स्वागत दिदीबहिनीको रक्तदान कार्यक्रममा ३५ यूनिट रगत संकलन

Share:

रेम बिक
पोखरा, २६ जेठ ।  स्वागत दिदीबहिनी समूहको आयोजनामा भएको विशेष रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा महिलाहरुको सक्रिय सहभागिता रह्यो । त्यस्तै रक्तदान गर्नेहरुमा पुरुषको संख्या पनि उल्लेख्य रह्यो ।

वडा नम्बर १४ को नवनिर्वाचित वडा अध्यक्षलाई बधाईका साथै कार्यकालको शुभकामना दिन आयोजित कार्यक्रमको अवसरमा रक्तदान कार्यक्रमको पनि आयोजना भएको थियो । ‘एउटा सकारात्मक सन्देश जाओस् भन्ने हेतुले हामीले रक्तदानलाई पनि यो कार्यक्रमसँग जोडेका हौँ । र, यो निकै उत्कृष्ट पनि रह्यो ।’ दिदीबहिनी समूहकी अध्यक्ष बिमला बस्यालले भनिन्–‘साथै नवनिर्वाचित वडा अध्यक्ष सहितको टोलीलाई पनि यस्तै सामाजिक गतिविधिमा ध्यान दिन म आग्रह गर्दछु ।’

कार्यक्रममा वडा नम्बर १४ का नवनिर्वाचित अध्यक्ष प्रेमबहादुर कार्कीले महिलाहरुको सक्रियता देखेर आफु निकै प्रभावित भएको बताए । त्यस्तै उनले जनताले आफुलाई केहि गरोस् भनेर नै निर्वाचित गरेकोले आफु त्यसका लागि प्रतिबद्ध भएको बताए । ‘जनताको चाहनाअनुसार नै मैले मेरो कार्यकालमा आफ्नो कार्ययोजना तयार पार्नेछु । र, त्यसैलाई कार्यान्वयन गर्दै जानेछु ।’ वडा नम्बर १४ का अध्यक्ष कार्कीले भने ।

कार्यक्रममा वडा नम्बर १४ का सदस्य ढोलबहादुर गुरुङ, नेपाल रेडक्रस सोसाइटीका जिल्ला कोषाध्यक्ष सुरेन्द्र गुरुङ, नेपाल रेडक्रस सोसाइटी उप शाखा १४ का उपसभापति मथुरा पौडेल, उपत्यका नगर विकास सदस्य माया बराल,वडा नागरिक मञ्च संयोजक पार्वती ढुंगाना, स्वागत टोल विकास संस्था १४ का अध्यक्ष देवीबहादुर केसी लगाएतले बोलेका थिए । उनीहरुले स्वागत दिदीबहिनी समूहको कार्यलाई प्रशंसा गर्दै अझै सक्रिय सामाजिक सेवामुलक काममा अग्रसर भैरहन सुझाव दिएका थिए ।

स्वागत दिदीबहिनी समूहले हालसम्म ५ वटा रक्तदान कार्यक्रमको आयोजना गरिसकेको छ । शुक्रबार भएको कार्यक्रममा समूहकी उपाध्यक्ष सिता पोखरेलले शुभकामना मन्तब्य राखेकी थिईन् भने रश्मी भण्डारी र सिता बरालले कार्यक्रमको संचालन गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: