जंगल फेस्टिभलमा ‘भूतघर’, शनिबार यस्ता छन् जंगलका आकर्षणहरु !

Share:

रेम बिक
पोखरा, १४ फागुन ।  ‘जंगल थिम’ दिएर जंगलभित्रै आयोजना गरिएको जंगल फेस्टिभलको दोस्रो दिन नयाँबजारस्थित शान्ति वन वाटिकामा दर्शकको भीड लाग्यो । जंगल फेस्टिभलमा दर्शक निकै रमाएका देखिन्थे । नयाँ स्वाद र शैलीको यो फेस्टिभलमा दर्शकले फरक अनूभुती गरेको आयोजक परिचय नेपालले जानकारी दिएको छ ।

शुक्रबार महाशिवरात्रीको विदा परेकोले दर्शकको सँख्या निकै बाक्लो देखिन्थ्यो । विभिन्न मुखुन्डो लाएर जंगलभित्र सेल्फि खिच्दै दर्शकहरु रमाईलो गरिरहेका थिए । ‘अघिल्ला सँस्करणको तुलनामा यो फेस्टिभलमा दर्शकको उपस्थिती र चासो बढि पाएका छौँ ।’ आयोजक परिचय नेपालका अध्यक्ष सोभित बस्यालले भने–‘हेर्ने जति सबै दर्शकले जंगल फेस्टिभल रुचाएका छन् । यो हाम्रो लागि निकै राम्रो सँकेत हो ।’

खासगरि जंगल फेस्टिभलमा अध्ययन अनुसन्धान गर्ने सोधकर्ताहरु पनि निकै चासो दिएर सहभागी भैरहेका छन् । दोस्रो दिन फेस्टिभलमा रहेको पृथ्वीनारायण क्याम्पस अन्तरगत रहेको जुलोजी शाखाको स्टलमा दर्शकको चासो बढि देखियो । त्यस्तै नेपालमै पहिलोपटक जंगल फेस्टिभलमा राखिएको रोबोटिक भूतघरमा पनि दर्शकको संख्या निकै बाक्लो देखियो । राउटेको झुण्ड र कुसुन्डा जातिका एक मात्र जिवित व्यक्ति राजामामा प्रति पनि दर्शकले निकै चासो देखाएका थिए ।

त्यो सँगै विश्वकै होचो मध्येका एक व्यक्ति खगेन्द्र थापामगरको खुकुरी डान्सले दर्शकको ध्यान खिच्यो । उनले खुकुरी लिएर नाचिरहँदा दर्शकको चर्को हुटिङ पाएका थिए । त्यसैगरि भारतका चर्चित जादुगर सम्राटको प्रस्तुतीलाई पनि दर्शकले रुचाए । साँगीतिक कार्यक्रम अन्तरगत दिउँसो भएको गिरिश खतिवडाको प्रस्तुतीले दर्शकको साथ पायो । अझै साँझपख भएको फेशन शो ले जंगलको चिसो मौसमलाई गर्माएको थियो ।

फेस्टिभल अन्तरगत शनिबार तेस्रो दिन अझै बढि आकर्षणहरु आयोजकले सार्वजनिक गरेको छ । शुक्रबार आस्था राउतको प्रस्तुती जंगलमा रहनेछ । त्यस्तै नाटक ‘भट्टीका सपना’ पनि शनिबार फेस्टिभलमा मञ्चन हुनेछ । त्यो सँगै जादुगर सम्राटको प्रस्तुती र काठमाण्डौ सर्कसको विशेष प्रस्तुती पनि शनिबार हुने आयोजकले बताएको छ । साँझ पख शनिबार पनि मोडलहरु विभिन्न जंगली भेषमा ¥याम्पमा उत्रनेछन् ।

कमेन्ट गर्नुहोस्
Share: