
चैत्र ५ गते-
स्थानीय बिकास मन्त्रालयले ५ उप-महानगर र १ सय ७३ नगरपालिकामा कार्यकारी अधिकृत तोकेको छ । ४ सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृत तोकेको एक दिन पछि नै मन्त्रालयले थप स्थानमा समेत अधिकृत तय गरेको हो ।
गाउँपालिकाको जिम्मा अधिकृत स्तरका कर्मचारीलाई दिए पनि उपमहानगर र नगरपालिकामा उप(सचिवस्तरका कर्मचारीले कार्यभार सम्हाल्नेछन् । मन्त्रालयले ४ वटा महानगरपालिकामा भने सह(सचिवस्तरका कर्मचारी खटाउने बताएको छ । स्थानीय बिकास मन्त्रालयले १३ वटा उपमहानगर मध्ये जनकपुर, जीतपुर–सिमरा, कलैया, बुटवल र नेपालगञ्जमा कार्यकारी अधिकृत तोकेको हो ।
यस्तै २ सय ४६ वटा नगरपालिका मध्ये पहिलो चरणमा १ सय ७३ वटामा मात्र अधिकृत तोकिएको मन्त्रालयका उपसचिव भरतकुमार शर्माद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले ४ महानगर तथा बांकी रहेका ८ वटा उपमहानगर र ७३ वटा नगरपालिकामा चाँडै कार्यकारी अधिकृत निर्धारण गर्ने जनाएको छ । मन्त्रालयले प्रदेश नम्बर दुईका तीन र पाँचका दुई वटा उपमहानगरपालिकामा मात्र कार्यकारी अधिकृत निर्धारण गरेको हो । यस्तै प्रदेश नम्बर एक अन्तरगत १४ जिल्लाका २९ नगरपालिका, प्रदेश नम्बर दुई अन्तरगत ८ जिल्लाका २२ नगरपालिका र प्रदेश नम्बर तीनका ११ जिल्लाका ३१ नगरपालिकामा अधिकृत खटिएका छन् ।
प्रदेश नम्बर चार अन्तरगत ७ जिल्लाका २६ नगर, पाँच अन्तरगत ९ जिल्लाका २३ नगर, छ अन्तरगत ९ जिल्लाका १९ नगर र सात अन्तरगत ८ जिल्लाका २३ नगरपालिकामा समेत कार्यकारी अधिकृतको ब्यवस्था भएको उपसचिव शर्माले बताउनुभयो ।
मन्त्रालयले स्थानीय तह निर्वाचनका लागि आवश्यक कामकारवाही गर्नुपर्ने भएको भन्दै कुनै बिलम्ब नगरी तोकिएको स्थानमा हाजिर हुन सम्पूर्ण कार्यकारी अधिकृतलाई निर्देशन दिएको छ । समयमा हाजिर नभए निर्वाचन आचार संहीता अनुसार कारवाही हुने समेत मन्त्रालयले स्पष्ट पारेको छ ।
