उम्मेदवार भोट माग्न ब्यस्त, कार्यकर्ता नाचगानमा मस्त

Share:

पोखरा, २७ कात्तिक ।

“आयौं आयौं काँग्रेसको भैलो
भोट माग्न हजुरको घरदैलो ।”

यतिबेला किसान खेतमा व्यस्त रहँदा उम्मेदवार भने सांगितीक कार्यक्रम गर्दै घरदैलोमा पुगिरेहका छन् । किसानलाई धान थन्क्याउने माचोमा उम्मेदवारहरु भोट फकाउन घर, खेतबारी सबै तिर धाउन थालेका छन् ।

विहानैदेखि कानुनमन्त्री तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधीसमा सदस्य उम्मेदवार यज्ञबहादुर थापाले घरदैलो थालेका थिए । किसान खेतबारीमा पस्नु अगावै उनले घरमै पुगेर रुखमा भोट माग्दा धान थन्क्याउन खेत हिडेका स्थानीय बासिन्दा भने एकछिन रोकिएर मन्त्री थापाको अनुरोध सुनिरहे । आफनो घरमै मन्त्रीलाई देख्दा सर्वसाधारण समेत छक्क परे । कार्यकर्ता समेतको हुल बाँधेर घर घरमा पुग्दा काँग्रेसको जनलहर नै आएको अनुभूति भएको थियो ।

चोकमा भिड भएका सर्वसाधारणदेखि होटलमा चिया गफमा व्यस्त भएका नै किन नहोस् आफुलाई भोट माग्न मन्त्री थापा पक्की कच्ची सबै खाले बाटोमा हिडिरहेका छन् । उनका पछाडि कार्यकर्ताले सांगितीक माहौल जमाउँदै स्थानीय बासिन्दालाई आर्कषित बनाईरहेका छन् ।

महानगरपालिकाकै दुर्गम मानिएको वडा नं १४ को खाल्टे मसिनामा कार्यकर्ता गीत गाउँदै अगाडि अगाडि, मन्त्री थापा र नेपाली काँग्रेस कास्कीका सभापति तथा क्षेत्र नम्बर १ (ख) का उम्मेदवार कृष्णबहादुर केसी पछि पछि दुईहात जोड्दै घरभित्र पुगेर रुखमा भोट मागे । “यसपटक रुखमै भोट दिनोस् ।” मन्त्री थापाले भनिरहेका थिए–“विकासको कामको जिम्मेवारी काँग्रेसले लिन्छ । समृद्ध बनाउने अभियानमा सँधै लागिपर्छ ।”

कास्की प्रतिनिधि सभा क्षेत्र १ का सदस्य उम्मेदवार थापाले खाल्टे मसिनामा पुगेर जनताको चाहनालाई आत्मसात गर्दै महानगरपालिकाको शहरी क्षेत्र भएपनि पिछडिएको ठाँउमा आफुले नमूना बनाउने समेत प्रतिबद्धता जनाए । प्रदेश (ख) का उम्मेदवार कृष्ण केसीले पनि समृद्ध पोखरा निर्माण काँग्रेसको एजेण्डा भएको बताए ।

“हामी आश्वासन दिदैनौं । काम गरेर देखाउँछौं ।” उनले भने–“हाम्रो विकास हामीले नै गर्ने हो बाहिरका व्यक्तिले आएर गर्दैन् ।” स्थानीय तह नेपाली काँग्रेस कास्कीको उपमेयर उम्मेदवार समेत रहेकी सरस्वती गुरुङले निर्वाचनको कमाण्ड सम्हालेकी छिन् । क्षेत्र नम्बर १ का काँग्रेसी उम्मेदवारहरु यतिबेला घरदैलो मै ब्यस्त छन् । विभिन्न वडा, टोल र बस्तीका घरघरमै पुगेर उनीहरु काँग्रेसको चुनाव चिह्न रुखमा भोट मागिरहेका छन् ।

गफ गरेर मुलुक समृद्ध हुँदैन–चालिसे

नेपाली काँग्रेसका नेता तथा कास्की क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार देवराज चालिसेले भाषण र नाराले मात्रै देश समृद्ध नहुने बताएका छन् । पोखरा १६ बाटुलेचौरमा चुनावी प्रचारप्रसार कार्यालय उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले जनतालाई भाषणमा अल्मल्याएर कम्युनिष्टहरुले आफ्ना लागि राज्यको ढुकुटी रित्याउने काम गरिरहेका आरोप लगाए ।

‘समृद्ध हुने चाहना गफ गरेर पूरा हुँदैन । पिपलको पात टिपेर पैसा बनाउन सक्दैनौं, उनले भने–हाम्रो राष्ट्र समृद्ध बनाउने बाटो जलविद्युत, पर्यटन, कृषि र जनशक्ति हो । समृद्धी गर्ने भाषणले होईन विकासले हो ।’ उनले सँधै विकासको विरोध गर्ने पार्टी समृद्धीकै नारा लिएर चुनावमा आउनु विरोधाभास कुरा भएको टिप्पणी गरे । उनले हरेक सम्भावनाको बाधक कम्युनिष्टहरु भएको आरोप समेत लगाए ।

गुरु बराल मतदाताको घरघरमा

प्रदेश नम्बर क का उम्मेदवार गुरुप्रसाद बराल आईतबार पोखरा १७ विरौटा आसपासमा घरदैलोमा गएर आफ्नो पक्षमा भोट मागे । उनले आफ्नो पक्षमा जनताबीच माहौल निकै रहेको अनूभुति गरेको प्रतिक्रिया दिए । त्यस्तै यस क्षेत्रमा जनताले नयाँ स्वाद चाख्न खोजेको प्रतिनीधिसभा सदस्यका उम्मेदवार गुरु बरालले बताए ।

कम्युनिष्टसँग विकासको भिजन छैन–थापा

नेपाली काँग्रेसका नेता, कास्की क्षेत्र नम्बर २ (ख) का उम्मेदवार विन्दुकुमार थापाले देशको आर्थिक समृद्धीका लागि कम्युनिष्टसँग कुनै भिजन नभएको बताएका छन् । जनतालाई भ्रम बाँडेर राजनीति गर्दै आएका भन्दै उनले कम्युनिष्टको भ्रममा नफस्न आग्रह गरे । दुई तिहाई बहुमत मार्फत काँग्रेसले जनताका हक अधिकारको रक्षा गर्ने थापाको भनाई छ । उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि काँग्रेसको स्थीर सरकार बन्ने दावी गरेका छन् ।

उनले बाह्य लगानी भित्र्याएर पोखरालाई अन्तराष्ट्रिय रुपमै सबैभन्दा विकसित र पर्यटकीय शहरको रुपमा स्थापित गर्ने प्रतिबद्धता जनाएका छन् । थापा ब्यापार ब्यवसायसँगै राजनीतिमा सक्रिय ब्यक्ति हुन् । उनकै अगुवाईमा पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणले मुर्त रुप लिएको थियो ।

क्षेत्र नम्बर २ ख मा सचिवालय उद्घाटन

नेपाली काँग्रेस कास्की क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा (ख) मा सचिवालय उद्घाटन गरिएको छ । कास्की काँग्रेसका कार्यवाहक सभापति सुदिपमोहन भट्टराईले कार्यालय उद्घाटन गरेका हुन् । कार्यालय उद्घाटनपछि बोल्दै उनले काँग्रेससँग जनाधार भएकाले बहुमतका साथ बिजयी हुने दावी गरे । उनले लोकतन्त्रको रक्षा र जनताका मौलिक हकको रक्षाका लागि भएपनि काँग्रेसको रुख चिह्नमा मतदान गर्न आग्रह गरे । कार्यक्रममा क्षेत्र नम्बर २ का चुनाव प्रचारप्रसार समिति संयोजक सोभियतबहादुर अधिकारी, क्षेत्र नम्बर २ (ख) का चुनाव प्रचार संयोजक वीरेन्द्रनारायण विजुक्छे लगाएतले बोलेका थिए । सचीवालयले क्षेत्र नम्बर २ (ख) का लागि प्रचार प्रसारका सबै काम गर्नेछ ।

यसैबीच, क्षेत्र नम्बर २ अन्तर्गत नै पोखरा लेखनाथ महानगरपालिका वडानम्बर १६ मा पनि चुनावी प्रचार प्रसार कार्यालय स्थापना गरिएको छ । सोमबार नेपाली काँग्रेसका केन्द्रिय आमन्त्रित सदस्य तथा प्रदेशसभाका समानुपातिक उम्मेदवार कुमार खड्काले कार्यालय उद्घाटन गरे । प्रतिनिधीसभाका उम्मेदवार देवराज चालिसे र प्रदेशसभा (ख) का उम्मेदवार विन्दुकुमार थापा सहितको उपस्थितीमा उनले देशलाई काँग्रेसको खाँचो परेकाले त्यसको नेतृत्व गर्ने जिम्मेवारी दिन मतदातासँग आग्रह गरे ।

प्रदेश नम्बर ३ मा पनि उम्मेदवारहरु घरदैलोमा

नेपाली काँग्रेसबाट कास्कीका तीन वटै क्षेत्रमा प्रतिनीधि तथा प्रदेशसभामा उम्मेदवारी दिएका उम्मेदवारहरुले घरदैलोलाई तीव्रता दिएका छन् । नेपाली काँग्रेसको सेड्युलअनुसार नै पार्टीका उम्मेदवारहरुले आ–आफ्ना क्षेत्रमा घरदैलोलाई तीव्रता दिईरहेका छन् । आसन्न निर्वाचनमा नेपाली काँग्रेसका सम्पूर्ण उम्मेदवारहरुलाई जिताउनका लागि पार्टीले आफ्ना विभिन्न संगठनहरुलाई समेत प्रचारमा खटाएको छ । ठाऊँ ठाऊँमा प्रचारका लागि विभिन्न समितिहरु गठन भैरहेका छन् ।

उता कास्की क्षेत्र नम्बर ३ मा पनि आईतबार उम्मेदवारहरु घरदैलोमै व्यस्त बने । प्रतिनीधिसभा उम्मेदवार शुक्रराज शर्मा, प्रदेशसभाका उम्मेदवारहरु शिकन्दरकुमार गुरुङ ‘भोजबहादुर’ र शारदा पौडेल पनि आ–आफ्नो क्षेत्रमा मतदाताको घर घरमै पुगेर आफ्नो पक्षमा भोट मागे ।

कमेन्ट गर्नुहोस्
Share: