
नेपाली काँग्रेसकी युवा नेतृ सरस्वती गुरुङलाई नेपाली काँग्रेसले १५ जनामध्येबाट पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुख पदमा टिकट दिएको छ । लामो समय सञ्चारकर्ममा व्यतित गरेकी गुरुङ काँग्रेसकै गाउँमा जन्मेको भन्दै आफूलाई चिनाउँछिन् । पार्टीमा ब्याक लाईनमै बसेर सहयोग गर्दै आएकी गुरुङ अब पोखरा बनाउने अठोटका साथ फ्रण्ट लाईनमा उभिएकी छिन् । २०३३ साल साउन १ गते स्याङ्जा सिरुबारीमा जन्मेकी गुरुङ २०४६ सालदेखि नै पार्टी चिनिन् । २०४८ सालमा नेबिसंघमा आबद्ध भएर अघि बढेकी उनी नेपाल शिक्षक संघकी सदस्य समेत बनिन् । २०५४ सालमा नेपाल महिला संघको सदस्यसँगै काँग्रेसको क्रियाशील सदस्य बनिन् । पोलिटिकल साईन्समा स्नातक गरेकी गुरुङ रेडियो अन्नपूर्णको स्थापनकालदेखि नै १६ वर्षदेखि सञ्चार क्षेत्रमा छिन् । उनकी कास्की आवाज दैनिकको अध्यक्ष समेत हुन् । केहि समय शिक्षण पेशा समेत अंगालेकी गुरुङले हङकङ आईडी प्राप्त गर्दा समेत गईनन् । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध गुरुङ तमु धिं नेपालकी प्रथम उपाध्यक्ष, रोटरी क्लब अफ मिडटाउनकी कोषाध्यक्ष, उपभोक्ता मञ्च कास्कीकी कोषाध्यक्ष, थुम्रो ईन्टरनेशनल प्रालिकी प्रबन्ध निर्देशक पनि हुन् । उनी भूकम्पपीडितका लागि तमु धिंले सुरु गरेको पुनस्र्थापना अभियानकी सञ्चार संयोजक समेत रहिन् भने गीतकार समेत हुन् । सुन्दर पोखरा शहर, स्मार्ट सिटी बनाउने हाम्रो रहर मूल नाराका साथ उनी चुनावी प्रचारप्रसार अभियानमा जुटेकी छिन् ।
पोखराको सौन्दर्यबाट सबै मोहित छन् । विश्वका कुनाकुनाबाट पोखरा घुम्न आउँछन् । नेपाल नचिन्नेले पोखरा चिन्छन् । तर पोखरा हामीले बिगारिसकेका छौं । पोखरा बनाउने हामी आफैले हो ।
पोखरामा लेखनाथ समेत मिसिएपछि तालैतालको शहर बनेको छ । अब पोखरालाई जसरी विकास गर्न चाहेपनि सकिन्छ मात्र ईच्छाशक्तिको अभाव हो । सुकुम्बासी विहीन शहर, सडक बालबालिका विहीन शहर, महानगरबासीको अनिवार्य स्वास्थ्य बीमा, साहित्य र कलाको विकास, पर्यटनमा समानुपातिक सहभागिताको योजना, अन्तर्राष्ट्रिय फुटबल मैदान र क्रिकेट स्टेडियम, गाउँपालिकाहरु जोड्ने पक्की सडक, सिमसार संरक्षण, आठवटै ताललाई जोड्ने साइकल सडक, पर्यटन गन्तव्यमा विविधिकरण, एक घर एक रोजगारी, दैवी प्रकोप व्यवस्थापन मेरो प्राथमिकतामा छन् ।
प्रविधिमा जनताको सहज पहुँच, नागरिक सहभागिता, प्रविधिमैत्री सुशासन, गतिशील शहर, फोहोरको पुनप्र्रपयोग, खानेपानी र सरफाई, पर्याप्त उर्जा वितरण, चौबिसै घण्टा सार्वजनिक यातायातले मात्र स्मार्ट सिटीको परिकल्पना साकार हुनेछ । म पोखरा लेखनाथ महानगरपालिकालाई स्मार्ट सिटीको सपना देखिरहेको छु ।
पोखरामा अझै पनि शिक्षामा समानता छैन । पर्यटकीय नगरी भनेपछि सडकबालबालिका मुक्त हुनैपर्दछ । बालमैत्री नगर, आत्मनिर्भर महिलाहरुको शहर बनाउनमा म केन्द्रित रहनेछु । शिक्षण संस्थाहरु विश्वविद्यालय स्तरका खडा गर्नुपर्ने आवश्यकता छ । कृषि तथा प्राविधिक शिक्षालयहरुको स्थापना गरेर चाहेजस्तै विषय पढ्न यही पूर्वाधार विकास गर्नुपर्नेछ ।
हरेक वडाको कम्तिमा एउटा सामुदायिक विद्यालय सवलिकरण गरिनेछ । दलित र गरिब परिवारका बालबालिकालाई निशुल्क शिक्षा, अन्यलाई सहुलयतपूर्ण शिक्षाको व्यवस्था गरिनेछ । हरेक वडा कार्यालयमा पुस्तकालय स्थापना हुनेछन् ।
भूगोलले मुलुककै ठूलो महानगर भएपनि यहाँ अस्पतालहरु पर्याप्त छैनन् । विभिन्न शिक्षण अस्पतालहरुको टड्कारो आवश्यकता छ । अन्तर्राष्ट्रिय विमानस्थल कुरेको चार दशक बढि भयो । बन्नैलाग्दा विभिन्न बाधा देखिएका छन् । अब यो समस्या सल्टाउन जरुरी छ । अन्तर्राष्ट्रिय नगरीमा चाहिने बसपार्क, होटल, सडकको विकास अपरिहार्य छ ।
सडक कसैको पेवा होईन तर बाध्यताले सडकमा अस्तव्यस्त तरिकाले पार्क गर्नुपर्ने बाध्यता छ । पार्किङ व्यवस्थापन, ट्राफिक अस्तब्यस्तता प्रमुख समस्या हो । अब पार्किङका लागि जग्गाको व्यवस्था गरेर सडकमा कहिँ कतै पार्क भएको देख्नुहुन्न । खेलकुदको राजधानी समेत बन्ने सम्भावना रहेको पश्चिम क्षेत्रमा पर्ने यो महानगरमा आवश्यक पूर्वाधारको विकास जरुरी छ । फुटबल, क्रिकेट, भलिबल, गल्फ लगायतका खेलहरुको आधुनिक रंगशालाहरुको निर्माण, साहसिक खेलहरुको प्रवद्र्धन जरुरी छ ।
युवा पुस्तालाई खेलप्रति आकर्षण बढाउन विभिन्न कार्यक्रमहरु अघि सारिनेछ । पोखराका कार्यालयहरुमा छिटोछरितो सेवा प्रदान हुनेछन् । पोखरेलीको घरघरमा शुद्ध खानेपानी जोडिनेछ । हरेक वडामा संगीत, चित्रकला, मुर्तिकला, व्यावसायिक तालिमको आवधिक व्यवस्था गरिनेछ ।
पोखरा सांस्कृतिक वैभव र प्राकृतिक सौन्दर्य सम्पदाका कारण अन्तर्राष्ट्रिय स्तरमा आकर्षणको केन्द्र बनेको छ । यहाँको संस्कृतिको जगेर्नासँगै व्यवस्थित सञ्चार, ढल निकासलाई प्रभावकारी बनाईनेछ । कृषि उद्यमशिलता आजको आवश्यकता नाराका साथ कृषिको आधुनिकीकरण, औद्योगिकरण गरिनेछ ।
अतिक्रमणमा परेका ताल तलैया, खोलाहरुबाट संरचना हटाउन आवश्यक पहल गरिनेछ । अपांगमैत्री सार्वजनिक पूर्वाधार निर्माण, बस्ती व्यवस्थापनमा ध्यान दिईनेछ ।
प्रस्तुतिः रञ्जन अधिकारी
