महानगरमा सुलभ स्वास्थ्य सेवा दिन प्रतिवद्ध छौं: जिसी

Share:

पोखरा, ३१ जेठ / पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले महानगरबासीलाई उच्चस्तरीय, चुस्त र सुलभ स्वास्थ्य सेवा पु¥याउन प्रयत्न गरिने बताएका छन् ।

राज्य पुनर्संरचनासँगै स्वास्थ्य क्षेत्र स्थानीय तह मातहतमा आएकाले अब योजनाबद्ध रुपमा सबैको स्वास्थ्यमा पहुँच हुने गरी काम गर्न प्रयास गरिने उनको भनाइ छ । जिसीले यहाँका स्वास्थ्य संस्था, चिकित्सक र स्वास्थ्यकर्मीले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए । पोखराको सभागृहचोकमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले आयोजना गरेको कार्यक्रमा उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा युआरएलका अध्यक्ष चेतबहादुर गुरुङ र प्रबन्ध निर्देशक ठाकुर प्रसाद पन्तले पोखराका मेयर मानबहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ र वडा नं. ८ का वडाध्यक्ष रुद्रनाथ बराललाई बधाई ज्ञापन गरे । यसैबीच, युआरएलले शुक्रबार कास्की र आसपासका अस्पताल, क्लिनिक, पोलिक्लिनिकका प्रयोगशालाका सञ्चालक र प्राविधिकलाई गुणस्तर तथा प्रविधिसम्बन्धी प्रशिक्षण दिएको छ । कार्यक्रममा मेडिकल प्रयोगशाला विज्ञ सुशील थापाले प्रयोगशालाको क्षेत्रमा भएका नयाँ आविष्कार, प्रविधि र नयाँ परीक्षणबारे प्रकाश पारेका थिए । उनले अत्याधुनिक प्रविधि र दक्ष जनशक्ति प्रयोग गरेर गुणस्तरीय रिपोर्ट दिन अपनाउनुपर्ने सतर्कताबारे प्रकाश पारे ।

वरिष्ठ प्याथोलोजिस्ट डा. दिलास्मा घर्तीमगरले हेमाटोलोजी, साइटोलोजी र हिस्टोप्याथोलोजीबारे प्रकाश पारेकी थिइन् । युआरयलका ल्याब साइन्टिफिक अफिसर भूपेन्द्रराज पाण्डेयले अन्तर्राष्ट्रिय स्तरको विश्वकै सर्वाेत्कृष्ट प्रविधिबाट युआरएलमा कसरी रक्त परीक्षण गरिन्छ भन्नेबारे प्रकाश पारेका थिए । उनले गुणस्तरीय रिपार्ट दिन स्याम्पल कलेक्सनदेखि रिपोर्ट दिने चरणसम्मै सजग र सावधानीपूर्वक कार्यसम्पादन जरुरी हुने औंल्याए । प्रशिक्षका सहभागीले प्रयोगशालाका नयाँ प्रविधि, परीक्षण गर्दा आउनसक्ने अप्ठ्याराहरु, गुणस्तरीय रिपोर्ट दिन अपनाउनुपर्ने सावधानी आदिबारे जिज्ञाशा राखेका थिए ।

युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले सर्वसाधारणलाई गुणस्तरीय रिपोर्ट दिन र यस क्षेत्रका ल्याब सञ्चालक र प्राविधिकलाई सजग र नयाँ प्रविधिबारे जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । ८५ जना सहभागी कार्यक्रमको अध्यक्षता युआरएलका अध्यक्ष चेतबहादुर गुरुङले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: