
रञ्जन अधिकारी पोखरा, १६ भदौ / बुधबार बेलुकी पाँच बजे सटर बन्द गरेर गएको कार्यालय बिहान खोल्दा चोरी भईसकेको थियो । भुईंमा केहि रुपैंयाका नोटहरु छरिएपछि भल्ट हेर्दा झण्डै २६ लाख रुपैंया गायब भईसकेको रहेछ । बिहानै कार्यालय आएका प्रबन्धक शुशिल श्रेष्ठ र कार्यालय सहायक मनिषा अधिकारीले रकम चोरिएको भेउ पाए ।
रात्रीकालीन सुरक्षा व्यवस्था समेत प्रभावकारी नरहेको कास्कीको माछापुच्छ«े गाउँपालिका वडा नं. ४ लाहाचोक स्थित सभ्य समता बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट बुधबार राति चोरी भएको हो । अनुसन्धानका लागि दुवै जना प्रहरी नियन्त्रणमा छन् ।
गाउँमा रहेको सहकारीबाट लाखौं रकम चोरी भएपछि झण्डै १६ सय शेयर सदस्यहरु चिन्तित छन् । सहकारीका अध्यक्ष चुनबहादुर उचैका अनुसार २५ लाख ६६ हजार नौ सय १५ रुपैंया चोरी भएको हो । विहीवार बिहान कार्यालय खुलेपछि मात्रै सहकारीबाट चोरी भएको थाहा भयो । पछाडि रहेको झ्यालको रड बंग्याएर चोर छिरेको प्रहरीले जानकारी दिएको छ । सिसि क्यामेरा पनि जडान नगरिको र सुरक्षा गार्ड समेत नभएकाले सहज ढंगले चोर्न सके ।
‘सिसि क्यामेरा पनि राख्ने निर्णय भईसकेको थियो । यही १७ गते बैठक बोलाउने र भोलिपल्टै सिसि क्यामेरा जडान गर्ने योजना थियो ।’ अध्यक्ष उचैले भने– ‘कोटेशन कलेक्शन हुँदा हुँदै चोरी भयो । सिसि टिभी फुटेजबाट कम्तिमा चोरलाई पत्ता लगाउन त सहज हुने थियो ।’ प्रहरीले संकास्पद केहिको नाम समेत टिपेको छ र अनुसन्धान प्रक्रिया अघि बढाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता खड्गबहादुर खत्रीले प्रहरीले अनुसन्धान प्रक्रिया अघि बढाएको र चोरको खोजीकार्यमा गम्भिर भएर लागिपरेको बताए ।
बिहान साढे नौ बजेतिर सहकारी खुल्ने गथ्र्यो । कार्यालय सहायक मनिषा अधिकारी र प्रबन्धक शुशिल श्रेष्ठ आएर हेर्दा भुईंमा रकम छरिएको देखे र भल्ट फोडिएको भेटेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीचौकी घाचोकबाट असाई बिलबहादुर थापाको नेतृत्वमा प्रहरी टोली पुग्यो । ११ बजेतिर वडा प्रहरी कार्यालय बगर र जिप्रकाबाट अर्को टोली पुगेको थियो ।
‘दुई सटर भित्र आल्मुनियमको ढोका छ । त्यो चाबी अरुसँग हुने कुरा भएन । सबै जस्ताको तस्तै रहेछ । सबै खोलेर भित्र हेर्दै जाँदा केहि पैसा भुईंमा भेटेपछि भल्टतिर हेर्दा फोडिएको देखियो’ डिएसपी खत्रीले भने– ‘पछाडी भ¥याङसिढि नजिकैको झ्यालको रड बंग्याएको भेटिएको छ । यहींबाट चोर छिरेको हुन सक्छ ।’
२०६७ भदौ २७ गते ग्रामिण सेवा हेतु खोलिएको सहकारीले वार्षिकोत्सवका अवसरमा यही २७ गते रक्तदान कार्यक्रम आयोजना गर्दैछ । सहकारीले स्वास्थ्य शिविर तथा सामाजिक क्षेत्रमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ । सहकारी यदुराम अधिकारीको घरको तल्लो तल्लामा संचालन हुँदै आएको छ । पोखरा जिरोकिमी बस्ने अधिकारीले गाउँको घर सहकारीलाई भाडामा लगाएका हुन् । लाहाचोक माछापुच्छ«े गाउँपालिकाको केन्द्र पर्दछ ।
