
रञ्जन अधिकारी पोखरा, ८ भदौ / पोखरामा अहिले जुवाडेहरुको निँद गायब छ । व्यवसायिक रुपमै जुवातास खेल्ने/खेलाउनेहरु लगातार प्रहरीको निशानामा छन् । सानोतिनो तास खाल जमाउनेदेखि घरमै मिनि क्यासिनोकै रुपमा सञ्चालन गर्ने व्यवसायिक जुवाडेहरु प्रहरी फन्दामा परेका छन् । कास्की प्रहरीको पछिल्लो हप्ताको मुख्य उपलब्धि नै यही हो । अनुसन्धान प्रक्रियामा बाधा पुग्ने भन्दै अरु सूचना दिन हच्किने प्रहरी जुवाडे पक्रिएका जानकारी भने आफैले दिनहुँ सञ्चारमाध्यमलाई उपलब्ध गराईरहेका छन् ।
जिल्ला प्रहरी कार्यालय, कास्कीमा नयाँ प्रमुखले जिम्मेवारी सम्हालेको ठ्याक्कै १० दिन भयो । महानगरीय प्रहरी परिसर ललितपुरबाट प्रहरी उपरीक्षक अशोक सिंह पोखरा आईपुगेका छन् । कास्कीमा सिंहले कार्यभार सम्हाले लगत्तै जुवा नियन्त्रण अभियान सुरु गरे । दिनहुँजसो जुवाडे पक्राउ र लाखौं रकम बरामद भएको छ ।
कास्कीको प्रमुख समस्या ‘जुवा’ होईन । तुलनात्मक रुपमा शिक्षितहरु बसोबास गर्ने भनिएपनि अपराधिक क्रियाकलाप हुने जिल्लामा कास्की अग्रस्थानमा पर्छ । यहाँको मुख्य समस्या लागूऔषध, गुन्डागर्दी, रात्री सुरक्षा हो । ‘यसतर्फ पनि ध्यान छ कि ? जुवा निशाना सस्तो प्रचारका लागि हो ?’ यो प्रश्नलाई एसपी सिंह ठाडै नकार्छन् । ‘होईन । म यहाँ आउने थाहा पाएदेखि नै कास्कीको समस्या, सुरक्षा चूनौतिका विषयमा जानकारी लिन सुरु गरेँ । मैले क्रमशः यी सबै समस्याहरुलाई नियन्त्रण गर्न योजना बनाउँदै छु’– सिंह थप्छन्– ‘सुरु त एउटा प्वाईन्टबाट गर्नैपर्छ । अवैधानिक रुपमा व्यवसायिक रुपमा खेलाईने जुवा निमिट्यान्न पार्नुपर्छ । यो जुवा समस्या सामान्य होईन । व्यवसायिक रुपमा जुवा खेलाउनेहरु, व्यवसायिक जुवाडेहरु हुन् । लाखौं बरमद गरेका छौं ।’
सिंहको निर्देशनमा जुवा नियन्त्रण अभियानको पहिलो दिन साउन ३० गते दुई ठाउँहरु पोखरा रत्नचोक र महेन्द्रपुलमा छापा मार्दा रत्नचोकमा १० जना सहित ५७ हजार रुपैंया र महेन्द्रपुल स्थित भुपेन्द्र हिराचनको घरको पाँचौ तलाबाट आठ जना र १० लाख ६५ हजार रुपैंया बरामद ग¥यो । साउन ३१ गते फुलबारी स्थित दुर्गाबहादुर पुनको घरमा सात जनालाई एक लाख ६८ हजार, साउन ३२ गते पोखरा १० शिवचोकमा सुजन कार्कीको घरमा चार जना सहित २८ हजार बरामद गर्न सफल भयो । यस्तै, भदौ १ गते दुई स्थान चाउथे र बिरौटामा जुवाडे निशानामा परे । चाउथेको तनहुँ थानीभाइ होटलभित्र तास खेलिरहेका पाँच जनालाई २३ हजार, बिरौटा स्थित गोपी श्रेष्ठको तीन तले घरको कोठाभित्र पाँच जनालाई ६२ हजार, शितलादेबी स्थित खेम बहादुर गुरुङको घरमा सात जनालाई १४ हजार सहित पक्राउ ग¥यो । भदौ तीन गते पोखरा १० घलेचोक स्थित मिनबहादुर थापाको कोठाबाट आठ जना ३० हजार नगदसहित पक्रिए । भदौ ४ गते पोखरा लेखनाथ २७, कालिगण्डकी चोक स्थित मिना पुनको घरमा १० जनालाई ८६ हजार र भदौ ६ गते भद्रकाली स्थित लाल कुमारी गुरुङको घरबाट आठ जनालाई २६ हजार नगद सहित पक्राउ ग¥यो । यसबीचमा ७२ जनालाई पक्राउ गर्दै प्रहरीले साढे १५ लाख बढि बरामद गर्न सफल बनेको छ । प्रहरीका अनुसार जुवा खेल्ने, खेलाउने र बेटिङ गरेर बस्नेलाई समेत पक्राउ गरी जुवा ऐन अन्तर्गत कारवाही थालिएको छ ।
