
पोखरा, २५ चैत-
विषालु च्याउ खाएका पोखरा लामाचौर खत्री डहरका तामाङ परिवारका ६ जनामध्ये विहीबार अबेरसम्म तीन जनाको ज्यान गएको छ ।
पोखरा पृथ्वीचोक स्थित चरक हस्पिटलमा उपचाररत ८ वर्षीय सनम बुढामगरको विहीबार बिहान ज्यान गएको हो । बुधबार आमाछोरी ६५ वर्षीया माईली तामाङ र १८ वर्षीया मनमाया तामाङको ज्यान गएको थियो । बाँकी दुई जना उपचाररत छन् ।
आफन्त नरसिंह बुढामगरका अनुसार काठमाण्डौ कान्ति बाल अस्पताल पु¥याईएका सनमका दाइ आयुष बुढाको अवस्था पनि गम्भिर छ । १२ वर्षीय आयुषको कलेजो बिग्रिसकेको र मिर्गौलामा समेत असर देखिएको उनले बताए । ८० वर्षीय भिमबहादुर तामाङको मनिपाल अस्पतालमा उपचाररत छन् ।
चैत १९ गते च्याउ खाएपनि २१ गते मात्र बल्ल अस्पताल पुगेको उनीहरु मनमायाको ज्यान गएपछि बल्ल सनमलाई चरक हस्पिटल सारिएको थियो । आयुषलाई हतारमा काठमाण्डौ र बुबाआमालाई मनिपाल अस्पताल लगिएको थियो । परिवारमा मनमायाकी दिदी खिममायाले मात्र च्याउ खाएकी थिईनन् । दुई दिनसम्म घरमै च्याउ खाएको कुरा गुपचुप राखेपछि अस्पताल पु¥याउन ढिलाई हुँदा परिवार नै मृत्युको मुखमा पुगेको हो ।
पोखरामै जंगली विषालु च्याउले लमजुङ रम्घा २ का थापा परिवारमा पाँच जना सिकिस्त बनाएकोमा ११ वर्षीया संगिता थापाको ज्यान गएको थियो भने चार जना पोखरामा उपचारपछि फर्किएका थिए ।
मृत्यु भएका तीनै जनाको शवको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टम गरिएको छ । आयुष र सनमका आमा कुवेतबाट मंगलबार मात्र आईपुग्ने भएकाले शुक्रबार नै दाहसंस्कार गरिने आफन्तले जनाएका छन् ।
