
पोखरा जेष्ठ ३० / पहिलो चरणको स्थानीय तह निर्वाचनमा चार नम्बर प्रदेश अन्तर्गतका स्थानीय तहमा निर्वाचित प्रमुख र उपप्रमुखलाई आजबाट पोखरामा तालिम दिन सुरु गरिएको छ ।
तालिमको उद्घाटन कार्यक्रममा वक्ताहरुले प्रतिफल आउने गरी काम गनुपर्ने बताएका थिए । महालेखा परीक्षक टंकमणि शर्माले निर्वाचित जनप्रतिनिधिहरुले वित्तीय अनुशासनमा रहि विकास निर्माणदेखि लिएर जनताका कामलाई छिटो–छरितो ढंगले सेवा दिनुपर्ने बताए ।
यस्तै, मुख्यसचिव डा. सोमलाल सुवेदीले जनप्रतिनिधिहरुले आर्थिक विकास र समृद्धिलाई मुख्य प्राथमिकता दिएर काम गनुपर्नेमा जोड दिए । तालिममा पोखरा–लेखनाथ महानगर सहित चार नम्बर प्रदेश अन्तरगतका २६ नगरपालिका र ५८ गाउँपालिकाका प्रमुख र उपप्रमुखको सहभागीता छ ।
स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन आदेश जारी भइसकेको भए पनि कामकारबाही कसरी गर्ने भन्ने अन्योल रहेका बेला जनप्रतिनिधिलाई तालिम दिन थालिएको हो । संघीय प्रणाली र स्थानीय शासन, स्थानीय बित्त व्यवस्थापन, स्थानीय शासन संचालन तथा व्यवस्थापन, योजना निर्माण तथा कार्यान्वयन लगायतका विषयका १२ वटा प्रस्तुति राखिएको छ ।
तीन दिनसम्म चल्ने तालिममा उनीहरुको काम, कर्तव्य र अधिकार बारे पनि स्पष्ट पारिने संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका उपसचिव गुरु सुवेदीले बताउनुभयो ।
