
पर्वत ८ साउन । पोखरा –बागलुङ राजमार्गको दायाँ बायाँ फराकिलो बनाउँदा पर्वत खण्डमा धेरै परिवार घरबारबिहीन हुने भन्दै स्थानीय बिरोधमा उत्रिएका छन ।
भबिश्यमा मध्यपहाडी लोकमार्गको रुपमा बिकास हुने पर्वत खण्डमा दायाँ बायाँ सडकको राईट वफ वए ६२ मिटर कायम गरिएमा धेरै परिवार घरबार बिहीन हुने भन्दै नयाँ मापदण्डको बिरोधमा उत्रिएका हुन ।
सडक बिभागले अहिले सम्म पोखरा – बागलुङ राजमार्गको दायाँ बायाँ १५/ १५ मिटर मापदण्ड कायम गरेको छ । सोही मापदण्डका आधारमा मोदी गाउँपालिकाको पातीचौर, डिमुवा बजार देखि कुस्मा नगरपालिकाको कुस्मा, चुवा हुँदै मालढुंगा सम्म सयौ पक्की र कच्ची संरचना निर्माण भएका छन ।
तर पछिल्लो समयमा कुस्मा नगरपालिकालाई सडक डिभीजन बागलुङले सडकको दायाँ बायाँ २५/ २५ मिटर हुने र सेट ब्याक ६/ ६ मिटर हुने भन्दै पत्राचार गरेपछि नक्सापास समेत गर्न रोकिएकाले बिरोधमा उत्रनु परेको पिडीत केशबराज पुरीले बताए । ‘पहिले १५/ १५ मिटरको मापदण्ड अनुसार छाडेर बनेका कच्ची र पक्की संरचनाहरुको नक्सापास पनि नगर्ने र अहिले नयाँ नक्सापास समेत गर्न छाडेका कारण बिरोधमा उत्रनु परेको छ’ उनले भने ‘नयाँ मापदण्ड कायम गर्ने हो भने यस क्षेत्रका सयौ परिवार बिस्थापित हुने अवस्था आउने भएकाले पुरानै मापदण्ड कायम हुनुपछ’
सडक डिभीजन कार्यालय बागलुङले २०७३ चैत्र ६ गते नयाँ मापदण्ड कायम हुन सक्ने आसयको पत्र कुस्मा नगरपालिकालाई पठाएपछि अहिले राजमार्ग वरपर नयाँ घर निर्माणका लागि अनुमति दिएको छैन भने पुराना घरहरुको पनि नक्सा नियमित गरिदिएको छैन । उक्त निर्णय संगै घडेरी किनबेच पनि बन्द भएको छ भने त्यस क्षेत्रको जग्गा धितो राखेर ऋण दिन समेत छाडेका छन ।
यसले सर्बसाधरणमा आतंक नै सृजना भएको कुस्मा नगरपालिका वडा न. ७ का वडाअध्यक्ष सुवासचन्द्र पौडेलले बताए । ‘जनतामा त्रास र निराशा ब्यबप्त भएको छ’ उनले भने ‘नगरपालिकाले यस बारेमा छिट्टै निर्णय गर्न आवश्यक छ’ पोखरा बागलुङ राजमार्ग वरपर घडेरी किन्ने र पहिले नै घडेरी भएका र आफ्नै संरचना बनाएर बसेका स्थानियबासी समेत पछिल्लो मापदण्ड कायम हुँदा घरबार बिहीन बन्ने अवस्था आउँछ । ‘यसका लागि राज्य जिम्बेवार हुनुपर्छ’ वडा अध्यक्ष पौडेलले भने ।
सडक डिभीजन कार्यालय बागलुङले पछिल्लो पटक नयाँ मापदण्ड कायम गर्न आवश्यक हुने र मध्यपहाडी लोकमार्गका लागि मापदण्ड राजपत्रमा प्रकाशित नभएको पत्र नगरपालिकालाई पठाएको छ । उत्त पत्रले पनि स्पष्ट रुपमा खुलाउने काम नगरेका कारण यसबारेमा छिट्टै निर्णयमा पुग्न आवश्यक भएको स्थानियबासीको माग छ । समाचार स्रोत : न्यूजडवली
