
काठमाडौँ, ४ असार । नेपाल शैक्षिक परामर्श सङ्घ (इक्यान)को शैक्षिक प्रदर्शनी आगामी साउन ५ गतेदेखि काठमाडौँमा हुने भएको छ ।
यही असार ८ गतेदेखि ११ गतेसम्म हुने भनिएको शैक्षिक प्रदर्शनी निर्वाचनका कारण साउन ५ देखि ८ गतेसम्म हुन लागेको आयोजकले जनाएका छन् ।
इक्यानका अध्यक्ष प्रकाश पाण्डेले असार १४ गते स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै प्रदर्शन सारिएको बताउनुभयो ।
उहाँले स्थानीय तहको निर्वाचनको पूर्वसन्ध्यामा प्रदर्शनी आयोजना गर्दा अधिकांश शिक्षक, विद्यार्थी र अभिभावक बाहिर जिल्ला जानुपर्ने र उपस्थिति कम हुने देखिएपछि प्रदर्शनीलाई केही समय सारिएको बताउनुभयो ।
भृकुटीमण्डपमा बर्सेनि हुने मेलामा विश्वभरि प्राप्त गर्न सकिने शिक्षाका अवसर, शिक्षाका नयाँ आयाम, विषयलगायत राहदानी नीति र प्रक्रियाका बारेमा बुझ्न सकिने आयोजकले जनाएका छन् । रासस
Feature Photo
