मोदीले भने- ‘जितबहादुरलाई परिवारको जिम्मा दिन्छु’, मोदीकै कारण यहाँसम्म आइपुगेको हुँः जीतबहादुर

Share:

काठमाडौं, श्रावण १७ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली युवक जितबहादुर सारुमगरलाई परिवारको जिम्मा लगाउने बताएका छन् । नेपाल भ्रमणको अघिल्लो दिन शनिबार साँझ टि्वट गर्दै मोदीले लेखेका छन्- ‘यो मेरो अहोभाग्य हो, भोलि आफ्नो छोरा उहाँहरुलाई जिम्मा दिनेछु ।’

दुई दिने औपचारिक भ्रमणमा मोदी आइतबार काठमाडौं आउँदैछन् । मोदीसँगै जितबहादुरले पनि नेपाली भूमिमा पाइलो टेक्नेछन् । मोदीले केही समयअघिमात्र आफूले जितबहादुरको आमाबाबुलाई पत्ता लगाएको टि्वट गरेका छन् । नेपाल, आफ्नो नेपाल भ्रमण र जितबहादुरको सन्दर्भमा उनले लगातार ११ वटा टि्वट गरेका छन् ।

उनले लेखेका छन्-’यो पनि रोचक थियो कि यो यसकारण सम्भव भयो, किनकि उनका खुट्टामा छवटा औंला छन् ।’ ईश्वरको प्रेरणाले आफूले जीतबहादुरको जीवनको चिन्ता गर्न सुरु गरेको भन्दै मोदीले सुरुमा अञ्जान रहेका जीतबहादुरले विस्तारै पढाइ र खेलकुदमा रुची जागेको र गुजराती बोल्न थालेको बताए ।

मोदीले आफ्नो नेपाल भ्रमण केही व्यक्तिगत भावनासँग समेत जोडिएको बताएका छन् । उनले भनेका छन्-’धेरै वर्ष पहिले एक सानो बालक जीतबहादुरलाई असहायः अवस्थामा मैले पाएँ ।’ नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै भारतीय प्रधानमन्त्री मोदीले असहाय अवस्थामा भेटिएका नवरपरासीका जितबहादुरलाई आफूले शिक्षा-दीक्षा दिएको उल्लेख गरेका छन् । मोदीले साउनको सोमबार पारेर नेपाल भ्रमणमा आउँदा पशुपतिनाथ मन्दिरमा पूजाआजा, राजनीतिक भेटघाट र सभासदहरुसँग अन्तर्क्रिया गर्ने उल्लेख गरेका छन् ।

मोदीकै कारण यहाँसम्म आइपुगेको हुँः जीतबहादुर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पालेका कावासोती नवलपरासीका जीतबहादुर सारुमगरले आफूले मोदीको साथ पाएकै कारण अहिलेको अवस्थामा आउन सफल भएको बताउनुभएको छ । एएनआई न्यूज सर्भिससँगको अन्तर्वार्तामा जीतबहादुरले मोदीको सहयोगकै कारण आफू बिबिएसम्म अध्ययन गर्न सफल भएको बताउनुभयो । मोदीले भविष्यमा जे गर्ने भएपनि पहिले पढाइ सक्नु पर्ने भन्दै आफूलाई हौसला दिने गरेको उहाँले स्मरण गर्नुभयो ।

अन्तर्वार्तामा प्रधानमन्त्री मोदीलाई ‘बडेभाइ’ भनेर सम्बोधन गरेका जीतबहादुरले मोदीले आफ्नो विशेष ख्याल गरेको भन्दै पटक पटक कृतज्ञता व्यक्त गर्नुभयो ।
आफू १५/२० वर्ष परिवारबाट टाढा भए पनि मोदीले कहिल्यै त्यो अभाव महशुस हुन नदिएको उहाँको भनाइ छ । आइतबार भारतीय प्रधानमन्त्री मोदीसँगै नेपाल आउन लागेका जीतबहादुरको परिवारलाई मोदीले भेट्ने कार्यक्रम छ ।

मोदीसँगै आउँदैछन् जितबहादुर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदो आइतबार नेपाल आउँदा उनको परिवारमा हुर्केका कावासोतीका २६ वर्षीय जितबहादुर सारुमगर पनि सँगै आउँदैछन्। १६ वर्षदेखि मोदीको घरमा बस्दै आएका उनको शिक्षादीक्षा पनि मोदीकै रेखदेखमा भइरहेको छ।

जितबहादुरको परिवार कावासोती नगरपालिका १ को लोकाहास्थित सुकुम्बासी बस्तीमा छ। उनका दाजु सिकर्मी काम गर्छन् भने घरमा सामान्य किराना पसल छ। मोदीले उनको परिवारलाई पनि भेट््ने इच्छा देखाएपछि भारतीय दूतावासका कर्मचारी रविन भट्टाचार्यले शुक्रबार उनकी आमा खगिसरा, दाजु दशरथ, भाउजू र बहिनी प्रेमकुमारीको नागरिकता र फोटो लगेका छन्। आफूहरूलाई मोदीले भेट्ने तय भएकाले चारै जना शनिबार काठमाडांै जाने दाजु दशरथले बताए। उनीहरूको राजधानी जाने/आउने र त्यहाँ बस्ने व्यवस्था भारतीय दूतावासले मिलाएको छ। मोदीले आफ््नै अगाडि जितबहादुरको पारिवारिक भेटघाट गराउन चाहेका छन्।

‘मलाई ४/५ दिन होस्टलबाट कतै नजानु भन्ने आदेश छ,’ गुजरातको राई युनिभर्सिटीको होस्टलमा बसेर बीबीए तेस्रो वर्षमा अध्ययनरत जितबहादुरले शुक्रबार कान्तिपुरसँग टेलिफोनमा भने। मोदी प्रधानमन्त्री भएर दिल्ली गएपछि उनी होस्टलमा सरेका हुन्। कलेज छुट्टी हुँदा र अरू समयमा पनि आफ््ना गतिविधि मोदीले भनेअनुसार नै हुने गरेको जितबहादुरले बताए।

रेस्लिङ र क्रिकेटका सौखिन जितबहादुर मोदीसँगै भारत र्फकने हो वा परिवारसँग केही दिन बिताउने हो, त्यो पनि मोदीले नै तय गरिदिने छन्। गुजरातको संस्कारधामबाट प्लस टु उत्तीर्ण गरेका जितबहादुर नेपाली बुझ्छन् तापनि जवाफ भने हिन्दीमै फर्काउँछन्। मोदीले आफूलाई ‘जितबहादुर’ भनेर बोलाउने र आफूले ‘साहब’ भन्ने गरेको उनले सुनाए। भारतीय टेलिभिजन आजतकले विशेष बुलिटेन प्रसारण गरेपछि कलेजमा आफ्नो चर्चा सुरु भएको उनले बताए। ‘किन यति धेरै प्रचार भएको छ मैले बुझ्न सकेको छैन,’ उनले भने।

दाजु दशरथ सारुले १६ वर्षअघि आफूले काम गर्ने दिल्लीको गान्धीनगरका अमरजित साहूको घरमा जितबहादुरलाई काम गर्न पुर्‍याएका थिए। अमरजितले दुई दिनपछि जितबहादुरलाई राजस्थानस्थित आफ्नो ससुराली पठाइदिए।

कलिलै उमेरका जितबहादुरले त्यतिबेला पठाइएको घरमा काम गर्न सकेनन्। राजस्थानको काम गर्ने घरबाट राति भागेका जितबहादुर घर फर्किन गोरखपुरको भनेर रेल चढ्दा झुक्किएर मुम्बईको चढेछन्। त्यो रेलमा जितबहादुरको आडैमा एक अपरिचित महिला थिइन्। उनले जितबहादुरका बारे चासो राखिन् र आफ्नो घर लगिन्। चञ्चले स्वभावका जितबहादुर त्यहाँ पनि धेरै दिन टिकेनन्। त्यसपछि उनी पुगे गुजरातको अहमदाबादस्थित नरेन्द्र मोदीको निवासमा।

उनीबारे नेपाल साप्ताहिकको साउन ११ अंकमा आवरण कथा प्रकाशित भएको थियो। त्यसैका लागि गरेको कुराकानीमा उनले एमबीए पढ्न चाहेको बताएका थिए। एमबीएपछि साहब (मोदी) ले जे भन्छन्, त्यही गर्ने पनि उनले सुनाए। जितबहादुरकै भनाइमा कलेज बिदा भएको जानकारी कर्मचारीबाट मोदीले पाउनासाथ बिदा मनाउन कोसँग, कति दिन कता जाने भन्ने मोदीले निर्धारण गरिदिने उनले बताए। मोदीका आनीबानीबारे सोध्दा उनले भने, ‘साहेबसँग सोध्छु र मात्र अरू कुराबारे बोलौंला।’

सन् २०११ मा मोदी उद्योगपति विनोद चौधरीले आयोजना गर्न लागेको एक कार्यक्रममा भाग लिन काठमाडौं आउने भएका थिए। त्यही बेला मोदीले आफ्ना सेक्रेटरीमार्फत जितबहादुरको घर नवलपरासीमा पर्ने र सानामा चोरमारा भन्ने आधारमा उद्योगपति चौधरीलाई त्यसबारे पत्ता

लगाइदिन अनुरोध गरे। चौधरीले आफ्ना कर्मचारी रामचन्द्र धिताललाई जितबहादुरको खोजी सुरु गराए। गोडाका औंला जोडिएका र हाँस्दा गालामा खाल्टा पर्ने पहिचानसहित खोजी गर्दा चोरमारामा रामचन्द्रले उनका बालसखा र गाउँलेहरू भेट्टाए।

त्यहींबाट उनको परिवार नवलपरासी, शिवमन्दिर गाविस ४ स्थित लोकाहामा सरेको पत्ता लाग्यो । धितालले इलाका प्रशासनबाट २०४४ जेठ २८ मा जितबहादुर जन्मेको प्रमाणपत्र बनाएर कुरियरमार्फत गुजरात पठाइदिए। मोदी त काठमाडौंको कार्यक्रममा आएनन्, उनले संरक्षण गरिराखेका जितबहादुर भने कागजात पाएपछि दिल्लीमा रहेका आफ्ना भिनाजुको साथ लागेर २०६८ असारमा घर फर्के। दोस्रो पटक उनी ०६९ को तिहारमा आएर टीका लगाएका थिए। त्यसपछि भने पढाइ कडा भएको र होस्टल छोड्ने अनुमति नपाएको भन्दै नवलपरासी आएका छैनन्।

Source: ekantipur.com / ujyaaloonline.com

कमेन्ट गर्नुहोस्
Share: