कास्कीभर ३ सय ७० पदमा १५ सय ३२ उम्मेदवार

Share:

कास्की, २१ बैशाख / ४ गाउँपालिका र १ महानगर रहेको कास्कीका स्थानीय तहका ३ सय ७० पदका लागि १ हजार ५ सय ३२ जनाभन्दा बढीको उम्मेदवारी परेको छ । पोखरा लेखनाथ महानगरपालिकाको ३ सय ७० पदका लागि मात्रै ८ सय ६३ जनाको उम्मेदवारी परेको जानकारी क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले दिए ।

कास्कीमा दर्ता २३ दल र स्वतन्त्र गरी त्यतिका उम्मेदवार स्थानीय तहको निर्वाचनमा उठेका हुन् । मादी, माछापुच्छ्रे, अन्नपूर्ण र रुपामा गाउँपालिकामा मात्रै ६ सय ६९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

महानगर पालिकाका ३३ वडामा १ सय ६७ जना निर्वाचित हुने छन् । मेयर, उपमेयर, ३३ वडाध्यक्ष र प्रत्येक वडामा अध्यक्षबाहेक खुला सदस्य २ जना, दलित महिला सदस्य १ जना, महिला सदस्य १ जना निर्वाचित हुनुपर्छ । ३३ वडामा अध्यक्षका लागि मात्रै २ सय ७ जनाको उम्मेदवारी परेको छ । १ सय ३२ जना सदस्यका लागि ६ सय ५७ जनाको उम्मेदवारी परेको हो ।

अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका लागि ७ जनाको उम्मेदवारी परेको छ । उपाध्यक्षमा ५ जना उम्मेदवार छन् । अध्यक्षमा १ स्वतन्त्र र ६ दलीय उम्मेदवार हुन् । अन्नपूर्णमा ११ वडा छन् । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षहरु र सदस्यहरु गरी यो गाउँपालिकामा ५७ जना निर्वाचित हुनेछन् । सबै पदमा गरी अन्नपूर्णमा १ सय ९९ जनाको उम्मेदवारी परेको छ ।

माछापुच्छ्रे गाउँपालिकाको अध्यक्ष बन्न ८ जनाले उम्मेदवारी दिएका छन् । ७ जना दलीय उम्मेदवार हुन् भने एक जना स्वतन्त्रको उम्मेदवारी परेको हो । ९ वडा रहेको उक्त गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष र सदस्य सहित ४७ जना निर्वाचित हुनेछन् । उक्त गाउँपालिकाको उपाध्यक्षमा ६ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । वडामा १ सय ८९ जनाको उम्मेदवारी परेको छ ।

मादी गाउँपालिकामा अध्यक्षका लागि ५ र उपाध्यक्षका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । त्यहाँ अध्यक्षका लागि उम्मेदवारी दिएका सबै ५ जना दलीय उम्मेदवार हुन् । अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरु गरी ६२ जना निर्वाचित हुने उक्त गाउँपालिकामा सबै उम्मेदवारको संख्या १ सय ६९ छ । मादीमा १२ वटा वडा छन् ।

रुपा गाउँपालिकाको अध्यक्षमा ७ जनाले उम्मेदवारी दिएका छन् । ४ जनाले मात्रै उपाध्यक्षमा उम्मेदवारी दिएका छन् । यो गाउँपालिकामा जिल्लामै सबैभन्दा कम ७ वडा छन् । सबै पदहरुमा गरी रुपा गाउँपालिकामा ३७ जना निर्वाचित हुने छन् । यहाँ १ सय १२ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कास्कीमा २ लाख २४ हजार ८ सय ११ जना मतदाता छन् । १ सय ५० स्थलमा २ सय ८८ केन्द्र कास्कीमा छन् । मतदातामध्ये महिला १ लाख २० हजार २ सय ३० छन् । पुरुष मतदाता १ लाख ४ हजार ५ सय ७६ छन् । पोखरा लेखनाथ महानगरपालिकामा मात्रै १ लाख ६७ हजार मतदाता छन् ।

अन्नपूर्ण गाउँपालिकामा १५ हजार ५ सय ९६, माछापुच्छ्रे गाउँपालिकामा १६ हजार ३ सय १, मादी गाउँपालिकामा १३ हजार ५ सय ५९ मतदाता छन् । रुपा गाउँपालिकामा ११ हजार ३ सय १५ मतदाता छन् ।

– समाधान

कमेन्ट गर्नुहोस्
Share: