
पोखरा, ३२ साउन , नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’का नेता कार्यकर्ताले विद्रोह गरेर नयाँ पार्टी गठनको घोषणा गरेका छन् । नेकपा पार्टीबाट विद्रोह गरेकाहरुले बुधबार लमजुङमा पत्रकार सम्मेलन गरी ‘फ्रिडम कम्युनिष्ट लिग नेपाल’ पार्टी गठनको घोषणा गरेका हुन् । पार्टीको महासचिवमा पोखरा घर भई नेकपा पार्टी लमजुङ क्षेत्र नम्बर १ का ईञ्चार्ज भोजराज त्रिपाठी ‘सहज’ बनेका छन् । त्यस्तै पार्टी प्रवक्तामा सुजन अधिकारी तोकिएका छन् । प्रवक्ता तोकिएका अधिकारी नेकपाका लमजुङ क्षेत्र नम्बर २ का ईञ्चार्ज हुन् ।
पार्टीको केन्द्रीय सदस्यहरुमा प्रशान्त कार्की (बाँके), राजबहादुर विक (पोखरा), गीता तिमिल्सिना (काठमाडौं), सिता खनाल (गोरखा), राजु खान (चितवन), जीवन खनाल (लमजुङ) र उत्सव (भारत) रहेका छन् । उत्सवलाई पार्टीको अन्र्तराष्ट्रिय विभाग प्रमुखको जिम्मेबारी तोकिएको पार्टी प्रवक्ता सुजन अधिकारीले जानकारी दिए ।
विद्रोह पछि उनीहरुले विप्लवले वैद्यसँग फुट्दा वैद्यले केही गरेनन् अब हामीले गर्नुपर्छ भनेपनि पछिल्लो समयमा क्रान्ति गर्नुको सट्टा अकर्मन्यतामा फस्नुका साथै गलत खेतीमा लागेको समेत आरोप लगाएका छन् । स्थानिय तहको चुनावमा विप्लवले बहिस्कार गर्ने भनेपनि रोल्पाको थबाङमा जिल्लाका जिम्मेवार नेतालाई नै उम्मेद्वार बनाएर ढाँटको खेती गरेको पनि आरोप लगाएका छन् । उनीहरुले विप्लवबाट क्रान्ति हुन नसक्ने ठहर गर्दै विद्रोह गरेको उल्लेख गरेका छन् ।

