महेन्द्रपुल चोकको स्मार्ट ट्राफिक आइल्याण्डलाई ट्रकले ठक्कर दिँदा यस्तो (हेर्नुहोस् फोटो)

Share:

रञ्जन अधिकारी, पोखरा, २ कार्तिक / पोखरामा ठूलो र भद्धा आइल्याण्ड फालेर धमाधम स्मार्ट आइल्याण्ड राख्ने क्रम जारी छ । महेन्द्रपुल, सृजनाचोक, सभागृहचोकमा राखिसकिएको छ । तर, चालकको असावधानीले महेन्द्रपुलको आइल्याण्ड भने भत्किएको छ ।

विहीबार बिहान सवा ९ बजे महेन्द्र्रपुल चोक स्थित आइल्याण्डलाई ना १ क ३७४३ नम्बरको ट्रकले ठक्कर दियो । चिप्लेढुंगातर्फबाट नयाँ बजार तर्फ जाने क्रममा ठक्कर दिँदा ढलेको हो । सो बेला नजिकै चोकमा अन्य सवारी नहुँदा मानवीय क्षति भएन ।

बिहानको समय भएकोले सवारी चाप कम हुँदा ठूलो दुर्घटना टरेको हो । अन्यथा, चोकमा धेरै सवारी भएको भए सो आइल्याण्ड टाउको माथि नै खस्ने थियो । आइल्याण्डको माथि सोलार प्यानल समेत थियो । उक्त ट्रक र चालक लाई प्रहरीले नियन्त्रणमा लिएको छ । एउटा आइल्याण्डको झण्डै १२ लाख रुपैया खर्च लाग्ने जनाईएको छ । आइल्याण्डको लागि आवश्यक सामान चीनबाट ल्याउनुपर्ने भएकाले पनि महंगो पर्नेछ ।

अब पोखराको मुख्य चोकहरुमा स्मार्ट ट्राफिक आइल्याण्ड राखिने गरी पोखरा लेखनाथ महानगरपालिका अघि बढेको छ । यसअघि काठमाडौंका चोकमा राखिएको जस्तै आइल्याण्ड पोखरामा पनि राखिएको हो ।  महानगरपालिकाले सार्वजनिक नीजि साझेदारी अन्तर्गत फिस्टेल होल्डिङ प्रालि पोखरा – ५ सँग आइल्याण्ड राख्न सम्झौता गरेको हो । काठमाडौंका विभिन्न ३५ स्थानमा आइल्याण्ड राखिसकेको सो कम्पनीले पोखरामा पनि नयाँ आइल्याण्ड राख्नेगरी पुस २० गते सम्झौता गरेको हो । पोखराको ८ वटा मुख्य चोकमा आइल्याण्ड राख्नेगरी सहमति भएको थियो ।

पोखराको सृजनाचोक, सभागृहचोक, भिमसेन चोक महेन्द्रपुल, रानीपौवा चोक, बृद्धचोक, गणेशमान चोक तेर्सापट्टी , हल्लनचोक र शहिदचोकमा नयाँ ट्राफिक आइल्याण्ड राख्ने सहमति भएको थियो ।

तीन महिनाभित्र भनिएपनि धेरै समय लागेको छ । चोक चोकका आइल्याण्ड हटाउने क्रममा विवाद उत्पन्न हुँदा पनि समयमै काम सक्न मुस्किल परेको हो । पोखरामा ८ वटा आइल्याण्ड राख्न झण्डै ९६ लाख रुपैया खर्च अनुमान गरिएको छ ।

सम्झौता अनुसार निर्माण कम्पनीले प्रति आइल्याण्ड बार्षिक ३० हजार रुपैया नगरपालिकालाई बुझाउनु पर्नेछ । आइल्याण्डमा ७० प्रतिशत विज्ञापनिक सामाग्री र ३० प्रतिशत सार्वजनिक हितका सामाग्री राख्ने सहमती भएको छ । तर मदिराजन्य, सूर्तिजन्य बस्तुका विज्ञापन र उत्तेजक तस्विर राख्न पाईने छैन ।

नयाँ आइल्याण्डले सहरी सुन्दरता प्रबद्र्धनमा पनि सहयोग पुग्ने र ट्राफिक प्रहरीका साथै ट्राफिक ब्यवस्थापन पनि सहज हुने विश्वास गरिएको छ । नयाँ आइल्याण्ड राखेपनि ड्युटीमा खटिने ट्राफिक प्रहरीलाई पनि निकै सहज हुने प्रहरी निरिक्षक विश्वराज अधिकारीले बताए ।

Photo: Ram Gurung

कमेन्ट गर्नुहोस्
Share: