पिएनमा यसरी रोकियो चुनाव

620
0
Share:

रञ्जन अधिकारी पोखरा, २५ फागुन / गर्विलो इतिहास बोकेको पोखराको पृथ्वीनारायण क्याम्पसमा यो वर्ष स्ववियु निर्वाचन हुन सकेन ।सर्वाधिक विद्यार्थी अध्ययन गर्ने क्याम्पसमा विद्यार्थीको एकीकृत संस्था निर्माणमा बाधक विद्यार्थी संगठन नै बने । आठ वर्ष पछि निर्वाचन हुन लाग्दा यसको रौनक सबैभन्दा बढि यहाँ कतै थियो भने पृथ्वीनारायण क्याम्पसमै थियो । चुनाव नभएपछि विद्यार्थीहरु पढाईमा बाधा पुगेको र मेहनत खेर गएको भन्दै दुःखित छन् । दुई–दुई पटकको प्रयास असफल बनेपछि क्याम्पस प्रशासन निर्वाचन गर्न नसक्ने मनिस्थितिमा पुग्यो ।

क्याम्पस प्रमुख प्रा. डा. देवेन्द्रबहादुर लामिछानेले मंगलबार साँझ सूचना जारी गर्दै अहिलेसम्म त्रि.वि. केन्द्रीय कार्यालयबाट निर्देशन प्राप्त नभएकाले उक्त कार्यालयबाट परिपत्र तथा सूचना प्राप्त भएअनुसार मात्र गर्ने गरी निर्णय भएको जनाएका छन् । सूचनामा ‘क्याम्पस प्रशासन, निर्वाचन समिति र यस क्याम्पस अन्तर्गतका विद्यार्थी संगठनहरुबिच संयुक्त बैठक राखिएकोमा अखिल (क्रान्तिकारी) प्रचण्ड, अखिल (क्रान्तिकारी) विप्लव, नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (छैठौँ), समाजवादी विद्यार्थी फोरम, प्रगतिशील विद्यार्थी युनियन लगायतका संंगठनहरुले यथास्थितिमा निर्वाचनमा भाग नलिने तर अनेरास्ववियु र नयाँ शक्ति विद्यार्थी युनियन लगायतका संगठनहरुले भाग लिने प्रतिबद्धता व्यक्त गरेकाले बिद्यार्थी संगठनहरुको मत फरक हुन गएको सन्दर्भमा क्याम्पस प्रमुखले कार्यतालिका परिवर्तन गरी निर्वाचन गर्न त्रि.वि. केन्द्रीय कार्यालयकै निर्देशन आवश्यक पर्ने हुँदा’ उल्लेख छ । निर्वाचन समिति संयोजक डा. चन्द्रबहादुर थापाले विद्यार्थीको लागि गरिने चुनावमा विद्यार्थी नै एकमत नभएको बखत कतै पनि चुनाव नहुने प्रष्ट पारे ।

यथास्थितिमा निर्वाचनको विपक्षमा रहेका छ विद्यार्थी संगठनले पुनः प्रक्रिया सुरु गर्नुपर्ने अडान लिएका कारण यो वर्ष चुनाव नै नहुने अवस्था आएको हो । किनकि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भईसकेकाले अब निर्वाचन प्रक्रिया अघि नबढाउन दुई–दुई पटकसम्म त्रिविलाई निर्देशन दिईसकेको छ । फागुन १८ गतेकै लागि अघि बढेको निर्वाचन प्रक्रियाका कारण मात्र क्याम्पस प्रशासनले आफ्नो अधिकार प्रयोग गर्दै फागुन २५ गते निर्वाचन मिति तय गरेको थियो । पिएनमा फागुन २६ देखि स्नातकोत्तर दोस्रो वर्षको परीक्षा पनि सुरु हुँदैछ ।