सिंहले सामाजिक विकृति फैलाउने तत्वहरु नियन्त्रण गर्ने क्रममा जुवाबाट सुरु भएपनि लागूऔषध प्रयोग तथा ओसारपसार नियन्त्रणका सम्बन्धमा ‘एक्शन प्लान’ नै बनाएर जाने प्रक्रिया सुरु गरिसकेको उल्लेख गरे । कास्कीमा आफ्नो कार्यअवधिमा गुण्डागर्दी एवं डनगिरी गर्नेलाई तह लगाएर छाड्ने उनको योजना छ । ‘टोलटोलमा गुण्डागर्दी, असुली, प्लटिङ, हाउजिङ लगायतमा आक्रमणमै उत्रेर रकम असुल्ने गुण्डाहरुबारे पनि सुनेको छु । तिनीहरु विरुद्ध प्रहरी उत्रन्छ ।’ सिंहले भने– ‘प्रहरीले सुरक्ष ागर्ने नागरिकलाई हो । नागरिकले पनि प्रहरीलाई सूचना दिन डर मान्नु हुँदैन । हामी सुरक्षाका लागि सदैव कटिबद्ध छौं ।’ सिंहले यहाँको ट्राफिक समस्या समाधान, मिटरब्याज लगाउनेलाई कारबाही, मापसे नियन्त्रण, नाकाहरुमा कडाई, रात्री गस्तीमा आफू कटिबद्ध रहेको उल्लेख गरे ।
सबै पक्ष सहमत भए लेकसाईडलाई चौबिसै घण्टा खुल्ला राख्न सुरक्षामा आफूहरुबाट कुनै कमजोरी हुन नदिने बताए । अधिकृत स्तरकै प्रहरीबाट नागरिकमैत्री व्यवहार नभएको, रात्री गस्तीका क्रममा प्रहरीबाट चर्को र रुखो बोली भएको, मुस्कान सहित प्रहरी सेवा, प्रहरी मेरो साथी नारामै सीमित भएको गुनासो बढिरहँदा प्रहरी नै सुधार्नतर्फ कस्तो योजना छ ? भन्ने प्रश्नमा सिंहले भने– ‘गुनासो नआएको होईन । सबै इकाईका ईञ्चार्जलाई बोलाएर आफ्नो मातहतका प्रहरीलाई जनताको सेवा नै सर्वोपरी ठानेर काम गर्न, त्यही अनुरुप प्रस्तुत हुन, व्यवहार नागरिक मैत्री बनाउन मैले निर्देश गरेको छु ।’
जुंगा हुलियाले समेत ‘सिंगम स्टायल एसपी सिंह’ गसिपबारे बेखबर नरहेका उनले आफ्नो कार्यशैलीकै कारण भनिएको हुनसक्ने प्रतिक्रिया दिए । ‘इन्स्पेक्टरदेखि सुरु भएको सेवा एसपी सम्म आईपुग्दा मैले कहिले पनि कुनै अपराध प्रवृत्तिसँग मैले सम्झौता गरिनँ । गुण्डागर्दी निमिट्यान्न पार्न त्यो बेलादेखि अहिलेसम्म एकचित्त भएर लागेको छु ।’ – सिंह थप्छन् – धेरै ठाउँमा मैले ईञ्चार्ज भएर कार्यसम्पादन गरेको छु । नागरिकसँग भिजेर काम गरेको छु तर अपराधी र गुण्डाहरु मसँग डराउँछन् । मैले आफ्नो जिम्मेवारी निभाउँदा नागरिकस्तरबाट गुड म्यासेजका लागि भनिएका हुनसक्छ ।’ धादिङ, सुर्खेत, ललितपुर लगायत विभिन्न स्थानमा रहेर उनले काम गरिसकेका छन् । कास्कीमा यसअघिका प्रमुख आउने बित्तिकै मिडियाकर्मी बोलाएर चिनापर्ची गर्थे । एसपी सिंहको रणनीति भने फरक देखियो । दिनहुँजसो सार्वजनिक कार्यक्रममा देखिन थालिसकेका छन् तर एक÷दुई दिनमा मिडियामार्फत् आफ्नो कार्यकालका सुरक्षा योजना सहित कास्कीबासीसँग सहकार्यका लागि सार्वजनिक अनुरोध गर्ने योजनामा छन् ।

