- रञ्जन अधिकारी
गोरखा दरबार घुमाउन लेखनाथबाट बीएमजी बोर्डिङ स्कुलको बस त्यसतर्फ हुईंकियो । एसएलसी पूर्वको टेस्ट परिक्षा सकेपछि ‘रिफ्रेस’ का लागि हिँडेको यो विद्यार्थी समूहमा सुवास गुरुङ पनि थिए । शिक्षक सुरेश बिकले आफूलाई मनपर्ने गीत हेमन्त रानाको ‘लैजा रे…’ गीत गाउन भने । पाँच वर्ष अघिको त्यो यात्राको क्रममा सुरेश सरको मुखबाट निस्किएको ‘ल मेरो फेवरेट गीत गाईदे त । तैंले राम्रो गाउँछस्…’ भनेको क्षणलाई सुवासले कहिल्यै बिर्सन्नन् । मैले गाएको राम्रो रहेछ भनेर आफूभित्रको प्रतिभा महसुस भएको पहिलो पटक नै यही यात्रामा थियो ।
लेखनाथ सैनिकबस्तीका २० वर्षे ठिटो सुवासले बिग आइकनको सातौं संस्करणको उपाधि आफ्नो नाममा लेख्न यसबीचमा थुप्रै आरोहअवरोह छिचोलेका छन् । छिमेकी दाइ सबिन तामाङ दोस्रो बिग आईकनमा दोस्रो भए । त्यसबेलादेखि उनलाई बिग आइकनमा सहभागी हुने हुटहुटी चल्यो तर आँट आएन । तेस्रो बिग आइकनमा नजिकका दाइ दर्शन गुरुङ फस्र्ट रनरअप नै बने । दाइहरुकै पदचाप पछ्याउने संकल्प लिएर उनले चौथो बिग आइकनमा भिड्ने साहस जुटाए । तर पहिलो गाँसमै ढुंगा लाग्यो । उनी पहिलो चरणको अडिसनमै आउट भए ।
दाइ जिवनले पाँच वर्ष अघि किनेको पुरानो गिटार बजाउँदै स्वअभ्यास गर्थे । तर यतिको भरले बिग आइकनको ढोका खोल्न सकेनन् । पाँचौ बिग आइकनको फाराम मात्र लिए, पहिलो अडिसनमै डर लाग्यो । पोखरासम्म आउने हिम्मत भएन । पहिलोपटक नै आउट भएपछि कसरी उपाधि जितिन्छ ? मैले गाउन सक्दिनँ भन्ने विचारले उनलाई नअठ्याएँको पनि होईन तर साथीभाइको हौसलाले बिग आइकनको चर्चा चुलिरहँदा यत्तिकै घर बस्न मनले मानेन ।
आफै भोकलिस्ट रहेको सैनिक सेभियर ब्याण्डका राजन, रोहित, निकेश, समिर र पवनले फुर्काएपछि छैटौं बिग आइकनमा सहभागी हुन करै लाग्यो । ‘पहिलो सहभागितामै आउट भएपछि मलाई अघि बढ्ने हिम्मतै जुटेको थिएन । ब्याण्ड खोलेपछि लोकल क्षेत्रमा हामी चिनिसकेका थियौं ।’ सुवासले रहस्यको पोको खोले– ‘फेरि भाग लिउँ भने सुरुमै आउट भयो भने त बेईज्जत नै हुन्छ नि । अब मेरो मात्र बेईज्जतको कुरा होईन, ब्याण्डको भोकलिस्ट भएकोले ब्याण्डकै ईज्जतको सवाल थियो ।’ तर, सकारात्मक नतिजाको आशमा छैटौं बिग आइकनमा होमिए । यसपटक विभिन्न चरणमा अब्बल दहरिँदै उत्कृष्ट बीसमा आईपुगे । त्यसपछि यात्रा रोकियो ।
बिग आइकनको उपाधि नै जित्ने दृढसंकल्प लिएका सुवास अर्को पटक जसरी जित्ने अठोटका साथ अघि बढे, हिम्मत हारेनन् । साजन आले छैटौं बिग आइकन बनिरहँदा मञ्चलाई रंगीचंगी बनाउने फूल स्टेजमाथिबाट बर्षाउने उनै सुवास थिए । साजनको स्थानमा सुवासले आफू देख्थे । तर उनलाई त्यही स्टेजमा उसैगरी उपाधि मिल्न एक वर्ष बढि पर्खनु परेन । ‘म टप ट्वेण्टीमै आउट भएँ तर बिग आइकनबाट आउट हुनै सकिनँ । त्यसैले जहिल्यै म आफूलाई विजेता नै हुनेछु भन्ने सोचिरहन्थेँ ।’ सुवासले सुनाए – ‘एक वर्ष अघिको फाईनलमा आफूले जे सोचेको थिएँ, यो वर्ष सपना साकार भएकाले पनि हर्षको आँशुले बोल्नै सकिनँ ।’ रविन्द्र मिश्रले सातौं बिग आइकनमा सुवासको नाम जोडिरहँदा उनको गला अवरुद्ध बनेको थियो । हर्षको आँशु झरिरहेका थिए । धेरै समयसम्मको अभ्यास र मेहनतले सपना साकार भएपछि केहिबेर आफूलाई सम्हाल्नै सकेनन् ।
