
रेम बिक
पोखरा, २० कात्तिक । आसन्न निर्वाचनमा कास्की काँग्रेसलाई एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबाद) को साथ मिल्ने भएको भएको छ । डा.प्रकाशचन्द्र लोहनीको नेतृत्वमा रहेको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबाद)ले स्थानियस्तरमा आफ्नो उम्मेदवार नउठाएर काँग्रेसलाई सहयोग गर्ने निर्णय गरेको छ ।
पार्टीका जिल्ला अध्यक्ष सन्दीप कुँवरले यो कुराको पुष्टी गरे । ‘हामीले आसन्न चुनावको लागि उम्मेदवारी दिएका थियौँ । तर विकासको लागि प्रजातान्त्रिक गठबन्धनले जित्नुपर्छ भन्ने मनशाय भएकाले हाम्रो उम्मेदवारलाई हामीले फिर्ता बोलाएका हौँ ।’ कुँवरले भने–‘अब हामीले जिल्लास्तरमा काँग्रेसको चुनावी प्रचार गर्नेछौँ । र, काँग्रेसलाई जिताउन दिलोज्यान दिएर लाग्नेछौँ ।’
उनले वाम गठबन्धनले देशलाई निकाश नदिने उल्लेख गर्दै प्रजातान्त्रिक शक्तिहरु एक भएमात्रै उनीहरुलाई पाखा लगाउने सकिने बताए । केन्द्रीयस्तरमा पार्टीले काँग्रेससँग सहकार्य गर्ने निर्णय नगरेपनि कास्कीमा भने यो निर्णय भएको उनले जानकारी दिए ।
एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रबाद)को तर्फबाट कास्की क्षेत्र नम्बर १ मा सञ्जयजंग कार्कीले उम्मेदवारी दिएका थिए । यद्यपी उनले नेपाली काँग्रेसका उम्मेदवार यज्ञबहादुर थापालाई चुनावमा सहयोग गर्ने भन्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।
‘कास्कीमा वाम शक्तिहरुको वर्चश्व घटाउनका लागि हामीले यस्तो निर्णय लिएका हौँ ।’ कार्कीले भने–‘र, हामीले यहाँका वाम शक्तिलाई हराउन काँग्रेसलाई सहयोग गर्न लागेका हौँ ।’
कास्कीमा काँग्रेसकै तर्फबाट बागी उम्मेदवारी दिएका उम्मेदवारहरुले पनि अन्तिम समयमा आएर सबैले फिर्ता लिएका छन् । आफ्ना बागी उम्मेदवारको उम्मेदवारी फिर्ता र अन्य प्रजातान्त्रिक शक्तिहरुको पनि साथ पाएपछि कास्की काँग्रेसले आफ्नो जित निश्चित भएको दाबी गरेको छ ।
