
पाेखरा, ३ कार्तिक / तिहारको लागि सयपत्री र मखमली नभइ नहुने फूलहरु हुन् । पोखरामा पछिल्लो केही वर्ष यता फूलमा आत्मनिभर बन्दै गएको छ ।
अघिल्लो वर्षको तुलनामा फूलको उत्पादन बृद्धि भएको फ्लोरिकल्चर एसोसिएसन अफ कास्कीका अध्यक्ष दया द्वा बताउँछन् । पोखरामा अन्य बेलाको तुलनामा तिहारको समयमा मात्र १ करोड रुपैयाँ भन्दा बढी फूलको कारोबार हुँदै आएको छ ।
नेपालमा उत्पादन भएको ८० प्रतिशत फूलले बजार पाउँदै आएको द्वाले जानकारी दिए । उनले २० प्रतिशत फूल भारतबाट आउने गरेको बताए । एउटा फूलको थुंगालाई ५ रुपैयाँ पर्छ । उनले भने, ‘किसानले ३ रुपैयाँमा बेच्छन्, व्यापारीले ४ रुपैयाँमा किन्ने गरेका छन्, ।’ उनले थपे ‘एउटा फूलमा २० प्रतिशत किसानलाई फाइदा हुन्छ ।’ एउटा मालाको बजार मुल्य ६० रुपैयाँ भन्दा धेरै पर्ने उनको भनाइ छ ।
लक्ष्मी पूजाको दिनमा फूलको व्यापार धेरै हुने गरेको छ । व्यापारी र फूल पारखीले फूलबाट पसल, मन्दिर एवं घर सजाउने भएका कारण धेरै व्यापार हुने द्वाको भनाई छ । नेपालको फूल भन्दा भारतबाट ल्याइएको फूल सानो र भारतमा गरिने फूल खेतीकै कारण सस्तो पर्ने द्वाको धारणा छ ।
फूल खेती गर्ने नेपालीको अभाव, खेती गर्ने प्रकृति जग्गाको अभाव भएका कारण फूलको मुल्य धेरै परेको धारणा फूल व्यवसायीको छ ।पोखरामा ३२ जना फूल व्यवसायी छन् । मौसमी फूल उत्पादन गर्ने २ सय भन्दा धेरै व्यवसायी रहेकोमा फूल व्यवसायले स्थान जमाउँदै आएका छन् । ५ वर्ष अगाडि सम्म बिक्री नहुने फूलहरु अहिले १५ दिन अगाडि बाट नै माग बढ्दै आएको छ ।
यता, तरकारी व्यापारीले फूलपनि व्यापार गरिदिँदा मर्का परेको फ्लोरिकल्चर एसोसिएसनले जनाएको छ । एसोसिएसनले तरकारी व्यपारीले सस्तो मुल्यमा फूल बिक्री गरेको कारण नेपाली राम्रो क्वालिटीको फूल उपभोक्ताले नपाउने एसोसिएसनको धारणा छ । कास्कीमा बाग्लुङ, तनहुँ, स्याङ्जा लगायतका जिल्लाबाट फूल आउने गर्छ ।
फूल किसानी न्यु गण्डकी फूल हाउसका सञ्चालक वीरेन्द्रलाल श्रेष्ठ अघिल्ला वर्षको तुलनामा बजारमा फूलको माग बढदै गएको बताए । उनले भने, ‘अघिल्लो वर्षको तुलनामा बजारमा फूलको माग बढेको कारण आउन बर्षमा फूल खेती धेरै गर्ने सोच गरेको छु ।’
उनले सिजनल फूलमा १० हजारको बिरुवाको फूल उत्पादनमा ६० हजारसम्म आम्दानी गर्न सकिने उल्लेख गरे । पोखरामा १० रुपैयाँ देखि २ वा ३ रुपैयाँ सम्ममा फूलको बिक्री हुँदै आएको छ ।