सुवासको सफलताले परिवार पनि असाध्यै खुशी छ । ३० वर्षदेखि साउदी अरबमा कार्यरत बाबुले पैसाको चिन्ता नगर्न भनेका थिए । टप थ्रीसम्म पुगेपछि अब मेरो सपना मात्र होईन, आफ्नो ईज्जतलाई समेत जोडेर बुबाले सहयोग गर्नुभयो । परिवारबाट गीतसंगीत क्षेत्रमा कुनै रोकतोक छैन । दाइ, दुई दिदीका कान्छो भाइ सुवासलाई परिवारको साथ उत्तिकै छ । सुवासलाई जिताउन परिवारसँगै ब्याण्डका साथीभाइले पनि घरदैलो कार्यक्रम गरी सकेको सघाए । उनी परिवार र साथीभाइप्रति नतमस्तक छन् ।
सुवास गुरुङ निकै मिजासिला छन् । उनको सबैभन्दा ठुला चाहना भनेको संगीतकर्ममै लागेर चर्चाको शिखर छुनु हो । बिग आइकन जस्तो ठूलो प्लेटफर्म पाएर पनि अघिल्ला बिग आइकनहरुको जति हुनुपर्ने हो, त्यति चर्चा नभएको उनलाई लाग्छ । ‘बिग आइकन जस्तो ट्याग जोडिएको छ । अब यो टाईटललाई न्याय दिनका लागि संगितमा निरन्तरता दिनुपर्छ । साधना गर्नुपर्छ । तपस्या गर्नुपर्छ । मैले यसबारे बुझेको छु । आगामी बिग आईकनमा होमिन चाहनेहरुले मेरो नाम सगर्व लिऊन् ।’ – सुवासले निर्धक्क आफ्नो मन खोले ।
संगीतकर्ममा लाग्नेहरुको लागि सुरुवाती गन्तव्य यस्ता गायन रियालिटी शो हो भन्ने उनले राम्ररी बुझेका छन् । पहिलो बिग आईकनमा टप सेभेन दुर्गा परियार निरन्तरको साधनाले राष्ट्रव्यापी गायन प्रतियोगिता प्रतिभाको खोजीको टाईटल जित्न सफल भईन् । पाश्र्वगायनमा उनी जमेकी छिन् । फस्र्ट रनर अप सिडी बिजय अधिकारी सोहि प्रतियोगितामा उहि पोजिशनमा सफल ठहरिए र अहिले चल्तीका गायकमा पर्छन् । योगेश काजी, नरजंग गुरुङ, आशिषदास दियाली, माया गुरुङ संगीतकर्मममा लागिरहेका छन् । त्यसैले उपाधि भन्दा पनि यस क्षेत्रप्रतिको लगावले सफल होईन्छ भन्नेमा विश्वस्त छन् ।
लोक पप, रक शैलीका गीत सुवासको रुचीको विषय हो । उनलाई तालमेल मिल्ने शैली नै यही भएकाले नेपथ्य ब्याण्ड सबैभन्दा बढि मन पर्छ । धेरैले निर्णायकहरुको रोजाईका गीत गाएर प्रभावित पार्न खोज्छन् उनलाई कहिल्यै यसो लागेन । बिग आईकनका हरेक राउण्ड जसो नेपथ्य नै उनले गाए । किन त ? सुवासको सहज उत्तर छ ‘नेपथ्यमा जादु छ। जादुको कुरा कसरी भन्नु ?’
प्रतियोगिता अवधिभर उनलाई आफैसँग डर लागिरह्यो । ‘अरुसँग मलाई डर थिएन। म बाहिरिने भनेको अरुले राम्रो गाएर होईन मैले बिगोरेर हो । त्यसैले डर आफैसँग थियो ।’ – सुवासले अडिसन राउण्ड सम्झिए ।
अब बिग आइकन बनेपछि सुवासलाई आफूलाई चिन्न थालेको महसुस हुन थालिसकेको छ । सातादिन नबित्दै फेसबुक फ्रेण्डलिस्टमा तीन सय जना थपिईसकेका छन् । रिक्वेस्ट आउने क्रम बढेको, युट्युबमा आफ्ना गीतहरुको भ्युअर बढ्दै गएकोमा उनी मख्ख छन् । सुवास अब केहि महिनामै राम्रो गीत सार्वजनिक गर्ने तयारीमा जुटिसकेका छन् ।
