमा अध्यक्षकै विवाद कायम रहिरहेको अवस्थामा उहाँले राजिनामा स्वीकृत गर्न मिल्दैन, यसको लागि प्रअले अविभावक भेला डाक्नु पर्दछ र सोही भेलाले राजीनामा स्विकृत तथा रिक्त स्थानमा नयाँ सदस्य नियुक्ति गर्न सक्दछ।“ तर सहायक जिशिअ चापागाइ भने समितिले उनीहरुको राजीनामा स्वीकृत गर्न सक्ने बताउछन् । उनले भने, “समितिले उनीहरुको राजीनामा स्वीकृत गर्न सक्छ, राजीनामा स्वीकृत भएपछि बाकी विषयमा अध्यन गरेर अगाडी बढ्न सकिन्छ।“

समितिमा रहेका अविभावक भेलावाट चुनिएका दुइ जनाले राजिनामा दिइसकेकाले र प्रअले मनोनित गरेका दुइ सदस्य नियम बिपरित रहेको भन्दै उजुरीनै परि छानबिन भइरहेकोबेला समितिले राजीनामा स्वीकृत गर्न नमिल्ने धेरैको धाराणा छ ।

कमेन्ट गर्नुहोस्
Share: