
वि.सं. २०३६ सालमा प्यारामेडिकल आन्दोलनबाट राजनीतिमा होमिएका रामजी कुँवर नेपाली काँग्रेसबाट पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदका उम्मेदवार हुन् । नेपाली मजदुर आन्दोलनलाई केन्द्रमा राखेर राजनीतिमा क्रियाशील कुँवर कास्की क्षेत्र नं. ३ सभापति हुँदै पार्टीका आमन्त्रित केन्द्रिय सदस्य भईसकेका छन् । पार्टीको १० औं महाधिवेशनदेखि कुँवर लगातार महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य छन्। कुँवर नेपाल ट्रेड युनियन कांग्रेसका सस्थापक केन्द्रिय सदस्य हुन्। उनी सचिव, उपाध्यक्ष हुँदै लगातार दुई पटकसम्म वरिष्ठ केन्द्रिय उपाध्यक्षमा आसिन छन् । २०३६ साल र दोस्रो जनआन्दोलनमा उनी प्रहरीको हिरासतमा पनि परे । वल्र्ड काँग्रेसमा सहभागिताका साथै कामका सिलसिलामा दुई दर्जन मुलुक उनले भ्रमण गरिसकेका छन् । २०१३ साल असोज ४ गते बैदाममै जन्मिएका कुँवरले पब्लिक हेल्थ विषयमा भारतबाट स्नातक गरेका छन् । विभिन्न स्वास्थ्य संघसंस्थामा आजीवन सदस्य, विद्यालयहरुमा आजीवन सदस्य समेत छन् । २०५० मा स्वास्थ्यकर्मीको जागिर छाडेपछि त्यसयता उनी निरन्तर पार्टीमा क्रियाशील छन् । मिलनसार र नम्र स्वभावका कुँवर ईमान्दार कार्यकर्ताका रुपमा चिनिन्छन् । लामो समयदेखि पार्टीमा योगदान गरेका कुँवरलाई सिफारिस भएका ३३ जना नाममध्येबाट उम्मेदवारका रुपमा छनौट ग¥यो । राम्रो पोखरा, हाम्रो पोखरा, सुविधायुक्त शहर हाम्रो रहर मुल मन्त्रका साथ उनी चुनावी अभियानमा होमिएका छन् ।
……………………………………………………………………………………………………………..
पोखरा सम्भावनाको शहर हो । विश्वका सुन्दर शहरहरु बनाईएका हुन् । प्राकृतिक सम्पदाले भरिपूर्ण पोखरा आफै बनेको शहर हो । तर हाम्रै कारण पोखराको अवस्था दयनीय बनेको छ । अब ढिलो गर्न हुँदैन । पोखरा लेखनाथ महानगर मुलुककै ठूलो शहर बनेको छ । अब अन्तर्राष्ट्रिय शहर बन्ने क्रममा छ । अहिले वर्षेनी पाँच लाखको हाराहारीमा मात्र यहाँ घुम्नका लागि पर्यटक आउँछन् । पाँच वर्षभित्र पोखरामा वार्षिक ५० लाख पर्यटक भित्राउन सक्छौं ।
पोखरा लेखनाथ महानगरपालिका व्यवस्थित, आधुनिक र पर्यटकीय आकर्षणयुक्त बन्नेछ । प्रदुषणमुक्त पोखरा आजको आवश्यकता हो । सबैले स्वच्छ र सफा शहरका रुपमा चिनिएको पोखरालाई प्रदुषणमुक्त बनाउनु अपरिहार्य छ । सडकका पोलहरुमा यस्ता भद्रगोल तारहरु झुण्डिनेछैनन् । पोखरामा सार्वजनिक पार्कहरु छैनन् । विज्ञहरुको सल्लाहमा पायक स्थानमा तत्काल काम सुरु गर्नेछु । सेवाप्रवाह चुस्त दुरुस्त बनाउनेछु । शुन्य भ्रष्टाचार, सुशासनयुक्त शहर, सुरक्षा प्रबन्ध, ट्राफिक व्यवस्थापन, पार्किङ एरिया व्यवस्थापन महानगरबासीले सोचेअनुरुप हुनेछन् ।
पर्यटकीय नगरी पोखरालाई शिक्षा, स्वास्थ्य, खेलकूदको केन्द्र बनाईनुपर्छ । पोखरा प्रादेशिक राजधानी समेत बन्दैछ । अन्तर्राष्ट्रिय विमानस्थल यहीं बन्दैछ । कोरला नाका पोखराबाटै जोडिन्छ । लुम्बिनी रेलमार्गले जोड्न सक्छौं ।
पोखरा स्मार्ट सिटीको अवधारणाबमोजिम पूर्वाधार विकास गर्नेछौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ढिलाई गर्नुहुँदैन । पोखरेलीको सपना हो विमानस्थल । अब निर्माण सुरु गर्ने अवस्थामा पनि अन्यौलता कायर्म रहनु दुर्भाग्यपूर्ण छ । २०२० सम्ममा उडान भर्ने गरी काम सुरु गर्न पहल हुनेछ ।
पोखरा बसपार्कका लागि अतिक्रमित जग्गा फिर्ता मुख्य समस्या हो । सुकुम्बासी समस्या तीन वर्षमा समाधान गर्नेछु । उनीहरुलाई लालपूर्जा मात्र दिएर हुँदैन घर नै बनाईदिनुपर्ने हुन्छ । तल्लो गगनगौंडामा अर्को बसपार्क बन्नेछ ।
यहाँ सुहाँउदो औद्योगिक क्षेत्र उचित स्थानमा बन्नेछन् । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई प्रभावकारी बनाउन मेरो जोडबल रहनेछ । यसलाई व्यापकता दिएर पोखरा लेखनाथबासीको हितमा काम गर्नेछु । अझै पनि प्रभावकारी शिक्षण अस्पताल, ठूला रोग तथा गम्भिर अवस्थाका बिरामीलाई उपचार गर्न काठमाडौं नै लैजानुपर्ने बाध्यकारी अवस्था छ । प्रदेश राजधानी पोखरा लेखनाथ महानगरपालिकामा यथासक्य चाँडो यस समस्या सम्बोधन हुनेछ ।
ग्रेटर पोखरा लेखनाथको अवधारणा अघि बढिसकेको सन्दर्भमा अब एकै महानगर भएकाले रिङरोडको काम विज्ञको सल्लाहमा सुरु हुनेछ । पोखरालाई बेरोजगार मुक्त शहर बनाउन म लागिपर्नेछु । युवाहरु रोजगारीका लागि विदेश जानुपर्नेछैन । गरीबि महिलालाई सीप विकास तालिम, आत्मनिर्भर बनाउन सहकारी अभियानमा सामेल गराईनेछ । सार्वजनिक सौचालयको व्यवस्था तत्काल हुनेछन् । सडकबत्ती जोडिनेछन् । आकाशेपुल तथा भूमिगत सडकको सम्भाव्यता थालनी गरिनेछ । सिटी मेट्रो ट्रेन सञ्चालन गर्न सकिनेछ ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको टड्कारो आवश्यकता छ । विदेशी सम्मेलन हुँदा होटलहरुमा गर्नुपर्ने बाध्यता छ । अब हामी सुविधासम्पन्न सम्मेलनकेन्द्र निर्माणमा जुट्नुछ । पृथ्वीनारायण क्याम्पसलाई स्तरबृद्धि, १२ कक्षासम्म अनिवार्य निःशुल्क शिक्षा, प्राविधिक शिक्षामा जोड, सरकारी विद्यालयलाई प्राईभेट सरहको गुणस्तरमा ध्यान दिईनेछ ।
पोखरा लेखनाथ महानगरपालिकामा ग्रामिण भेकहरु पनि छन् । पाँच वर्षभित्र मुख्य बजार क्षेत्रका सेवा सुविधा गाउँ गाउँ पुग्नेछन् । कच्ची सडक पुरै पिच गरिनेछन् । बालश्रम मुक्त र बालमैत्री महानगर बन्नेछ । रात्रीकालीन सिटीबस सञ्चालन हुनेछन् । नो कस्ट, लो कस्ट र कस्टको आधारमा विकास निर्माण प्रक्रिया अघि बढ्नेछन् । नीतिगत व्यवस्थाले हुने कुराहरुमा लगानी गर्न जरुरी हुँदैन । नो कस्ट योजना तत्काल सुरु हुनेछन् ।
धाराबाट सोझै पिउन सकिने खानेपानी महानगरबासीले पिउने अवस्था बनाउनेछु । ड्रिन्किङ वाटर मात्र होईन सेफ ड्रिन्किङ वाटर मेरो प्रतिबद्धता हो । फोहोर व्यवस्थापनसँगै फोहोरबाट उर्जाको उत्पादन गर्न सकिनेछ ।
अपांगमैत्री सार्वजनिक पूर्वाधार निर्माण गरिनेछ । अन्तर्राष्ट्रियस्तरका प्रतियोगिता सञ्चालन गर्ने गरी फुटबल र क्रिकेट रंगशालाका साथै खेल पर्यटनका लागि आवश्यक पूर्वाधार र विकासमा जोड दिनेछनु । चिडियाखाना निर्माणलाई पूर्णता, साहित्य कला संगित संस्कृतिको उर्वर महानगरलाई साहित्यिक र सांस्कृतिक केन्द्रका रुपमा विकास गर्नछु । निजी क्षेत्रसँग समन्वय र सहकाय गरी लगानीका अवसरको खोजी तथा वातावरण तयारी गरी रोजगार प्रवद्र्धनमा जोड रहनेछ ।
यस महानगरमा रहेका अथाह जनशक्ति, प्राकृतिक स्रोत साधनलाई उचित प्रबन्ध र व्यवस्थापन गर्न सक्ने नेतृत्व प्रदान गर्न सक्नेमा विश्वस्त छु । स्थानीयस्तरबाटै धारणा संकलन गरेर विकास कहाँबाट सुरु गर्ने मेरो योजना छ। समृद्ध पोखरा मेरो सपना हो, यसलाई म पूरा गरेरै छाड्छु।
प्रस्तुतिः रञ्जन अधिकारी
