
पोखरा, ४ असार । सरकारले यसै सातादेखि उपत्यकाबाहिर पनि स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण प्रक्रिया सुरु गर्ने भएको छ । यातायात व्यवस्था विभागले उपत्यकाबाहिर पहिलोपटक पोखरामा यसै साताबाट स्मार्ट लाइसेन्सका लागि आवेदन लिन सुरु गर्ने जनाएको छ ।
यसै महिनाभित्र अन्य १२ वटै अञ्चल यातायात ब्यवस्था कार्यालयमा स्मार्ट लाइसेन्स वितरणको लागि तयारी सक्ने विभागका महानिर्देशक रुप नारायण भट्टराईले जानकारी दिए ।
विभागले २०७२ को गत मंसिर महिनादेखि काठमाडौंमा स्मार्ट लाइसेन्स वितरण सुरु गरेको थियो । दोस्रो चरणमा अब अञ्चल यातायात कार्यालय पोखराबाट उपत्यका बाहिर पनि स्मार्ट लाइसेन्स वितरण सुरु गर्ने तयारी गरिरहेको महानिर्देशक भट्टराईले बताए ।
विभागले सबै यातायात कार्यालयमा स्मार्ट लाइसेन्सका लागि कम्प्युटरसहित सबै हार्डवेयरहरु जडान गरिसकेको छ । सोमबार स्मार्ट लाइसेन्सको सफ्टेवर जडानका लागि मद्रसास सेक्युरेटी प्रिन्टर्सको टोली पोखरा आउँदैछ । मंगलबारबाट स्मार्ट लाइसेन्स वितरण्का लागि प्रक्रिया थाल्ने गरी काम गरिने भट्टराईले बताए ।
उपत्यकाबाहिर पनि नयाँ लाइसेन्स लिने, वर्ग थप्ने, नवीककरण गर्ने र प्रतिलिपि बनाउनेले मात्रै स्मार्ट लाइसेन्स पाउनेछन् । उपत्यकाबाहिर सेवा विस्तारका विषयमा तयारी गर्न स्मार्ट लाइसेन्सको ठेक्का पाएको मद्रास प्रिन्टर्सका प्रतिनिधि नेपालमा छन् ।
उनीहरु आएर पोखरामा लाइसेन्सको सर्भर व्यवस्थापन गर्नेछन् भने अन्य प्राविधिक परामर्श पनि दिनेछन् । विभागले अहिले एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आहृवान गरेको छ ।
स्मार्ट लाइसेन्स अभावले उपत्यकाबाहिर पुरानै लाइसेन्स बाँडिरहनुपर्ने अवस्था अन्त्य गर्न यातायात ब्यवस्था विभागले एकैकपटक ७ लाख ५० हजार लाइसेन्स आपूर्तिका लागि टेण्डर आह्वान गरेको जनाएको छ ।
