पोखराको पिएन क्याम्पसको स्ववियू निर्वाचन फागुन २५ गते हुँदै

509
0
Share:

पोखरा, २१ फागुन-
विवादको कारण पूर्वनिर्धारित निर्वाचन तालिका अनुसार बुधबार रोकिएको पोखराको पृथ्बीनारायण क्याम्पसको मतदान फागुन २५ गते हुँदैछ । क्याम्पस प्रशासनले सुचना प्रकाशित गरी नयाँ निर्वाचन तालिका सार्वजनिक गरेको हो ।

निर्वाचनको नयाँ मिति तय गरेको क्याम्पस प्रमुख देवेन्द्र वहादुर लामिछानेले जारी गरेको सूचनामा उल्लेख छ । जस अनुसार फागुन १४ गते मनोनयन दर्ता भएपछि रोकिएको दावि विरोध उपर छानविन गरी उमेदवारको नामावली प्रकाशित गर्न फागुन १९ गते दिउसो १ बजेको समय तोकिएको छ ।

उमेदवारको नाम फिर्ता लिन फागुन फागुन २० गते विहान ११ बजेदेखि दिउसो ४ बजे सम्मको समय तोकिएको छ । फागुन २२ गते दिउसो तीन बजे उमेदवारको अन्तिम नामावली प्रकाशित गरिने र २५ गते विहान ८ देखि साझ ५ बजेसम्म मतदानको समय तोकिएको छ ।

उमेदवारको मनोनयन दर्ता भएर नामावली प्रकाशित भएको रात अर्थात् फागुन १४ गते राती अज्ञात समुहले क्याम्पसको विज्ञान संकायको प्रशासनिक भवन तोडफोड गरी बिद्यार्थी परिचय पत्र चोरी गरेपछि निर्वाचन विथोलिएको थियो ।

माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीले एमाले निकट अनेरास्ववियुले राती झण्डै साढे चार सय परिचयपत्र चोरी गरेको आरोप लगाउदै निर्वाचन समितिको सचिवालयमा ताला लगाएपछि निर्वाचन सम्बन्धि अन्य कुनै प्रक्रिया अघि बढ्न नसक्दा बुधवार मतदान हुन नसकेको हो ।

पृथ्बीनारायण क्याम्पसमा ९ वटा बिद्यार्थी संगठन सक्रिय छन् । निर्वाचनका लागि ८ वटा प्यानलले मनोनयन दर्ता गराएका छन् । जस अनुसार नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति बिद्यार्थी युनियनले गठबन्धन गरेका छन् भने अनेरास्ववियु, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारी, विप्लव माओबादी निकट अखिल क्रान्तिकारी, अखिल छैटौं, प्रगतिशिल बिद्यार्थी युनियन, प्राज्ञिक बिद्यार्थी परिषद् र समाजवादी बिद्यार्थी फोरमले प्यानल सहित उमेदवारी दर्ता गराएका थिए ।

अध्यक्षमा ९ जनाले मनोनयन दर्ता गराएका छन् । अनेरास्ववियुको तर्फबाट सरिता पुरी, माओबादी केन्द्र निकट अखिल क्रान्तिकारीको तर्फबाट प्रविणा अधिकारी, विप्लव माओबादी निकट अखिल क्रान्तिकारीबाट मिलन राई, नेपाल बिद्यार्थी संघ र नयाँ शक्ति बिद्यार्थी युनियनबाट राजेश हमाल, अखिल छैटौंको तर्फबाट प्रताप पौडेल , प्राज्ञिक बिद्यार्थी परिषद्बाट मिलन अधिकारी, प्रगतिशिल बिद्यार्थी युनियनबाट प्रकाश तिवारी, समाजवादी बिद्यार्थी फोरमबाट रेशम तामाङ र स्वतन्त्र उमेदवार लक्ष्मण रोका मगर अध्यक्षको दौडमा छन् ।

पृथ्बीनारायण क्याम्पसमा ८ हजार दुई सय मतदाता छन् । पिएन क्याम्पसमा यसअघि सम्पन्न सबै स्ववियु निर्वाचनमा एमाले निकट अनेरास्ववियुले पकड जमाउदै आएको छ ।

कमेन्ट गर्नुहोस्
Share: