
पोखरा, २४ वैशाख/ पोखरा लेखनाथ महानगरपालिकाको उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सिरोज कोइरालालाई विवेकशील नेपाल दलले सहयोग गर्ने भएको छ । कोइरालालाई विवेकशील नेपाल दल कास्कीले सहयोग गर्ने विज्ञप्ति जारी गरि जानकारी दिएको छ ।
उनले चुनाव चिन्ह घडी प्राप्त गरेका छन् । विवेकशील दलका कास्कीका संयोजक राजाराम केसीले कोइरालाई सहयोग गर्ने जनाएका हुन् । सञ्चार, पर्यटन र आध्यात्म क्षेत्रमा सम्बद्ध उनले पोखरालाई समृद्ध महानगर बनाउने उद्देश्यले उम्मेदवारी प्रस्तुत गरेका हुन् ।
उनले पोखरेलीलाई विश्व स्वास्थ्य संगठन मापदण्डको पिउने पानीको प्रबन्ध गर्ने, पोखरा प्रवेशका लागि वैकल्पिक मार्ग बनाउने, मेट्रोपोलिटन बस तथा ट्राम सञ्चालन गर्ने, बजारलाई नै अस्तव्यस्त बनाएको बिजुली, टेलिफोन र केबल तार भूमिगत गर्ने योजना अघि सारेका छन् ।
पोखरा क्षेत्रमा जग्गा खण्डिकरण बढी भएकाले आधुनिक अपार्टमेण्ट शैलिका घर निर्माण गरेर जमिनलाई कृषि उत्पादनमा उपयोग गर्नुपर्ने बताए । पोखरा र पर्यटन पर्याबाची भएकाले पोखरालाई योगा र मेडिटेसन टुरिजम सेन्टरको रुपमा पनि विकास गर्नुपर्ने उनको योजना छ ।
