बिन्दबासिनीदेखि ‘मिडटाउन सिनेमाज्’ सम्मको द्वा परिवारको ‘हल’ यात्रा

Share:

रेम बिक
पोखरा, ३० भदौ । पोखराका पुराना हल व्यवसायी हुन्, उत्तम द्वा । उनीसहित उनको परिवार नै चलचित्र र हलको व्यवसायमा लागेको निकै लामो समय भैसक्यो । ७५ वर्ष अगाडि उत्तम द्वाका पिता जितप्रसाद द्वाले पोखरामा व्यवसायको शुरुवात गरेका थिए । उनैले पोखरामा बिन्दबासिनी हल निर्माण गरेका थिए ।

विन्दबासिनी हल निर्माणसँगै संचालनमा ल्याएपछि द्वा परिवार यो व्यवसायमा निरन्तर लागिरहेको छ । र, यो यात्रा अझै रोकिने छाँटकाँट छैन । बरु झन् परिस्कृत र विस्तारित हुँदै गैरहेको छ । शुरुवाती समयमा जीतप्रसाद द्वाले हल संचालनमा ल्याएपनि हल विस्तार गर्ने मूख्य श्रेय भने उनै उत्तम द्वालाई नै जान्छ । उनले हल व्यवसायलाई आफ्नो काँधमा ल्याएपछि नै हो बिन्दबासिनी हलकै परिसरमा वाराहिका दुईवटा हल र श्रीकृष्ण हल थपिएको । उत्तम द्वाले हलको जिम्मेवारी आफ्नो काँधमा लिएको मात्रै २८ वर्षभन्दा बढि भैसक्यो ।

पोखराको ईतिहास हेर्ने हो भने यहाँ धेरै हलहरु खुल्ने र बन्द हुने क्रम चलिरहेको छ । यो बीचमा दशबर्षे जनयुद्धले पनि अरु व्यवसायजस्तै हल व्यवसायलाई चौपट बनायो । थुप्रै संकटहरु आईपरे । तर उत्तम द्वा डगमगाएनन् । बरु झन् बढि यहि क्षेत्रमा संभावना देखे । र, उनी आफ्नो लक्ष्यमा अगाडि बढिरहे ।

‘देशको परिवर्तनहरुसँगै निकै दुख कष्ट हामीले पनि भोग्यौँ । धेरैले आफुले गर्दै आएका व्यवसाय छाड्दै पलायन पनि भए । तर हामीले हिम्मत हारेनौँ ।’ उत्तम द्वा बिगत सम्झन्छन्–‘बरु हामीले झन् बढि मेहेनत ग¥यौँ ।’ मेहेनत र निरन्तरताले नै द्वा परिवारलाई अहिलेको स्थितीमा ल्याएको उनी बताउँछन् ।

यो बीचमा उनकै नेतृत्वमा द्वा परिवारले फिल्म क्षेत्रसँगै सम्बन्धित अरु विधामा पनि लगानी विस्तार गरिसकेको छ । अहिलेसम्म यो व्यवसायिक घरानाले पोखरासँगै बुटवलमा कालिका चलचित्र मन्दिर, लेखनाथमा वाराहि मुभी स्टुडियोसँगै एफडि कम्पनी र डिसिएनजस्ता फिल्म वितरण कम्पनीमा आफ्नो लगानी विस्तार गरिसकेको छ । फिल्म क्षेत्र बाहेक उत्तम वस्त्र भण्डारमार्फत ६० वर्ष यता कपडाको आयात पनि यो परिवारले गर्दै आएको छ ।

‘पोखरालाई फिल्मसिटी बनाउने परिकल्पनासहित नै हामीले लेखनाथमा वाराहि स्टुडियो संचालनमा ल्याएका थियौँ । यद्यपी अहिलेसम्म हामीले गरेको लगानी फलदायी नभएको यहि एउटा ठाऊँमा मात्रै हो । नत्र हामी सबै क्षेत्रमा अब्बल नै छौँ ।’ उत्तम द्वाले भने । उनले यो स्टुडियोलाई चाँडै नयाँ स्वरुपमा ढाल्ने योजनामा आफुहरु रहेको सुनाए ।

द्वा परिवारको लगानी पछिल्लोपटक भएको भने सभागृहस्थित ‘मिडटाउन ग्यालरिया’मा हो । सभागृहचोकस्थित यो व्यवसायिक मलमा यो परिवारले करिब २८ करोड रुपैयाँ लगानी गरेको छ । यद्यपी द्वा परिवारले आफ्नो पुख्र्यौली पेशालाई यो मलमा पनि निरन्तरता दिएको छ । यहि मलमा ‘मिडटाउन सिनेमाज’ नाम दिएर द्वा परिवारले मल्टिप्लेक्स हल संचालनमा ल्याएको छ । यहाँ हाल दुईवटा अडिटोरियम संचालनमा आएका छन् ।

व्यवसायको यो यात्रा रोकिनेवाला छैन । बाजे पुस्तादेखि शुरु भएको हल व्यवसाय नाती पुस्तासम्म आईपुगेको छ । अहिले द्वा परिवारको उत्तराधिकारीको रुपमा निकेश द्वा म्यानेजिङ डाइरेक्टर रहेर पोखरा सभागृहमा हलसहितको ‘मिडटाउन ग्यालरिया’ संचालनमा आएको छ । यो मलमा मल्टिप्लेक्स हलसँगै ३० वटा भन्दा बढि ब्राण्डका १४ वटा व्यवसायिक प्रतिष्ठानले आफ्नो व्यापार गर्दैछन् ।

‘बाजेले आफ्नो परिवेशअनुसारको व्यवसाय शुरुवात गर्नुभयो । यद्यपी हामीले समयअनुसार नै त्यहि व्यवसायलाई परिस्कृत गर्दै ल्याएका छौँ ।’ मिडटाउन ग्यालरियाका म्यानेजिङ डाइरेक्टर निकेश द्वाले भने–‘यो शिलशिला अझै अगाडि बढ्दै जानेछ ।’ द्वा परिवारले पछिल्लो पटक लञ्च गरेको फिल्म हल र मल अन्तराष्ट्रिय मापदण्डअनुसारको सबैभन्दा पछिल्लो ‘टेक्नोलोजी’मा आधारित हो । ‘हामीले पोखरालाई अन्तराष्ट्रियस्तरको शहरको रुपमा विकास गर्नको लागि पनि केहि योगदान गरौँ भनेर यसो गरेका हौँ ।’ निकेशले भने ।

मिडटाउन ग्यालरियामा रहेको ‘मिडटाउन सिनेमाज्’को ‘टेक्नोलोजी’को कुरा गरिरहँदा निकेशले विन्दबासिनी परिसरमा रहेका चारवटा हलहरुलाई पनि परिस्कृत गर्दै लैजाने योजना सुनाए । ‘हामी समयको मागअनुसार चल्नुपर्छ भन्ने कुरामा सचेत छौँ । त्यसैले धेरै वर्ष अगाडिदेखि चल्दै आएको सिनेमा हलहरुलाई पनि त्यहिअनुसार मेन्टेन गर्दैछौँ ।’ निकेशले भने ।

कमेन्ट गर्नुहोस्
Share: