
असार २ / माध्यमिक शिक्षा परीक्षा एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ जना उत्तीर्ण भएका छन् भने एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन्।
परीक्षाको नतिजा हेर्नका लागि १६०० मा डायल गर्न सकिनेछ। परीक्षा नियन्त्रण कार्यालय र नेपाल टेलिकमको वेबसाईटमा नतिजा राखिएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए।
यसरी हेर्नुहोस् रिजल्ट
एसइइको परीक्षाफल नेपाल टेलिकमको नेटवर्कबाट थाहा पाउन सकिनेछ। साधारण टेलिफोन लाइन, जिएसएम पोष्टपेड, प्रिपेड तथा सिडिएमए फोनबाट १६०० डायल गरी नतिजा थाहा पाउन सकिने टेलिकमले जनाएको छ।
टेलिकमले एसएमएसमार्फत् पनि परीक्षाफल हेर्ने व्यवस्था गरेको छ। जिएसएम तथा सिडिएमए मोबाइल प्रयोगकर्ताले मेसेज बक्समा गएर see<space>symol number र अल्फावेट वा see<space>symbol number टाइप गरी १६०० मा एसएमस पठाउन सकिनेछ।
मार्कसिटसहितको नतिजा see.ntc.net.np मा उपलब्ध हुनेछ।
शिक्षा मन्त्रालयको वेबसाइट एमओइ डट जिओभी डट एनपी, शिक्षा विभागको वेबसाइट डिओइ डट जिओभी डट एनपी, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीको वेबसाइट एसओसिइ डट जिओभी डट एनपीबाट पनि परीक्षाफल हेर्न सकिनेछ।
एसईई पूरक साउन १९ गतेदेखि
एसईई पूरक (ग्रेडवृद्धि) परीक्षा आगामी साउन १९ गते बिहीबारदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।
कर्यक्रम अनुसार १९ गते अनिवार्य अङ्ग्रेजी र वेदविद्याश्रमतर्फ: अनिवार्य संस्कृत भाषा र साहित्य, अनिवार्य अङ्ग्रेजी, २० गते अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी, साउन २१ गते अनिवार्य गणित, २२ गते अनिवार्य विज्ञान र वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत ब्याकरण तथा अनुवाद विषयको परीक्षा सञ्चालन हुनेछ।
त्यसैगरी साउन २३ गते अनिवार्य सामाजिक अध्ययन, साउन २४ गते अनिवार्य स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा र वेदविद्याश्रमतर्फ अनिवार्य कर्मकाण्ड, अनिवार्य फलित ज्योतिष, संस्कृततर्फ: अनिवार्य संस्कृत भाषा, साउन २५ ऐच्छिक प्रथमपत्रका सबै विषय र साउन २६ गते ऐच्छिक द्वितीयपत्रका सबै विषयको परीक्षा सञ्चालन हुने भएको छ । रासस
