
पोखरा १७ को मतगणनाका क्रममा फर्जी मत भेटिएको आरोप लगाउदै एमाले बाहेक दलका प्रतिनिधिहरु वाहिरिएपछि पोखरा लेखनाथ महानगरको सम्पूर्ण मतगणना स्थगित भएको छ । पोखरा १७ मा १५ सय भन्दा बढी मत गणना भएपछि दिउसो फर्जी मत भेटिएको भन्दै एमाले बाहेकका दलले मतगणना बहिस्कार गरेका छन् ।
फरक रंग र साविकको भन्दा ठूलो आकारको छाप लगाएको ८ भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित भएको हो । सूर्य चिन्हमा फरक रंग र फरक स्वस्तिक छाप सहित एउटै मतपत्रमा मतदान अधिकृतको दुईवटा हस्ताक्षर भेटिएपछि मतगणना स्थगित गर्न माग गरिएको मतगणनामा खटिएका कांग्रेस प्रतिनिधि युवक लामिछानेले बताए ।
फर्जी मत बारे अनुसन्धान हुनुपर्ने र सत्यतथ्य वाहिर आएपछि मात्रै मतगणना सुरु गर्नुपर्ने कांग्रेसको माग छ । साथै वडानम्बर १७ को विवाद टुङ्गो नलागेसम्म अन्य वडाको पनि मतगणना हुन नदिने अडान छ । १६, १७, १८ र १९ नम्बर वडाको मतगणना जारी थियो । साथै एमाले बाहेकका दलले विवादित वडामा पुन ः निर्वाचनको माग समेत गरेका छन् ।
निर्वाचन आयोगले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन । क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीले पार्टी प्रतिनिधीहरुसँग बैठक पछि मतगणना सुरु हुने दाबी गरेपनि सर्वपक्षीय छलफलमा कुनै सहमति हुन नसकेको बताईन्छ । उनले फर्जी मत नभएको जिकिर गरेका छन् । फर्जी भनिएको मतपत्रमा साविकको भन्दा चाक्लो स्वस्तिक छाप देखिएको सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले स्विकारेका छन् ।
प्रयोग गरिएको भन्दा चाक्लो स्वस्तिक छाप देखिएको सहायक निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले बताए । ‘२०७० सालमा प्रयोग गरिएको जस्तो छाप देखिएको छ । अहिलेको छाप यस्तो छैन, उनले भने–आयोगले केही ठाउँमा पहिले कै छाप पठाएको भन्ने पनि सुनिएको हो । हामी बुझ्दै छौं ।’
एमाले बाहेक अन्य दलका एजेण्टहरु मतगणना स्थलबाट निस्किएका छन् ।