छ संगठनले सोमबार संयुक्त विज्ञप्ती जारी गर्दै क्याम्पस प्रशासनलाई अविलम्व जारी प्रक्रिया रोकी नयाँ प्रक्रिया सहितको नयाँ मिति तोकी स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न गराउन अपिल ग¥यो । तर, रत्नराज्य क्याम्पसमा पनि अब नयाँ प्रक्रिया अघि बनढ्ने कारण नै चुनाव स्थगन भईसकेकाले त्रिविले यो स्विकार नगर्ने निश्चित प्रायः छ ।

उता, अनेरास्ववियूले छ संगठनको बालहठको कारण यो अवस्था आएको तर्क गरेको छ । अनेरास्ववियू क्याम्पस कमिटि अध्यक्ष राजन शर्मा पराजुलीले मंगलबार साँझ विज्ञप्ती जारी गर्दै पुनः प्रक्रिया थाल्नुपर्छ भन्ने कहिँ कतै नभएको बालहठमा साथीहरु रहेको जनाएका छन् । ‘अनेरास्ववियुलाई एक्लै बनाएर पराजित गर्न सकिन्छ भन्ने मान्यता हो भने पनि प्रक्रिया नयाँ सुरु गर्न पर्दैन । उम्मेदवारी फिर्ता लिएर एकले अर्कोलाई भोट गरी तपाईंहरु आफ्नै मान्छे जित्नुस्, जिताउनुस् भनेका छौं’ – उनले भने– ‘निर्वाचन आचार संहिताले अब बाटो छेकिसकेकाले नयाँ प्रक्रियामा जान सकिदैँन भन्ने त घाम जति नै छर्लंगै छ नि । ६ संगठन मिलेर पनि नजित्ने देखियो त्यसपछि मिल्दै नमिल्ने प्रक्रियाको कुरा गरेर चुनाव रोक्ने षड्यन्त्र मात्रै हो ।’ उनले हार्ने निश्चित भएपछि चुनाव रोक्दा अबको भविष्य सकिने भएकाले प्रक्रियाको कुरा गरेर आँखामा छारो हाल्न मात्र खोजेको आरोप लगाए । कास्कीका पाँच क्याम्पसमध्ये तीन क्याम्पसमा नेविसंघले जितेको भएर पनि संख्यात्मक रुपमा हावी भईरहने कारण अन्यत्र चुनावपछि नेवि संघ पनि क्रान्तिकारीको बाटो हिँडेको उनको कथन छ । विधि र कानुनको अपव्याख्या नगरी अब पुरानो प्रक्रिया अनुसार नै अर्को निर्वाचन गर्न सकिने भएकाले अर्को निर्वाचन मिति तय गर्न विज्ञप्तीमार्फत अनेरास्ववियुले माग पनि गरेको छ ।

विज्ञप्तीमा हस्ताक्षर समेत गरेका नेवि संघका केन्द्रिय सदस्य भानु ढकालले नयाँ प्रक्रिया सुरु गर्न अब निर्वाचन आचारसंहिताले नदिनेतर्फ आफू जानकार रहेको स्विकारे । तर, आफ्नो संगठनको छुट्टै धारणा सार्वजनिक गर्दै उनले कार्ड चोरी भएपछि नै माहौल बिग्रेकाले यथास्थितिमा चुनाव हुनै नसक्ने उल्लेख गरे । ‘कार्ड ५९ वटा हरायो भनेर प्रशासनले भन्ने, कार्ड १५९ भेटिने । कार्ड मात्र होईन ढड्डा समेत गायब छ ।’ – उनले भने– ‘यस कारण अरुले फर्जी मत हाल्न सक्ने भएकाले स्वच्छ निर्वाचन हुन नसक्ने नेवि संघको ठहर हो ।’

यसअघि, नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले क्याम्पसमा विज्ञान संकायका विद्यार्थीको परिचयपत्र चोरी भएको भन्दै फागुन १५ गतेदेखि तालाबन्दी गर्दा १८ गते चुनाव टरेको थियो । क्याम्पस प्रशासनले सोहि दिन २५ गतेका लागि अर्को निर्वाचन मिति घोषणा ग¥यो । त्यसको भोलिपल्टै फागुन १९ गते बेलुकी एक सय ५९ थान कार्ड पोखरा ११ तुल्सीमार्ग स्थित एक घरको भ¥याङमुनी लुकाएर राखिएको अवस्थामा भेटियो । अखिल (क्रान्तिकारी) ले कार्ड चोरीकै विषयमा तालबान्दी गरेको र कार्ड भेटिएको घरको तल्लामा सोहि संगठनका नेता क्षितिज सापकोटा बस्ने भएकाले ‘कार्ड काण्ड’ ले ठूलो रुप लियो । सूचनाको आधारमा प्रहरीले कार्डको मुचुल्का उठाएर लैजाने काम मात्र भएको छ । यसको छानविनको प्रक्रिया अघि बढ्नै नसकेको श्रोतले जनाएको छ ।

जसरी पनि चुनाव हुनैपर्ने अडानमा रहेको नेकपा एमाले समर्थित अनेरास्ववियूले चुनावमा हार्ने डरले क्रान्तिकारीले कार्ड आफै चोरी गरी लुकाएको आरोप लगाउँदै आएको छ । अखिल क्रान्तिकारीले भने षड्यन्त्र गरी आफ्ना नेता फसाउने र विद्यार्थीमाझ भ्रम सिर्जना गरेको जनाएको छ ।

निर्वाचनका सन्दर्भमा क्याम्पस प्रशासनको रोहवरमा डाकिने बैठकमा एक पक्षले कार्ड चोरी गर्नेलाई कारबाही गर्नुपर्ने र अर्को पक्षले आरोप लगाएकाले तुरुन्त छानविन गर्नुपर्छ भन्नुबाहेक भेटिएको कार्डको छानविन सम्बन्धमा विद्यार्थी नै गम्भिर नभएको एक सहभागीले बताए ।

सुरुमा चोरी भएको कार्डको अवस्था छानविन नभएसम्म चुनाव हुन नदिने पक्षमा अखिल क्रान्तिकारी मात्रै थियो । त्यसपछि, क्रान्तिकारीकै लाईनमा नेबि संघ लगायतका छ संगठन उभियो । क्याम्पस प्रशासनले अनेरास्ववियूसँग मात्र मिलेर समस्याको समाधान नै नभई चुनावको मिति घोषणा गरेको उनीहरुको आरोप छ । उनीहरुले आईतबार राति १० बजे निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरे । अनेरास्ववियुले भोलिपल्ट सोमबार बिहानै ताला फोडे । त्यसपछि चुनावको सम्भावना फेरि पनि ट¥यो ।

कास्कीका अन्य पाँच क्याम्पसमा स्ववियु चुनाव शान्तिपुर्वक सम्पन्न भएको थियो । ईञ्जिनियरिङ अध्ययन संस्थान, लामाचौरमा मत गणनाको विषयमा बाहेक सबैमा सहज ढंगले चुनाव सकियो । जनप्रिय क्याम्पस, विन्दुबासिनी संस्कृत विद्यापीठ र चिकित्सा शास्त्र अध्ययन संस्थानमा नेविसंघको प्यानल बिजयी बन्यो । बन विज्ञान अध्ययन संस्थानमा अनेरास्ववियुको प्यानल बिजयी भयो । ईञ्जिनियरिङ क्याम्पसमा पनि अनेरास्ववियुले नै सभापति जित्यो । पृथ्वीनारायण क्याम्पसमा यसअघिका सबै २३ पटकको निर्वाचनमा अनेरास्ववियूले नेतृत्वमा कब्जा जमाएको छ ।

गत हप्ता त्रिभुवन विश्वविद्यालय अन्तर्गतका ३६० मध्ये २३० क्याम्पसमा चुनाव भएको थियो । काठमाण्डुका ४८ मध्ये ११ वटामा मात्र चुनाव हुन सक्यो । आधाजसो आंगिक क्याम्पसमा चुनाव हुनै सकेन ।

कमेन्ट गर्नुहोस्
Share: