
रञ्जन अधिकारी पोखरा, १४ भदौ / ‘जातिय हिसाबले नहेर्नुस् है । राजनीतिबाट पनि टाढा छु । राजनीतिक हिसाबले पनि नहेर्नुस्’ – सुरुमै भनिहाले– ‘सबैको जातिय पहिचान हुन्छ । कसैको पहिचान मेटिनुहुन्न । तर जात, धर्म, राजनीति भन्दा सबैभन्दा ठूलो राष्ट्र हो राष्ट्र रहे मात्र हामी रहन्छौं, हाम्रा जात, धर्म रहन्छन् ।’ एक कार्यक्रममा प्रा.डा. जगमान गुरुङ कार्यक्रमको प्रमुख वक्ताका रुपमा थिए । र, उनले आफ्नो प्रवचन यही वाक्यबाटै सुरु गरे ।
पोखराको कन्या क्याम्पसको सभाहलमा मंगलबार दिउँसो यहाँका बौद्धिक जमघटका बीच ‘सामयिक सन्दर्भ र नेपालीपनको विकास’ विषयक अन्तक्र्रिया कार्यक्रम भएको थियो । आयोजक सिर्जनशील लोकतान्त्रिक पोखराले प्रमुख आमन्त्रित व्यक्तित्वका रुपमा राष्ट्रिय सांस्कृतिक अध्ययन केन्द्र काठमाण्डौका कार्यकारी निर्देशक इतिहासविद्, संस्कृतिविद् गुरुङलाई निम्त्याएको हो । उनले कार्यक्रमको विषयवस्तुमा रहेर नेपालीपनका सन्दर्भमा इतिहासदेखि वर्तमानसम्मका उदाहरण पेश गर्दै प्रवचन दिए ।
‘अहिले नेपालीपन हराउँदैछ । हामी साझा भावनाको विकास गर्न चुकेका छौं । साझा सद्भावको खाँचो छ ।’ उनले अघि भने– ‘नेपालीपन भनेको नेपाली राष्ट्रिय भावना जागृत हुनु हो । हामी जातको नाममा, धर्मको नाममा राष्ट्रलाई पो कमजोर बनाउँदैछौं । राष्ट्र नरहने चिन्ता छ । नेपालीपनको विकास गर्नु भनेको राष्ट्रको विकास हो ।’ गुरुङले नेपालको विविधता संसारमै अग्रणी स्थानमा रहेको जनाउँदै जातिजातिबीच, धर्मधर्मबीचको सद्भाव विशिष्ट खालको रहेको र यसलाई कायम नै राख्नुपर्ने खाँचो औंल्याए ।
पोखरा सेरोफेरोमै घर भएका गुरुङले पोखराका विभिन्न स्थानहरुको नाम कसरी रहन गयो ? ति स्थानमा कुन जाति बस्न सुरु गरे ? यहाँका मुस्लिम, नेवार, गुरुङ, पराजुलीहरुदेखि तनहुँ, लमजुङ, गोरखा हुँदै नेपालका विभिन्न स्थानको नामाकरण सम्बन्धमा बेलिबिस्तार लगाए । नजिकै थाक गाउँमा तीन पुस्त अघिसम्म गुरुङहरुले दमाईकामी मर्दा छाक छाड्ने, दमाईकामीले उसै गर्ने गरेको भन्दै सिक्लेसी गुरुङले आफैले दमाई, कामी लगायतका जात विशेषलाई संगै लगेको दृष्टान्त प्रस्तुत गरे ।
यहाँका मियाँ, नेवार, गुरुङ जातिबीचको सद्भाव, महामानव विद्वान ब्यास उपाध्याय ब्राह्मण र माझीका छोरा भएकाले बाहुन र जनजातिबीच भएको त्यो प्रेम, लमजुङमा राजा कास्कीबाट लैजाँदा दुरा र घिमिरेको सहकार्य, द्रब्य शाह गोरखा अघि बढ्दा १८ जना गुरुङ मगरका फौज, मिथिलाञ्चलमा चिडिमारा मुसलमानले हिन्दु गाथा गाउने प्रचलन, राजाको मन्दिरमा मगर र बडागुरुका मन्दिरमा गुभाजु पूजारी रहने प्रमाणले नेपालमा कहिल्यै पनि जातजातिमा विभाजन नभएको तर अहिले आएर जातजाति भन्दै लड्नु दुःखको कुरा भएको बताए ।
१२ राज्यका राजा भेला भएर सम्झौता गरेको ठाउँ राजाको चौतारालाई जनताको चौतारो नामाकरण गर्नुपूर्व त्यसबारे बुझ्ने काम समेत नभएको भन्दै उनले परिवर्तनका नाममा इतिहास मेट्न नहुने बताए । राजा पृथ्वीनारायण शाह र राजा महेन्द्र शाह जस्तो राजा नभएकै कारण राष्ट्रियता ओझेलमा परेको भन्दै राजा ज्ञानेन्द्रको अज्ञानता र लहडले मुलुक भड्खालोमा फसेको गुरुङको भनाई छ । मुलुकमा क्रिश्चियनहरु यहाँको संस्कार, संस्कृति भत्काउनकै लागि क्रियाशील रहेको भन्दै उनले नेपालमा जात, धर्मका आधारमा विभेद खडा गरेर सामाजिक सद्भाव, जातिय सद्भाव, धार्मिक सद्भाव भड्काउन उनीहरु सफल बनेको बताए ।
प्रा.डा. दिलबहादुर क्षत्रीले डा. जगमान गुरुङबाट केहि सिक्ने समय हाम्रा मुलुक चलाउने नेताहरुले छुट्याउन सकेमा मुलुक बच्ने थियो भन्दै प्रभुको शरणमा पर्नुबाहेक केहि गर्ने फुर्सद नभएको बताए । ‘नेतालाई प्रशिक्षण दिनुपर्ने अवस्था छ । सदियौंदेखि मिलेर बसेका हामीमा जातिय राज्यको बिउ रोप्ने प्रचण्ड एण्ड कम्पनीहरुलाई सद्बुद्धि प्रदान गर्न यस्ता प्रशिक्षण खाँचो छ ।’ सांसद शारदा पौडेललाई इंगित गर्दै क्षेत्रीले भने– ‘भनिदिनुस् उहाँहरुलाई सधैं प्रभुलाई रिझाएर सत्ता जोगाउनेतिर मात्र होईन, देश जोगाउनका लागि यस्ता ज्ञानगुनका कुरा पनि लिनुपर्छ ।’
प्रतिष्ठानका अध्यक्ष डा. जगन्नाथ रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा सांसद शारदा पौडेल, अलिमियाँ लोक वाङमय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ, डा. बलराम उपाध्याय रेग्मी, बसन्त पराजुली, शिवप्रसाद गौतम, सूर्य खड्का बिखर्ची, तारा पाखे, रामबहादुर बानियाँ, कन्या क्याम्पस प्रमुख सुरेश मानन्धर लगायतले बोले ।
सो अवसरमा प्रतिष्ठानले कविवर तेजनाथ घिमिरे र अग्रज कलाकार दुर्गाबराल वात्स्यायनलाई सम्मान पनि ग¥यो । नेपाली भाषा र साहित्यमा अनवरत योगदान दिएको भन्दै ७७ वर्षीय घिमिरे र जगदम्बाश्री पुरस्कार २०७३ प्राप्त गर्न सफल वात्स्यायनलाई कदरपत्र र दोसल्लाले सम्मान गरेको हो । कार्यक्रमको सञ्चालन सचिव विष्णुप्रसाद शर्माले गरेका थिए ।
