काँग्रेस र माओवादी मिलेपछि माओवादीका लामिछानेको उम्मेदवारी फिर्ता, उपमेयर भने यथावत

Share:

पोखरा २१ बैशाख ।  सत्तारुढ दल कांग्रेस र माओबादी केन्द्रविच अन्तिम समयमा आएर केन्द्रिय तहमा चुनावी तालमेल भएसँगै पोखरा लेखनाथ महानगरपालिकाको मेयर मा उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएका छन् ।

निर्वाचन तालिका अनुसार मंगलवार पोखरा लेखनाथ महानगरको मेयरका लागि मनोनयन दर्ता गराएका विश्वप्रकाश लामिछाने सोहि दिन देखिनै प्रचार प्रसारमा ब्यस्त थिए । उम्मेदवारी फिर्ताको लागि विहिवार तोकिएको समय दिउसो १ देखि ५ बजेसम्म भएपनि उनी साढे ४ बजेसम्म घरदैलो गर्दै थिए । आफ्नो एजेण्डा प्रष्ट्याउदै भोट माग्दै गर्दा उनलाई फोन आयो ‘मेयरमा कांग्रेसलाई सघाउने गरी केन्द्रमा निर्णय भयो, उम्मेदवारी फिर्ता लिनुस् । ’

चुनावी प्रचारमा प्रयोग भएको गाडी सहित उनी तत्काल मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगे र उम्मेदवारी फिर्ता लिए । उम्मेदवारी फिर्ता लिदै गर्दा उनी खुसीनै देखिन्थे । ‘जुन उत्साहको साथ उम्मेदवारी दिएको थिए आज त्यहि उत्साहको साथ फिर्ता लिएको छु । ’ उनले भने । आफ्नो उम्मेदवारी फिर्ता भएपनि पोखरा लेखनाथ महानगरको हितका लागि जुनसुकै स्थानमा रहेर काम गर्न तयार रहेको उनले प्रतिक्रिया दिए । पार्टी केन्द्रको निर्णय अनुसार अघि बढ्न कार्यकर्तालाई आग्रह गर्दै उनले थपे ‘दुई पार्टीका प्रमुख विच केन्द्रमा जे सहमति भयो त्यो स्वागतयोग्य छ । ’

सत्तारुढ दल कांग्रेस र माओबादी केन्द्रविच अन्तिम समयमा आएर केन्द्रिय तहमा चुनावी तालमेल भएसँगै पोखरा लेखनाथ महानगरपालिकाको प्रमुखमा कांग्रेसलाई सघाउने गरी माओबादी केन्द्र तर्फको उम्मेदवारी फिर्ता भएको हो । सहमति अनुसार अब माओबादी केन्द्रले मेयरमा कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई सघाउनेछ ।

महानगरको मेयर पदका लागि मात्रै सहमति भएपछि माओबादी केन्द्र र कांग्रेसका उप मेयर पदका प्रत्यासी भने यथावत छन् । उप मेयरमा माओबादी केन्द्रको तर्फबाट गोमा ढकाल र कांग्रेसको तर्फबाट सरस्वती गुरुङ प्रत्यासी छन् । कांग्रेस कास्कीका सभातपि कृष्ण केसीका अनुसार माओवादीले मेयरको उमेदवारी फिर्ता लिएर कांग्रेसलाई सघाउने तर उपमेयरमा दुवै पार्टीका आ-आफ्ना उम्मेदवार कायम रहने केन्द्रीय सहमति बनेको थियो ।
पोखराको मेयरमा नेकपा एमालेबाट मान बहादुर जिसी, राप्रपाकी गीता गुरुङ, नयाँ शक्ती र संघीय समाजबादी फोरम नेपाल बीचको गठबन्धनबाट हुम गुरुङ, नेकपा मालेबाट टेकनाथ भण्डारी, अखण्ड नेपाल पार्टीबाट मोति गिरी, राष्ट्रिय जनमोर्चाबाट चन्द्र बहादुर केसी, नेपाल परिवार दलबाट कल्पना बराल, राष्ट्रिय मुक्ती आन्दोलनबाट ऋषि तिमिल्सीना, नेकपा संयुक्तबाट प्रेमकाजी गुरुङ र पूर्व राष्ट्रसेवक लोकतान्त्रीक पार्टीका मधुकर न्यौपाने चुनावी मैदानमा छन् । यस्तै अमन विक्रम थापा, रेशमराज पन्थी, महेन्द्र कुमार थापा, भीम श्रीस र पदम बहादुर गुरुङले स्वतन्त्र उम्मेदवारका रुपमा चुनावी प्रतिश्पर्धामा उत्रिएका छन् ।

उपमेयरमा माओबादीकी ढकाल र कांग्रेसकी गुरुङसँगै एमालेबाट मञ्जुदेवी गुरुङ, राप्रपाबाट रमेशबहादुर खत्री, नयाँ शक्तीबाट लक्ष्मी खाती, अखण्ड नेपालबाट गोमा कुमारी रायमाझी, राष्ट्रिय जनमोर्चाबाट दाल कुमारी खत्री प्रतिश्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारका रुपमा सिरोज कोइराला, कल्पना थापा र चन्द्र बहादुर थापा छन् ।

१ लाख ६८ हजार ६७ जना मतदाता रहेको महानगरमा मेयर र उपमेयर सहित १ सय ६७ जना निर्वाचित हुनेछन् । दलित तथा अल्पसंख्यक समुदायबाट तीनजना थप गरी १ सय ७० जनाको नगरसभा बनाईने छ भने ४३ जनाको नगर कार्यपालिका गठन हुनेछ । भोट हाल्नका लागि पोखरामा ९८ मतदान स्थल र २ सय २१ वटा मतदान केन्द्र कायम गरिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: