
रञ्जन अधिकारी पोखरा, १७ साउन / ममिता गौतम स्मृति प्रतिष्ठान, रामबजार पोखराले समाजमा विभिन्न क्षेत्रमा योगदान दिएका चार व्यक्तित्वलाई शनिबार एक समारोहकाबीच सम्मान गरेको छ ।
पृथ्वीनारायण क्याम्पसका संस्थापक प्रमुख शिक्षासेवी जर्ज जोन, दलित आन्दोलनका अगुवा तथा राष्ट्रिय दलित आयोगका संस्थापक अध्यक्ष पदमसिंह विश्वकर्मा, पूर्वसभासद कृष्णकुमारी परियार र समाजसेवी महेश गुरुङलाई दोसल्ला र सम्मानपत्रले कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिकाप्रसाद आचार्यले सम्मान गरे । प्रतिष्ठानले आठ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुका साथै एसएलसीमा उत्कृष्ट अंक ल्याई उत्तीर्ण हुने दलित समुदायका ७५ जना विद्यार्थीलाई सम्मान गरेको हो ।
यस वर्ष कालिका उच्च माबि रामबजारमा अध्ययनरत पाँच, अमरसिंहका दुई र सिद्ध उमाविका एक विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिए हो भने उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामाग्री र प्रमाणपत्रका साथमा सम्मान गरेको हो । यस्तै, रामबजार युथ क्लव, मिस सुनार (विश्वकर्मा) प्रतिक्षा सुनार र मिस डाईनामिक सानिया गहतराजलाई पनि सम्मान गरियो ।
प्रमुख अतिथि जिशिअ आचार्यले शिक्षाकै कारण पछि परेकाले दलित समुदाय माथि उठ्न समय लागेको बताउँदै सबै शिक्षित हुने हो भने समाजमा पनि विभेद हट्ने बताए । ‘शिक्षा र समाजसेवामा योगदान पु¥याउनेलाई सम्मान गर्दा हौसला बढ्दछ’ जिशिअ आचार्यले भने, ‘प्रतिष्ठानले धेरै नै राम्रा गतिविधि गर्दै आएको जानकारी पाए आज सहभागि हुदा खुसी लाग्यो ।’
‘शिक्षा क्षेत्रमा जर्ज जोन सरको ठुलो योगदान छ, पदमसिंहले दलित आन्दोलनमा ठुलो भुमिका खेल्नुभयो अनि शिक्षा र समाजसेवामा महेश गुरुङ र कृष्णकुमारीको भुमिका उल्लेखनीय भएकाले सम्मान गरिएको हो’ प्रतिष्ठानका संरक्षक चन्द्रेश्वर गौतम विश्वकर्माले भने, ‘आगामि दिनमा पनि उहाँहरुलाई हौसला बढ्ने अपेक्षा गरेका छौैं ।’
कार्यक्रममा व्यक्तित्व पदमसिंह विश्वकर्माले मानिसलाई सबैभन्दा बढि आवश्यक शिक्षा पर्ने भएको बताउँदै शिक्षा र समाजसेवामा लाग्नेहरुलाई प्रतिष्ठानले हौसला बढाईदिएकोमा खुसि व्यक्त गरे । उनले दलित समुदायलाई शिक्षाको कमि भएको बताउँदै आफ्ना बालबालिकालाई पढाउनुपर्नेमा जोड दिए । ‘दलित समुदायलाई राज्यबाट पछाडि पारिएको छ’ दलित नेता उनले भने, ‘शिक्षित बनौं, संगठित बनौं अनि अधिकारको लागि संघर्ष गर्नुपर्दछ ।’
प्रतिष्ठानका अध्यक्ष ऋषिराम विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले कास्कीका अध्यक्ष कृष्ण थापा, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक केदार रजौरे, अमरसिंह उमाविका प्राचार्य डा. एलियाम्मा जोन, पृथ्वीनारायण क्याम्पसका पूर्व प्रमुख गेहेन्द्रेश्वर कोइराला, अघिल्लो वर्ष सम्मानित मरिणराज परियार लगायतले बोलेका थिए ।
कार्यक्रममा बोल्ने बक्ताहरुले प्रतिष्ठानले गरेको यस्तो किसिमको कार्यको प्रशंसा गरे । उनीहरुले शिक्षा र समाजसेवाको क्षेत्रमा प्रतिष्ठानले गरेको यस्तो किसिमको कार्यले सबैलाई हौसला बढाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रतिष्ठानको अक्षयकोषमा १० हजार रुपैया राख्ने दशरथ सुनार र तीन हजार राख्ने सोमबहादुर विश्वकर्मालाई पनि सम्मान गरियो । यस्तै, सम्मानित व्यक्तित्व महेश गुरुङले दुई हजार पाँच सय कोषमा प्रदान गरे ।
कार्यक्रममा स्वागत उपाध्यक्ष बमबहादुर घतानेले र सञ्चालन सचिव लालसिंह घतानेले गरेका थिए । रामबजार निवासी चन्द्रकिशोर गौतम (विश्वकर्मा) की छोरी ममिताको २०६५ साल असोजमा कक्षा १२ मा अध्ययन गर्दै गर्दा असामयिक मृत्यु भएपछि परिवारले प्रतिष्ठान गठन गरेको हो ।
