
अमृत सुवेदी , पोखरा, १७ जेठ / ‘प्रश्नहरू खोजका खातिर जन्मन्छन्। ठीक र बेठीक छुट्याउनका लागि जन्मिँदैनन्,’ पैताला लेखक गनेस पौडेलले उपन्यासको रहस्य उद्घाटन गर्दै भने, ‘पैताला प्रश्नहरुको उत्तर होइन। यो त उत्तरमाथिको प्रश्न हो। खोजको प्रश्न र सत्यमाथिको प्रश्न हो।’
गएको शनिबारदेखि काठमाडौंबाट पैताला उपन्यास बजारमा ल्याएका लेखक गनेस पौडेल सोमबार पोखरामा गृह लोकार्पण गरेर मंगलबार बागलुङमा छलफलका लागि पुगे। पौडेलले पैताला उपन्यासको उद्गम र यसले उठाएको विषयमाथि पाठकलाई बुझाउने कोसिस गरे। नयाँ विश्व अनलाइन र बुक हिलले लेखक र पाठकबीच साक्षात्कार गराएको हो।
पैतालाको दर्शनलाई तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको पौडेलले स्पष्ट पारे। ‘पूर्वीय दर्शनमा तन्त्र, मन्त्र र यन्त्र छ। तन्त्र भनेको विधि, मन्त्र भनेको शब्द वा ध्वनि र यन्त्र भनेको साधन वा ज्यामिति हो,’ पौडेलले स्पष्ट पारे, ‘मन्त्रलाई विधिपूर्वक भनियो भने मात्र त्यसले असर देखाउँछ। यी दुईको प्रयोग कसरी गर्ने भन्ने जुन तरिका खोजिन्छ नि, त्यो तन्त्र हो । कथालेखन पनि एउटा विधि त हो नि! मैले पैतालाको दर्शनलाई तन्त्र, मन्त्र र यन्त्रले निर्माण गरेको छु । यो तान्त्रिक उपन्यास हो।’
पैताला’ कथा वाचन र सत्यको विम्व हो भन्ने कुरा आफूलाई लागिरहेकै कारण उपन्यास पैताला जन्मेको उनले बताए। ‘मलाई के लाग्थ्यो भने, सभ्यता विकासको मूल सत्य केही हो भने पैताला पो हो,’ उनले भने। टाउको, गर्धन, मन वा ह्दय, पेट र यौनसम्म आइपुगेको सत्य त्यहाँबाट तल नझरेको पौडेको भनाइ थियो। ‘शास्त्रीय भौतिकवादीहरूले टाउकोलाई सत्य माने। औद्योगिक क्रान्ति र पुँजीवादको विकासपछि उपनिवेश फैलायो र सत्य टाउकोबाट खसेर गर्धनमा आयो। मान्छेको गर्धन काट्ने र उपनिवेश फैलाउने। युद्धको वीभत्सता देखेर मानवता जागेपछि मानवअधिकारका कुरा आए र समाजको सत्य छातीमा अर्थात् हृदयमा झर्यो,’ पौडेलले थपे, ‘माक्र्सवादले सत्यलाई पेटमा झारिदियो र सिग्मन्ड फ्रायडले सत्यलाई यौनांगमा झारे । त्यसभन्दा तल झरेन । मलाई लाग्यो खास सत्य त पैताला हो । मैले उपन्यासमा यही सत्यलाई बुन्ने प्रयास गरेको छु।’
पौडेलले देशका विभिन्न ठाउँमा पुगेर कथाका पात्र तयार पारेको र कथा बुनोट गरेको जानकारी दिए। ‘पैताला’ परम्परागत उपन्यासभन्दा फरक भएकाले पाठकले नयाँ स्वाद पाउने बताए।
लेखक कुमार नगरकोटीले परम्परागत नेपाली उपन्यासमा पाठकको सम्बन्ध बिच्छेत हुने क्रम बढ्दै गइरहेका बेला पौडेलले नेपालमा अहिलेसम्म नलेखिएको नयाँ कथा लेखेको बताए। नयाँ लेखन शैली, कथा, पात्र, पढ्दै जाँदा छुट्टै संसारमा पुगेको अनुभुती आफूले गरेको उनले सुनाए। लेखक पौडेलले उपन्यासको बढी चर्चा गर्नुभन्दा पढेर सल्लाह, सुझाव दिन आग्रह गरे।
नेपालमा कथा लेखनको सुरूवातदेखि अहिलेसम्म हेर्ने हो भने मौलिक र स्वतन्त्र ढंगले पाठकले खोजेका रचनाहरू कम छन्। हामीले राम्रो विषय वस्तु फरक स्वादमा पस्कनु पर्छ। त्यस मानेमा पैताला उपन्यासले पाठक प्रति न्याय गर्ने साहित्यकार नगरकोटिले बताए। ‘नेपाली साहित्यमा गनेसको यो उपन्यास नयाँ र मौलिक छ। अहिलेसम्म नआएको विषय छ,’ नगरकोटीले भने, ‘उपन्यासका प्रत्येक च्याप्टर छुट्टै उपन्यासजस्ता छन्। यो उपन्यास परम्परागत छैन, हिन्दीको एउटा भनाइजस्तै जरा हट्के छ।’
प्रकाशक बुकहिलका निर्देशक भूपेन्द्र खड्काले नयाँ विषयवस्तु र फरक धारको उपन्यास भएकोले पाठकले मन पराउने बताए। काठमाडौं, पोखरा, बागलुङ हुँदै अघि बढेको उपन्यास ‘पैताला यात्रा’ आउँदो आइतबार चितवन हुँदै देशका विभिन्न सहरमा पुग्ने खड्काले जानकारी दिए।
पत्रिकामा नियमित लेख लेखिरहने गनेसले नेपाली उपन्यासमा नयाँ धारको उपन्यास जन्माएको उनको भनाइ थियो। कार्यक्रमको सहजीकरण मुकेश राजभण्डारीले गरेका थिए। ‘पैताला’का लेखक–पाठक साक्षात्कारमा बागलुङ, पर्वत, म्याग्दी र पोखराका किताबप्रेमी सहभागी थिए।
