घाट प्रयोगको बिषयलाई लिएर झडप, खानी संचालन रोक्न पुगेका गाउँले माथि ठेकेदार पक्ष र प्रहरीको कुटपिट, ११ जना घाईते

Share:

१६ साउन, पोखरा । जिल्ला विकास समितिले टेण्डर निकालेको द्धार कस्सीयार घाटको खानी संचालनमा अवरोध पुर्याएको भन्दै ठेकेदार पक्ष केटाहरुले कास्कीको निर्मल पोखरीका गाउँलेलाई कुटपिट गरेका छन् । स्थानीयवासीले ठेकेदारले गुण्डा प्रयोग गरेको आरोप लगाएका छन् । प्रहरी समेतको कुटपिटबाट ११ जना घाईत भएका छन् ।

घाईते मध्ये एकको अवस्था गंभिर रहेको स्थानीयवासिन्दाले जानकारी दिएका छन् । आक्रमणबाट ७६ बर्षिय ईन्द्रप्रसाद आचार्य, प्रकाश पौडेल, रामवहादुर खत्री, बोधराज आचार्य, रमादेवि आचार्य, पूर्णमाया आचार्य, शर्मिला भट्टराई, हरिकृष्ण आचार्य, पूर्णमाया आचार्य, वाटुली नेपाली र चन्द्रा नेपाली लगायतका घाईते भएका छन । घाईते भएका ६ महिलालाई स्थानीयबासीले उपचारका लागि पश्चिमाञ्चल अस्पतालमा पुर्याएका थिए ।

घाट ठेक्कामा लिएको ठेकेदारले गिटी बालुवा निकाल्न थालेपछि, स्थानीयहरुले अवरोध गरेका थिए ।कुटपिटको विरोध गर्दै जिविस घेराउ गर्न पुगेका गाउँले माथि प्रहरीले लाठी चार्ज गर्दा प्रकाश अधिकारी गंभिर घाईते भएका छन् । टाउकोमा चोट लागेका उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको छ । वडा प्रहरी कार्यालय वैदामका प्रहरी निरीक्षक सुन्दर तिवारीको कमाण्डमा खटिएको प्रहरीले गाउँले माथि कुटपिट गरेको थियो । प्रहरीले भने जिविसका योजना अधिकृत निशानराज भट्टराईलाई गाउँलेले लछार पछार गरेपछि सामान्य लाठीचार्ज भएको जनाएको छ ।

जिविसले जोखिमपूर्ण क्षेत्रको पहिचान नै नगरि हचुवाका भरमा नदी र खोलावाट ढुंगा, वालुवा निकाल्दा दिदा कटान वढेर खेत र वस्ती जोखिममा पर्दै गएको स्थानीय बासिन्दाले बताएका छन् । जिविसले एक बर्षका लागि टि।वि निर्माण सेवालाई ३७ लाखमा ठेक्कामा घाट संचालनको अनुमति दिएको थियो । जिविस बाट ठेक्का पाएपछि खानी संचालन गर्दा गाउँले अवरोध गरेपछि ठेकेदार प्रेमवहादुर मल्लका मानिसले स्थानीयमाथि जाइलागेका थिए ।

घाट संचालनबाट कस्सियारघाटको ५० रोपनी खेत र त्यो भन्दा वढि सार्वजनिक जग्गा, खतरामा परेको छ । स्थानीय राजनीतिक दल, आमा समुहले विज्ञप्ति जारी गर्दै घटनाको दोषिमाथि कडा कार्वाही र क्षतिपूर्तिको माग गरेका छन ।

जिल्ला विकास समितिमा चलिरहेको बिषयगत कार्यालयहरुको बार्षिक प्रगति समिक्षाका बेला कुटपिट र तोडफोड भएको योजना शाखाका कृष्ण खनालले जानकारी दिनुभयो । घटनापछि, जिल्ला विकास समितिमा आज भैरहेको समिक्षा गोष्ठि पनि स्थगित भएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले अनिल विक्रम खाँडलाई पक्राउ गरेको छ । यस सम्बन्धमा शनिबार बिहान ११ बजे जिल्ला विकास समिति कास्कीमा वार्ता बोलाईएको जिल्ला विकास समितिले जनाएको छ ।

Photo: Indra Paudel

कमेन्ट गर्नुहोस्
Share: