
रञ्जन अधिकारी पोखरा, २९ वैशाख / खड्कसिंह गुरुङ जापान छिरेको दुई दशक नाघ्यो । माझठाना पात्लेका यी गुरुङ ठिटो २० वर्ष अघि २० वर्षकै उमेरमा नेपाल छाडे तर ज्यानले जन्मेको स्थान छाडेपनि मनले गाउँघर छाड्न सकेन । आफ्नो गाउँमा पढेको विद्यालयलाई गुन लगाएर यसलाई पुष्टि गरेका छन् । खड्कको सहयोगबाट माझाठानाबासीको मन फुरुक्क छ।
पोखरा लेखनाथ महानगरपालिका २८, माझठानामा रहेको रत्नशोभा माविका प्रधानाध्यापक गोपालबहादुर बुढाथोकी खड्कसिंहकै विशेष सहयोगमा निर्माण सम्पन्न भवन हस्तान्तरणको बखत निकै हौसिए । ‘यही विद्यालयमा पढेको विद्यार्थीले यति ठूलो सहयोग गरे । अत्यन्त खुशी लागेको छ ।’ बुढाथोकीले छाती फुलाएर भने– ‘खड्कसिंह जस्ता मान्छे पाउन मुस्किल छ । समाजलाई उनीजस्ता धेरै पनि चाहिँदैन, पाँच जना जति भए पुग्छ ।’ ५८ वर्ष अघि स्थापित विद्यालय उमेरको हिसाबले बृद्धअवस्थामा लागिसकेपनि आजको मितिसम्म कोहिबाट व्यक्तिगत रुपमा यसरी सहयोग नआएको उनले सुनाए ।
गाउँको विद्यालयको अवस्था दयनीय रहेको थाहा पाएका खड्कले सुविधासम्पन्न भवन निर्माण गर्ने पहलकदमी लिए । साथीभाइमाझ आफ्नो योजना सुनाए, अपुग रकम आफ्नै गोजीबाट हाले । अहिले सो विद्यालय परिसरमा सरकारले दुई तले चार कोठे पक्की भवन बनाएको छ । त्यसकै आडमा खड्कसिंह गुरुङले आफ्ना बुबा जुमबहादुर गुरुङको स्मृतिमा दुई तले, दुई कोठे भवन बनाईदिएका हुन् ।
भवन निर्माण समितिका अध्यक्ष लिलबहादुर थापाका अनुसार भवन बनाउन २७ लाख ५० हजार खर्च भएको छ । चन्दादाताबाट सात लाख ६७ हजार संकलन भयो भने अपुग १९ लाख ८२ हजार खड्कसिंहले ब्यहोरेका हुन् ।
गत साउन ५ गते बुबाकै स्मृति दिवसका दिन शिलान्यास भएको उक्त भवन १० महिनामै निर्माणकार्य सम्पन्न भयो । श्रीमती जस्मी गुरुङले शिलान्याश गरेको भवन चिजकौरी गुरुङको हातबाट विद्यालयलाई हस्तान्तरण गरियो । कास्कीका जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलको आतिथ्यतामा विद्यालय व्यवस्थापन समिति कार्यवाहक अध्यक्ष नारायणी पौडेल, प्रधानाध्यापक गोपालबहादुर बुढाथोकीले संयुक्त रुपमा भवनको तालाचाबी बुझे । खड्कसिंहको परिवार हाल पोखरा शितलादेवी बस्दै आएको छ । २०६७ साउन ५ गते स्वर्गे भएका जुमबहादुरका चार छोरामध्ये खड्कसिंह कान्छा हुन् । गाउँलेका ‘कान्छा’ उनी सबैका प्रिय छन् । बुबाको नाममा कान्छो भाइले पुण्यको काम गरेको भन्दै ठूलो दाजु मानबहादुर गुरुङ कार्यक्रममै भक्कानिए ।
सञ्चारकर्मी समेत रहेका खड्कसिंह जापानमा डिजिटल फोटोग्राफी तथा भिडियोग्राफी सम्बन्धी व्यवसायमा संलग्न छन् । उनको अनुपस्थितिमा यहाँको सबै व्यवस्थापनको जिम्मा उनका अनन्य मित्र समाजसेवी विश्व श्रेष्ठले लिए ।
कक्षा १२ सम्म पढाई हुने सो विद्यालयमा सरकारी सहयोगमा ४६ लाख लागतको चार कोठे पक्कि भवन सहित यो भवन बनेपछि भौतिक पूर्वाधारमा फड्को मारेको बताउँछन् विद्यालयका सहायक प्रअ श्यामबहादुर केसी । विद्यालयमा अर्को आधुनिक ठूलो भवन पनि छ । उनका अनुसार विद्यालयमा तीन सय ९० विद्यार्थी र २७ जना शिक्षक छन् ।

पोखरा लेखनाथ २८, माझठानामा रहेको रत्नशोभा माविका विद्यार्थीहरु
यसैबीच, रत्नशोभा माध्यमिक विद्यालयले ५८ औं वार्षिकोत्सव समेत मनाएको छ । १० महिनामा भवन निर्माण कार्य सम्पन्न गरी वार्षिकोत्सवकै अवसरमा गुरुङ परिवारले भवन विद्यालयलाई हस्तान्तरण गरेको हो । कास्कीका जिशिअ नन्दलाल पौडेलले आफूलाई बनाएको विद्यालयलाई गुरुङले आफै बनाईदिनु प्रशंसायोग्य कार्य भएको बताए । उनले सरकारी विद्यालयमा विद्यार्थी संख्या कम हुनु, गुणस्तरीय पठनपाठन नहुनुको कारण खोजी गर्नुपर्ने आवश्यकता औंल्याउँदै प्रति विद्यार्थी सरकारले वार्षिक ४० हजार खर्च गर्नुपरेकोबारे स्मरण गराए । गुरुङकी धर्मपत्नी जश्मी गुरुङ, विद्यालयका शिक्षक कालीप्रसाद भुर्तेल लगायतले सो अवसरमा बोलेका थिए ।

