माईक्रोबस सेवालाई स्तरीय बनाउनुपर्नेमा जोड, मोबाईल प्रयोगले हुने दुर्घटनाको जिम्मेवारी व्यवसायीले नै लिनुपर्ने

Share:

रञ्जन अधिकारी पोखरा, १७ साउन / ‘पृथ्वी राजमार्ग बस सञ्चालक समितिले दादागिरी देखाउँछ । बढि पैसा असुल्छ, तर स्तरीय सेवा दिँदैन भनेर सुन्दै आएका छौं । यस्तो हुनुहुँदैन ।’ यो भनाई आम सर्वसाधारणको होईन, स्वयं समितिकै अध्यक्ष ऐन कुमार शाहीको हो । ‘हामीमाथि लाग्ने आरोपलाई चिर्न हाम्रो सेवा स्तरीय बनाउन जरुरी छ ।’ उनले यातायात क्षेत्रमा विकृतिहरु नभएका होईनन् भन्दै सडकमा अनुगमनका नाममा खेती गर्ने प्रबृत्तिले नै व्यवसायमा विकृत बनेको उल्लेख गरे ।

समिति अन्तर्गत सञ्चालित पृथ्वी माईक्रो बस उपसमितिले शनिबार पोखरामा आयोजना गरेको व्यवसायी भेलामा प्रमुख अतिथि शाहीले भने ‘१५ सिट क्षमताको बसमा धेरै मानिस कोचेर यात्रा गराउनु हुन्न । सानो लोभले ठूलो नोक्सानी व्यहोर्नुपर्ने, नीति विपरित हुने हुँदा व्यवसायी यसमा सचेत हुनु जरुरी छ ।’

नेपाल यातायत राष्ट्रिय व्यवसायी महासंघका पश्चिमाञ्चल क्षेत्रीय संयोजक धर्मराज अधिकारीले समिति अन्तर्गत विभिन्न १० उपसमिति सक्रिय रहेकाले सबै सामाजिक कार्यहरुमा पनि अग्रसर रहने सके समाजले हेर्ने नजर पनि सकारात्मक हुने बताए ।

महासंघका केन्द्रीय सदस्य केशव अधिकारीले सडकमा अनुगमनका नाममा विभिन्न ठाउँमा अनाधिकृत रुपमा पैसा उठाउने ज्यादति बढेको जनाउँदै पैसा उठाउने अनुगमन होईन अनुशाषित अनुगमनको खाँचो औंल्याए । ‘७५ लाख लगानी गर्ने हो भने हाडर्वयर व्यवसायी महाजन हुन्छ तर हामी यातायात व्यवसायीलाई कस्तो दृष्टिकोणले हेरिन्छ सोचौं ।’ उनले थपे ‘हिजोका माछापुच्छ«े भिडियो कोच जस्ता चल्तीका गाडीहरु माईक्रोले विस्थापित गरे । अब डिलक्स गाडीले विस्थापन गर्न सक्छन् । बेलैमा सचेत होऔं ।’

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका वरिष्ठ उपाध्यक्ष विज्ञान श्रेष्ठले समिति आफ्नो क्षेत्रमा कडाईका साथ प्रस्तुत हुने समेत बताए ।

समितिका सचिव योगेन्द्रबहादुर केसीले १५० बढि माईक्रोबस संचालनमा रहँदा यसको लगानी धेरै भएकाले संरक्षण गर्ने दायित्व पहिलो त व्यवसायीकै भएको र त्यसपछि मात्रै संस्थाको रहेको बताए । ‘७० प्रतिशत त स्वरोजगार छन् । ३० प्रतिशत साहू बनेर घरमा बस्नेहरु छन् ।’ उनले भने ‘आफ्ना चालक, सहचालकको व्यवहारबारे जानकारी लिनुस् । यदि मोबाईल प्रयोगकै कारण दुर्घटना भएको खण्डमा त्यसको जिम्मेवारी व्यवसायीले नै लिनुपर्छ । संस्था आर्थिक सहयोग गर्न तयार हुनेछैन । उनले समितिले गोरखा, त्रिशुली, वीरगञ्ज, गुल्मी, अर्घाखाँची र दाङमा पोखरादेखि सिधै माईक्रोबस सञ्चालन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिए । उनले भने ‘यातायात व्यवसायीको सहजताका लागि अब सहकारी नै स्थापना गरेर अघि बढ्नेछौं ।’

व्यवसायीको तर्फबाट ईश्वरी पौडेलले स्तरीयता खस्किरहेको स्विकार गर्दै २० जना खाँदेर पैसा कमाउन उद्यत व्यवसायी साथीहरुलाई सुध्रिएर अघि बढ्न आग्रह गरे । ‘समितिमा पनि पेशा व्यवसायको हकहित संरक्षण गर्दै अघि बढ्ने नेतृत्व आवश्यक छ न कि २० हजार असुलेर किस्ता तिर्ने मनशाय भएका ।’

कार्यक्रममा समितिका लेखा संयोजक कृष्ण पौडेल, नेपाल लोकतान्कि यातायत व्यवसायी राष्ट्रिय मञ्चका गण्डकी अध्यक्ष बलराम सापकोटा, दमौली अनुगमन संयोजक ओमप्रकाश कार्की, पोखरा बाग्लुङ अनुगमन संयोजक मोहन कोईराला, काठमाण्डौं रात्री अनुगमन संयोजक विष्णुबहादुर खड्का, पूर्वपश्चिम रात्री अनुगमन संयोजक विरेन्द्ररा श्रेष्ठ, दिवा अनुगमन संयोजक भरतकुमार मल्ल लगायतले संस्था अनुगमनका नाममा एकलौटी हुन नहुने, उपसमितिहरु एकताबद्ध भएर अघि बढ्नुपर्ने तथा प्रहरी समेतको चित्त बुझाउनुपर्ने बाध्यता, ट्राफिक प्रहरीबाट दुःख पाएको जस्ता गुनासो पनि गरेका थिए ।

उपसमिति संयोजक कुलराज गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत वरिष्ठ उपाध्यक्ष महेन्द्र राना तथा संचालन सचिव अर्जुनप्रसाद सुवेदीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
Share: