
बिग न्यूज
पोखरा, २४ कात्तिक । कास्की क्षेत्र नम्बर ३ मा काँग्रेसको तर्फबाट प्रतिनीधिसभा सदस्यका लागि उम्मेदवारी दिएका नेता शुक्रराज शर्माले काँग्रेसको पक्षमा मतदातालाई भोट हाल्ने वातावरण बनाउन कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । वडा नम्बर १ ईकाई समिति बगरले आयोजना गरेको कार्यकर्ता भेटघाट तथा चुनावी सम्पर्क कार्यालय उद्घाटनको क्रममा उनले यस्तो बताएका हुन् ।
‘काँग्रेसकै नेतृत्वमा विभिन्न कालखण्डमा भएको आन्दोलनबाट प्राप्त लोकतन्त्रलाई बचाउने बेला आएको छ । यतिबेला कम्युनिष्टहरु लोकतन्त्र मास्ने खेलमा लागेका छन् ।’ उनले भने–‘यस्तो बेलामा काँग्रेसका कार्यकर्ताहरु साविकभन्दा अझै बढि सक्रिय भएर लाग्नुपर्छ ।’ लोकतन्त्र रक्षाको लागि संगठित रुपमा काँग्रेस एकढिक्का भएर लाग्नुपर्ने कुरा उनेले दोहो¥याए ।
त्यसैगरि उनले शुक्रबार त्यस क्षेत्रमा घरदैलोमै पुगेर जनतासमक्ष आफ्नो पक्षमा भोट हाल्न आग्रह समेत गरेका थिए । उनले त्यस क्षेत्रको समस्याहरुको बारेमा आफु बढि नै जानकार भएको उल्लेख गर्दै निर्वाचित भएको खण्डमा सम्पूर्ण समस्याहरुलाई समाधान गर्नेतर्फ आफ्नो ध्यान केन्द्रीत गर्ने वचनबद्धता समेत व्यक्त गरे । नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर ३ का सभापति पोषनाथ शर्माको नेतृत्वमा घरदैलोमा उम्मेदवारहरु पुगेका थिए ।
सुशासनका लागि काँग्रेसलाई भोट : शारदा पौडेल
त्यसैगरि कार्यक्रममा क्षेत्र नम्बर ३ प्रदेश क बाट उम्मेदवारी दिएकी शारदा पौडेलले भ्रष्टाचारलाई फालेर सुशासन ल्याउनका लागि काँग्रेसलाई जिताउनुको विकल्प नरहेको बताईन् ।
उनले वाम गठनबन्धनका उम्मेदवारहरुलाई ईंगित गर्दै उनीहरुको जीत संभव नभएको र यदि भैहालेमा पनि भ्रष्टाचारले प्रश्रय पाउने सुझाईन् । त्यस्तै समानुपातिकतर्फका उम्मेदवार आनन्दराज मुल्मीले आर्थिक संबृद्धि सहितको विकासको स्पष्ट आधार तय गर्न नेपाली कांग्रेसलाई जनताले रोज्नेमा आफु विश्वस्त रहेको बताए ।
कार्यक्रममा कांगे्रस नेतृ मीना पाण्डे, क्षेत्रीय सह सचिव गोविन्दबहादुर गुरुङ, शिव श्रेष्ठ लगायतले नेपाली कांग्रेसको पक्षको मतदान गर्न आग्रह गरेका थिए । काँग्रेस वडा नम्बर १ ईकाई समितिका सभापति टंकप्रसाद पौडेलको सभापतित्वमा कार्यकर्ता भेला आयोजना भएको थियो ।
माहौल काँग्रेसकै पक्षमा छ : शिकन्दर गुरुङ
त्यसैगरि कास्की क्षेत्र नम्बर ३ प्रदेश ख बाट उम्मेदवारी दिएका शिकन्दरकुमार गुरुङ ‘भोजबहादुर’ लुम्लेमा आन्तरिक भेटघाटमा व्यस्त रहे । उनले समुदाय केन्द्रीत भेटघाटलाई यतिबेला तिव्रता दिएका छन् । ‘लोकतन्त्रको पक्षपाती सम्पूर्ण समुदायहरुलाई मैले व्यक्तिगत रुपमा भेटघाट गरिरहेको छु ।’ शिकन्दरले भने–‘माहौल काँग्रेसको पक्षमा निकै राम्रो बनेको छ । यस क्षेत्रका मतदाताहरु लोकतन्त्रलाई बचाउनुपर्छ र काँग्रेसलाई जिताउनुपर्छ भन्ने खाले प्रतिक्रिया दिईरहेका छन् ।’
