पोखरामा हर्न निषेध: साउन १५ पछि लाइसेन्स नियन्त्रणमा लिएर एक घण्टा ट्राफिक कक्षा,भदौ १ देखि जरिवाना

Share:

 

पोखरा ५ साउन । हतारको निर्णयका आधारमा विना तयारी र सूचना पोखरा लेखनाथ महानगरपालिकाभित्र घोषणा गरिएको ‘नो हर्न जोन ’ को पूर्ण कार्यन्वयन भदौ १ गतेपछि मात्रै हुने भएको छ ।

असार १५ गतेको निर्णयका आधारमा साउन १ गते घोषणा गरिएको हर्न निषेधित क्षेत्र कार्यन्वयनका साउन ८ बाट कडाइको साथ गरिने भनिएपनि तयारी नपुगेको र नगरवासीलाई सुचना प्रवाह गर्न नसकिएको कमजोरी स्विकार्दै प्रचारका लागि अझै समय लम्ब्याउने निर्णय गरिएको हो ।

विहिवार पोखरा लेखनाथ महानगरपालिकाका मेयर मान बहादुर जिसी, उपमेयर मञ्जुदेवी गुरुङ, ट्राफिक प्रहरी, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधि सहितको बैंठकले प्रचारका लागि समय नपुगेको निश्कर्ष सहित समय लम्ब्याउने निर्णय गरेको हो । बैंठकमा सहभागी जिल्ला ट्राफिक प्रहरी कार्यालयका सुचना अधिकृत प्रहरी नायव निरिक्षक शिव थापाले दिएको जानकारी अनुसार विहिवारको बैंठकले नो हर्न जोन कार्यन्वयन सम्बन्धमा दुई वुदे निर्णय गरेको छ ।

उनका अनुसार बैंठकले महानगरवासीलाई नो हर्न जोन बारे अझै जानकारी नपुगेको र प्रचारप्रसारको अभाव देखिएकाले साउन १५ गतेसम्म प्रचारका लागि समय छुट्याउने निर्णय गरिएको छ । साउन १५ देखि ३० गतेसम्म निषेधित क्षेत्रमा हर्न बजाउने चालकको लाइसेन्स नियन्त्रणमा लिएर एक घण्टाको कक्षा लिएर मात्रै छाडिने बैंठकले निर्णय गरेको छ ।

भदौ १ गतेदेखि निषेधित क्षेत्रमा हर्न बजाएको भेटिएमा कानुन अनुसारको कारवाही गर्ने समेत बैंठकले निर्णय गरेको छ । नो हर्न जोन बारे प्रचार प्रसारको लागि महानगरका विभिन्न स्थानमा संकेत वोर्ड राख्ने, रेडियो, टिभी, पत्रिका लगायतका सञ्चार माध्यम तथा फिल्म हलमा समेत नो हर्न जोनको बारेमा सन्देशमुलक सामाग्री प्रकाशन प्रशारण गराउने र नेपाल टेलिकमसँगको सहकार्यमा यस क्षेत्रमा प्रयोग भैरहेका मोवाइल नम्बरमा नो हर्न जोन को प्रचार सहितको एसएमएस पठाउने निर्णय समेत बैंठकले गरेको छ ।

भदौ १ देखि निषेधित क्षेत्रमा अनावश्यक हर्न बजाए ट्राफिक प्रहरीले सुरुमा ५ सय रुपैयाँसम्म जरिवाना गर्नेछ । यस्ता कारवाहीको रेकर्ड पनि राखिने र दोस्रोपटक पनि हर्न बजाएको कारवाहीमा परे १ हजार रुपैयाँ तथा तेस्रोपटक कारवाहीमा पर्दा १५ सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ ।

यो नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा लागू हुनेछैन । गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइनेछ । यस्ता जोखिमयुक्त मोडहरुमा पनि प्रेसर हर्न बजाउन पाइने छैन ।

पोखरा लेखनाथ महानगरका कतिपय वडा ग्रामिण क्षेत्रपनि पर्ने भएका त्यस्ता क्षेत्रमा यो नियम लागू हुने छैन । महानगरको मुख्य बजार क्षेत्रमा भने कडाइ गरिने ट्राफिक प्रहरीले जनाएको छ ।

Source : http://peacepokhara.com/pokhara-lekhnath-no-horn-zone/

कमेन्ट गर्नुहोस्
Share: