पत्रकार र कलाकारमाझ ज्योती मगरकै चर्चा

Share:

रेम बिक
पोखरा, ११ चैत । छाडापन के लाई भन्ने ? प्रायजसो लोकगीतको म्यूजिक भिडियोमा छाडापन भयो भनेर खुब चर्चा हुने गर्छ । यो आरोप विशेष गरि तीज गीतलाई बढि लाग्छ । तर सदावहार यो आरोप खेप्ने भनेको एक मात्र ज्योती मगरले नै हो ।

एक भेटमा ज्योतीले भनेकी छन्, ‘छाडापन भनेको के हो ? मैले त्यस्तै पहिरन लगाउँछु, जो एउटा कलेज पढ्ने युवतीले पढ्न जाँदा लगाउँछे ।’ ज्योतीको यो कुरालाई मध्यनजर गर्ने हो भने पनि उनी गलत छैनन् । ज्योती जे सत्य हो, त्यहि बोल्छिन् । र, आफुलाई जे ठिक हो, त्यहि गर्छिन् ।
तर ज्योतीले बोल्ने त्यहि बोली र लाउने त्यहि पहिरन मिडियामा हेडलाइन बन्छन् ।

शुक्रबार पोखरामा लोकदोहोरी कलाकार र पत्रकारबीच अन्तरक्रिया भयो । धेरैले लोक दोहोरीको बद्नाम गर्ने ज्योती मगरलाई तारो बनाए । लोक दोहोरी क्षेत्रमा शब्द र म्यूजिक भिडियोमा छाडापन ल्याउने एक मात्र पात्रको रुपमा ज्योती मगरलाई उभ्याईयो । कलाकार र पत्रकार बीच भएको अन्तरक्रियामा छलफलको विषय नै बनिन्, ज्योती मगर ।

नेपाल लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी अञ्चल शाखाले आयोजना गरेको कार्यक्रममा पत्रकारहरु पनि ज्योतीको विरुद्धमा खनिए । धेरैले उनलाई लोकदोहोरीको बद्नाम गर्ने पात्रको रुपमा उभ्याए । तर फेरि तीनैले भने, ‘ज्योती मगर आयो भने मेला महोत्वसमा साबिकभन्दा दोब्बर टिकट विक्रि हुने गरेको छ ।’ यसले सरासर ज्योती मगरको क्रेज प्रस्ट्याउँछ ।

तर नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठको भनाई केहि फरक रह्यो । उनले भने ‘ज्योती मगर, एउटा प्रवृत्ति मात्रै हो । यदि राम्रा र सृजनशिल लोक गायन कृतिहरु पस्कन सक्यो भने यस्ता प्रवृत्ति धेरै दिन टिक्दैन ।’ उनले ‘सुर्के थैली’, ‘ठमेल बजार’ र ‘पुर्व पश्चिम रेल’को  उदाहरण दिँदै, मौलिकताले यस्ता प्रवृत्तिलाई उछिन्न सक्ने खुबी राख्ने पुष्टी गरे ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रमेश बिजिले भने–‘यो एउटा विकृति नै हो । कतिपय ठाऊँमा ज्योती मगरले प्रतिष्ठानलाई बहिष्कार गर्दा आयोजकले स्विकारोक्ति दिएकै कारण उनी अझै बढि चढेकी हुन् । शायद आयोजकले पैसाको लोभ गर्ने थिएनन्, भने ज्योतीको यो खाले प्रस्तुती चल्ने थिएन होला ।’ उनले ज्योतीकै कारणले कतिपय ठाऊँमा लोकदोहोरी प्रतिष्ठानका कलाकारले प्रस्तुती दिन नपाएको गुनासो समेत गरे ।

साथै उनले लोकदोहोरी गीतसम्बन्धि सम्पूर्ण गुनासो प्रतिष्ठानमै आउने भएपनि कारबाहिका लागि संस्थामा कुनै अधिकार नभएकोले केहि कदम चाल्न नसकिएको उनले बताए । ‘यद्यपी हामीले संस्थागत रुपमा यस्ता प्रवृत्तिलाई हतोत्साहि भने गरेका छौँ ।’ उनले भने ।

त्यस्तै प्रतिष्ठानकै सल्लाहकार समेत रहेका चर्चित लोकदोहोरी गायक पुरुषोत्तम न्यौपानेले आफ्नो भविष्य नदेखेको मान्छेले मात्रै क्षणिक चर्चाको लागि यस्तो हर्कत गर्ने बताए । ‘भोली आफ्नो ईतिहास बनाउँछु भन्ने मान्छेले कहिल्यै पनि यस्तो खाले सस्तो प्रचार गर्दैन । तर अहिले जे छ, त्यसैमा रमाउनेले मात्रै यस्तो हर्कत गर्छ ।’ उनी पनि ज्योती मगर प्रति नै खनिए । त्यस्तै उनी पुस्कल  शर्मा प्रति पनि खनिए । केहि समय अगाडि आएको एउटा म्यूजिक भिडियोमा आफुलाई पुस्कलले नराम्रोसँग प्रयोग गरेको भन्न पनि उनले बाँकी राखेनन् ।

कमेन्ट गर्नुहोस्
Share: