
पोखरा, १५ चैत-
सुन्दा अचम्म लाग्न सक्छ हवल्दार भएको मान्छेलाई हली हुने रहर जाग्यो भनेर। किसानी गरेर हली भएको मान्छेलाई पल्टनबाट फर्कदा अत्तर बसाउने हवल्दार साब हुन रहर लाग्नु स्वभाविक हो। तर ठीक विपरित भारतीय सेनाको हवल्दार भएको ब्यक्ती किसानी गर्ने हली हुने रहर जाग्यो धनबहादुर पुन मगरलाई। एक प्रसङ्ग बस कुरामा उनले भने “सुबेदार भईयो भने गाउँ फर्केर हलो जोत्दा सुबेदार भएको मान्छेले पनि हलो जोत्यो भन्लान भन्ने पिर, त्यसैले म त हवल्दारमै अवकाश निस्केको”।
बाग्लुङको दमेकमा जन्मेका ६५ बर्षिय पुनले २०४७ सालमा भारतीय सेना बाट अवकाश निस्केर कृषि पेशामा हात हाले। केही बर्ष बाग्लुङमै आधुनिक कृषिको प्रयोग गर्ने प्रयास गरेका धनबहादुरले भौगोलिक वनावट र चिसो ठाउँले गर्दा चाहे जस्तो खेती गर्न सकेनन। ५० सालतिरै गाउँमा वर्खाको पानी संकलन गर्ने पानी ट्याङ्की ,वालीमा पानी छर्ने स्प्रिङ्कल जस्ता सामान्य प्रविधि भित्र्याएका थिए। आलुको बिउ राख्ने गोदाम उतिबेला राम्रै लगानिमा निर्माण गरेका थिए उनले।
पल्टनमा छँदै देखि कृषि पेशाप्रति आकर्षित भएका धनबहादुर पुन पल्टनमा दिइने विभिन्न तालिममा पनि कृषि नै रोज्ने गर्थे। अवकाशपछि गाउँमै कृषि पेशा अँगाले पनि त्यसलाई आधुनिकिकरण गर्न कठिन देखेपछी सुगम ठाउँको खोजीमा २०५२ सालमा कृषि नै गर्ने उद्धेश्य लिई पोखरा झरेको सम्झन्छन। २० बर्ष भयो पोखरा आएको, कृषिमै छु , यसैमा रमाएको छु र सकिन्जेल यही नै गर्छु भन्दै आफ्ना विभिन्न कृषि कार्यहरु माछापालन, वंगुरपालन ,वाख्रापालन गाईफार्म देखाउँदै थिए ६५ बर्षिय पुन।
परिवारले राम्रो साथ दिएको छ र दुइजना अरुलाई समेटा रोजगारी दिएको छु,आवश्यक पर्दा ज्यालादारी अरु कामदार पनि बोलाउँछु,उनले थपे।उनले सुरुमा कुखुरापालन पनि नगरेका होईनन। तर विभिन्न रोग र बजार व्यवस्थापन गर्न नसक्दा खासै आम्दानी गर्न सकेनन। २०५४ सालमा कृषि बिकास बैंकबाट ऋण लिएर कृषिमा लगानी गरेका पुन विभिन्न कृषि पेशा अँगाल्दै हाल माछा,वंगुर वाख्रा, गाई मात्र होइन विभिन्न जातका घाँस लगाउने र घाँसको बिउ समेत उत्पादन गर्ने गर्छन् । कुखुरा बाट खासै फाईदा गर्न नसकेपनी वंगुरबाट भने उनलाई सन्तोषजनक आम्दानी हुन थाल्यो। कृषिकै आम्दानीबाट उनी छोराछोरीलाई बोर्डिङ स्कूल र क्याम्पससम्म पढाउन सकेको वताउँछन।
सरकारी निकायबाट खासै सहयोग नपाएका धनबहादुर १ घाँस १ जिल्ला कार्यक्रमको लागि भने केही सरकारी सहयोग भएको बताउँछन। १५० रोपनी जग्गामा जगतो घाँस खेती गरेका पुनले कृषि कार्यालयलाई बिउ समेत उपलब्ध गराउन थालेका छन। माछापालन बाट खर्च कटाएर वार्षिक २.५-३ लाख सम्म वचत गर्ने पुनले ग्रासकार्फ,कमनकार्फ,नैनी,रहु जस्ता जातका माछा पालेका छन। धानमाछा, धान रोपाईं सँगै खेतमै पाल्ने गरेको उनी बताउँछन।
कारिब ६ रोपनी जग्गामा माछापालन गरेका पुनले माछाक भुरा वेगनास मत्स्य अनुसन्धान केन्द्र लगायत कृषि कार्यालय बाट ल्याउने गरेका छन। पोखरा लेखनाथ महानगरपालिक वाड न २९ तल्लो पट्नेरीमा “पट्नेरी वंगुर फार्म तथा कृषि फार्म ” को नामबाट कृषि कार्य गर्दै आएका पुनले माछाको विमा गराएका छन भने अन्य कृषि कार्यमा पनि विमा गराउने सोच आएको बताउंछन। हालै मात्रा ८ वटा बाख्रा ल्याएर सुरु गरेको वाख्राफार्ममा समेत ३५ वटा वाख्रा पुगिसकेको र वाख्राफार्ममा पनि निरन्तरता दिने उनको सोच छ ।
कोरिया जाने फारम भर्न रातभर लाईन बसेका युवा र विभिन्न खाडी मुलुकमा पसिना बगाइरहेका युवाहरुलाई एउटा गतिलो उदाहरण बन्न सक्छन धनबहादुर पुन । “मेहनेत गरे राम्रो कमाई म ६५ बर्षको बुढोले त गर्न सकेको छु भने नेपालमै अझ कृषिमै भविष्य खोज्न म युवाहरुलाई अनुरोध गर्दछु” धनबहादुरको भनाइ छ। सुबेदारसम्म हुने अवसर छोडेर हली बन्न रुचाएका धनबहादुर पुन मगर बाट केही सिक्ने कि ? -सेतो परेवाबाट साभार ।
