
रेम बिक
पोखरा, १९ फागुन । लायन्स क्लब अफ पोखरा पिस सोसाइटीको आयोजनामा पोखरामा विशेष हाँस्य व्यंग कार्यक्रम गर्ने भएको छ । आगामी फागुन २१ गते शनिबार पोखरा सभागृहमा यो कार्यक्रम हुने क्लबले जनाएको छ । दिउँसो ३ बजेबाट हुने यो कार्यक्रममा दर्शकले मनोरञ्जन र हाँसोको प्याकेज पाउने आयोजकले बताएको छ ।
पोखरा र आसपासका क्षेत्रमा सामाजिक कार्य गर्नका लागि कोष स्थापना गर्ने उद्देश्यसहित क्लबले यो कार्यक्रम गर्न लागेको क्लबका अध्यक्ष होमविलाश सापकोटाले जानकारी दिए । ‘विशुद्ध सामाजिक कार्यका लागि हामीले गरेको एउटा प्रयास हो यो ।’ सापकोटाले भने–‘त्यसैले कार्यक्रममा दर्शकको साथ राम्रो पाउने हाम्रो अपेक्षा छ ।’
कार्यक्रममा मनोज गजुरेल, सन्दिप क्षेत्री, सुरेन्द्र केसी ‘मुलासाग’, शिवशंकर रिजाल ‘जोगिन्दर’, जादुगर महादेव त्रिपाठी, गायिका प्रिति आले लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ । कार्यक्रमको उद्घोषण दिनेश डिसीले गर्दैछन् ।
सेवा भावसहित खोलिएको लायन्स क्लब अफ पोखरा पिस सोसाइटीले यस अगाडि पनि थुप्रै सामाजिक कार्यहरु गर्दै आएको छ । विभिन्न स्थानमा स्वास्थ्य शिविर राखेर क्लबले धेरै विरामीहरुलाई पनि सेवा दिईसकेको छ । र, आगामी दिनमा पनि यस्तै सेवामुलक कार्यहरु गर्दै जाने क्लबले जनाएको छ ।
