सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै एमालेले गर्‍यो उजुरी

385
0
Share:

काठमाडौं, १५  चैत –
नेकपा एमालेले सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी गरेको छ ।

एमालेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भानुभक्त ढकाल लगायतको टोलीले मंगलबार निर्वाचन आयोगमा सरकारले निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी दर्ता गरेको हो ।

उजुरीमा आचारसंहिता लागू भैसकेको अवस्थामा मन्त्रीहरु विभिन्न कार्यक्रममा हेलिकोप्टर चढेर जाने, साथै योजनाभन्दा बाहिरका कार्यक्रममा पैसा वितरण गर्ने गरेको आरोप लगाइएको छ ।

कन्चनपुरको पुनर्वासमा गृहमन्त्री विमलेन्द्र निधिले पार्टीको तर्फबाट शहीद गोविन्द गौतमको परिवारलाई पैसा दिएको साथै पार्टीगत कार्यक्रममा सहभागी हुँदा आचारसंहिता उलंघन भएको भन्दै उजुरी दर्ता गरेको नेता नेम्वाङले जानकारी दिनुभयो ।

यस्तै, म्यादी प्रहरी भर्नाका लागि पनि पारदर्शी मापदण्ड नबनाइएको दावी गर्दै आयोगको ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभयो । निर्वाचन आयोगले उजुरीमाथि छानबिन गर्ने जनाएको छ । निर्वाचन आचारसंहिता अनुसार राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न पाउने व्यवस्था छ ।

कमेन्ट गर्नुहोस्
Share: