
वैशाख ३०/ चेल्सीले २ खेल खेल्न बाँकी रहँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। वेष्ट ब्रोमलाई १–० ले हराउँदै चेल्सीले उपाधि जितेको हो । चेल्सीको यो छैटौं प्रिमियर लिग उपाधि हो।
शनिवार बिहान वेष्ट ब्रुमको घरेलु मैदानमा जितका लागि चेल्सीले निकै मेहनत गर्नु पर्यो। चेल्सीको जितमा मिसी बात्सुईले खेलको अन्तिम तिर गरेको गोल निर्णयक बन्यो । अवे मैदानमा भएको खेलमा चेल्सी पहिलो हाफमा गोल रहित बराबरीमा रोकियो । दोस्रो हाफमा पनि गोल गर्न निकै संघर्ष गर्नु पर्यो । तर सबस्टिच्युडको रुपमा मैदान आएका बात्सुईले ८२ औं मिनेटमा गोल गर्दै चेल्सीलाई उपाधि दिलाए ।

यसअघि २०१५ मा चेल्सीले उपाधि जितेको थियो। गत वर्ष १० औं स्थानमा रहँदै यो क्लबले सबैभन्दा खराब प्रदर्शन गरेको थियो। यसपालि लिग जित्न चेल्सीले अंक तालिकामा दोस्रो स्थानमा रहेको टोटेनहामभन्दा १० अंकको अग्रता बनायो। चेल्सी ३६ खेलमा ८७ अंक जोडेर लिग विजेता बन्यो। उसले अझै २ खेल खेल्न बाँकी छ। टोटेनहामको ३५ खेलमा ७७ अंक छ।

चेल्सीले अर्को उपाधिको पनि तयारी गरेको छ । चेल्सीले यही मे २७ मा एफए कपको उपाधिका लागि आर्सनलसँग खेल्दै छ । चेल्सीले पछिल्लो तीन सिजनमा दोस्रो पटक लिगको उपाधि जितेको हो ।


