
रञ्जन अधिकारी पोखरा, १६ साउन / ‘पोखरा उपमहानगरपालिकासँगै जोडिएको गाविस लामाचौर, यहाँको वडा नं. १ देखि ६ सम्म शिक्षा, स्वास्थ्य, पानी तथा सडकमा सुगम तर घार्मी ७ देखि ९ सम्म खानेपानी समेत डोकोबाट बोकेर खानुपर्ने बाध्यता । एकै गाविसमा पनि घार्मीबासीलाई किन विभेद ?’ यो प्रश्न वडा नंं ७ की संयोजक ज्योति पौडेलको हो । शुक्रबार भएको कास्कीको लामाचौर गाउँ विकास समितिको बार्षिक प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाईमा उनले थपिन्् – ‘तीन वडाले एक ठाउँबाट पानी खानुपर्छ । त्यही ट्यांकी पनि भत्कनै लागेको छ । तीनै वडालाई पुग्ने खानेपानी सात नम्बर वडामा छ । गाविसले किन पहल गर्दैन ?’
घार्मी ९ का हिमलाल पौडेल थप्छन् ‘यी छ वडा भ्यालीसँग सहकार्य गर्दै सुविधा उपभोग गर्छन् । हाम्रा तीन वडालाई हेर्ने दृष्टिकोण नै फरक भएको छ । कार्यालय यहीँ छ, गाविस अध्यक्ष यहींको हुनुहुन्छ । गाविस एकै भएपछि विकट गाउँलाई प्राथमिकतामा राखेर गाविसले काम गर्नुपर्छ ।’ कार्यक्रममा सेवाग्राही नागरिकले निर्देशिका अनुसार बजेट विनियोजन नगरी पहुँचका आधारमा योजना छनौट र कार्यान्वयन हुने गरेको भन्दै दुःखेसो पोखे ।
यस्तै, जिल्ला विकास समितिले लामाचौर गाविसलाई पोखरा नजिकै भएकै आधारमा बजेट कम पार्ने गरेको, सांसद विकास कोष अन्तर्गत आउने बजेटका बारेमा गाविस संग समन्वय हुन नसकेको, लक्षित बर्ग कार्यक्रम पनि खासै प्रभावकारी हुन नसकेको, गाविसले लिने कर बैज्ञानिक हुन नसकेको, अधुरा योजनालाई प्राथमिकता नदिएको जस्ता गुनासो सहभागीले राखेका थिए । गाविसमा अनुगमन प्रणाली प्रभावकारी हुन नसकेको तथा आवधिक योजनाहरु कार्यान्वयन गर्न नसकेको पनि उनीहरुले उल्लेख गरे ।
सहभागीको जिज्ञासाको जवाफ दिँदै लामाचौर गाविसकासचिव स्थानेश्वर ढुंगानाले कुनै पनि क्षेत्रमा विना भेदभाव समान ढंगबाट योजना छनौट र कार्यान्वयन गरेको बताए । ‘वडा र गाउँस्तरबाट आएका योजनाहरुलाई नै प्राथमिकता दिएर बजेट विनियोजन गर्ने गरेको छु ।’ उनले भने – ‘लक्षित बर्ग कार्यक्रम पनि वस्ती स्तरबाट नै माग गरेर उनीहरुकै मागका आधारमा गाविसले सञ्चालन गरेको छ ।’ कर पनि गाउँ परिषदकै निर्णयका आधारमा लिने गरेको र यसलाई अझै बैज्ञानिक बनाउनेतर्फ गाविसले पहल गर्ने प्रतिबद्धता जनाउँदै उनले युवा स्वरोजगार कार्यक्रमका लागि गाविसले माथिल्ला निकायसँग समन्वय गर्ने र दिर्घकालिन योजनाका लागि प्राथमिकता दिने बताए । उनले अनुगमन समिति गठन भएको र अनुगमन समितिकै प्रतिबेदनका आधारमा भुक्तानी दिने ब्यवस्था मिलाएको र यसलाई आगामी दिनमा अझै सुधार गरेर लैजाने प्रतिबद्धता जनाए ।
खानेपानी सन्दर्भमा सचिव ढुंगानाले पूरा हुन नसकेको पञ्चबर्षिय खानेपानी योजनामा तत्काल अनुगमन गरेर आबश्यक काम अगाडी बढाउन निर्देशन दिने बताए । राजनीतिक दलका प्रमुखहरुले पनि जिल्ला विकास समितिको बेवास्ताका कारण सबैको माग सम्बोधन गर्न नसकेकाले आगामी दिनमा सम्बन्धित कार्यालयलाई पनि घच्घच्याएर गाविसको बिकासका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।
लामाचौर गाउँ विकास समिति कार्यालयको आयोजना, सुशासनका लागि नागरिक समाज (सुनास) को सहकार्य तथा रेडियो तरङ्गको ब्यवस्थापनमा भएको कार्यक्रममा सञ्चारकर्मी प्रकाश ढकालले सहजिकरण गरेका थिए । कार्यक्रममा गाविस सचिव ढुंगानासँगै सुनासका उपाध्यक्ष श्यामनाथ कुवँर, स्वास्थ्य चौकी प्रमुख अर्जुन बहादुर खत्री, नेपाली काँग्रेसका सभापति महेश्वर पौडेल, नेकपा एमालेका अध्यक्ष तोरण बहादुर केसी, एकिकृत नेकपा माओबादीका अध्यक्ष जगन गुरुङ्ग लगायतले बोलेका थिए ।
